MAAITGHAR





बिहानको कलिलो घाममा बाहिर गलैंचा ओछ्याएर सुबेदार बलबीर खँड्का ढल्केर एउटा हिन्दीको उपन्यास पढ्न लागेका थिए। पश्चिमपट्टि आँगनको डोलनेर काठको एउटा ठूलो परेवाको खोर थियो।
आँगनभरि परेवाहरू गुर्गुर् गर्दै नाचिरहेका थिए। हरि परेवालाई जिस्क्याइरहेथ्यो।
कहिले उफ्रँदै परेवाका माझमा ऊ पुग्थ्यो -- सबै परेवाहरू भुर्र उड़ी फेरि अल्लि परतिर बस्थे, कहिले सानीको हातबाट पुतली बनाएको दुल्हा र दुलहीसमेत फुत्त खोसी परेवातिर हुत्याइदिन्थ्यो, कहिले बाँसको फित्कौलो बनाएर परेवातिर हान्थ्यो। सानीले पनि आँगनका ढुङ्गा अँजुलीभरि बटुली हरिका हातमा दिन्थी -- अनि हरिले पनि ताकीताकी परेवातिर हान्थ्यो।
परेवाहरू चारा नखाई भुर्रभुर्र उड़ेर जान्थे -- सानी खित्का छोड़ीछोड़ी हाँस्थी।
आफूले हान्न लागेको फित्कौली सानीका हातमा दिएर हरि त्यसलाईसमेत परेवा हान्न लाउँथ्यो तर सानीको नजर एकचोटि सुबेदारपट्टि पुग्थ्यो अनि नाइँ भन्ने संकेत गरी टाउको हल्लाउँथी।
यसरी खेलिरहेको बेला हरिले सानीको कानमा बिस्तारै भन्यो, हान्न हान्।
तैपनि सानीले त्यसो गर्न पटक्क मानिन।
एउटा सेतो परेवा अर्को छिरबिरे रङ्गको परेवा वरिपरि घुम्दै नाच देखाइरहेथ्यो -- हरिले त्यहो परेवालाई ताकेर हान्यो। परेवाको शिरमा लागेछ, त्यो फटफटाउन थाल्यो।
सूर्यपट्टि पिठिउँ पारी आनन्दले हिउँदको न्यानो घाम तापिरहेका सुबेदार खत्रीलाई अब ता असहनीय नै भयो र पछाड़ि फर्केर हेर्नुपर्यो। अघिदेखि छोरोले गरेको उपद्रवले तिनको ध्यान अलिअलि गर्दै खलबलिरहेको थियो, अब ता राम्रै खलबलियो।
पुस्तकबाट आफ्नो ध्यान हटाएर गाह्रो मान्दैमान्दै सुबेदारले हपारे -- के चलन गर्दैछस् हरि? अनि फेरि आँगनमा फटफटाइरहेको सेता परेवालाई हेरेर ओहो त्यो के गरेको हँ? कस्तो उपद्रे लौ हेर लौ, त्यसले त त्यो परेवालाई ৷৷. ।
सुबेदार जुरुक्क उठे अनि हरिलाई कुट्न भनी झम्टेर गए। तर हरि बिजुली भएर घरभित्र अघि नै बेपत्ता भयो। सुबेदार अलमल्ल परेर आँगनमा एकछिन ठिङ्ग उभिरहे। त्यहाँ केवल सानीमात्र के गरूँ -- के गरूँ भइरहेर भाग्न नसकी उभिरहेकी थिई, त्यसमाथि सुबेदारको दृष्टि पुग्यो। परेवा हान्ने सानी पनि हो क्यार भन्ठानेर त्यसलाई हप्काउँदै सुबेदारले सानीको कान पक्रे।
सानी अबदेखि परेवा हान्छेस् कि हान्दिनस्
सानी बोलिन।
हेर्दाहेर्दै सानीको आँखा आँसूले डबडब भयो।
भन् -- अबदेखि परेवा हानेको देखै भने नि
उहो बेला भित्रबाट सुबेदारनी टुप्लुक्क आइपुगिन् र हत्तपत्त पतिसित सोधिन् -- के भयो के भयो हरिले के उपद्रव गर्यो र घरभित्र कुनामा त्यो लुकिरहेको छ। ओहो, अनि सानी नि ৷৷.
सुबेदार केही नबोली आफ्नो ठाउँमा गएर बसे। अनि घाममा आँखा चिम्लीचिम्ली पढ़ेजस्तो गर्न थाले। तर सुबेदारको ध्यान भने अब अर्कै धारातिर बगिरहेथ्यो। कहिले तिनको ध्यान अस्ति हाईस्कूलका एक जना मास्टरसित बाटामा भेट हुँदा छोरोलाई पनि स्कूलमा भर्ना गर्नुपर्छ भन्ने कुरा चलेको विषयपट्टि पुग्थ्यो, कहिले आफू कुइटा छाउनीमा हुँदा कवाज खेलेको अतीतका सम्झनातिर पुग्थ्यो, कहिले छोरोलाई कसरी मान्छे बनाउनु भन्ने सोचपट्टि पनि पुग्थ्यो। तिनको ध्यान कहिले वर, कहिले पर, कहिले माथि, कहिले तल हुँदै धेरै बेरपछि हरिको उत्पीड़नपट्टि फेरि पुग्यो। मनैमन ढीलासँग विचार गरेर भनिरहे -- हरि बेपत्ता भएर घरभित्र के गरिरहेको होला ৷৷. अनि सानी ৷৷. ओहो ৷৷., त्यस सानी केटीको मात्रै किन कान समातें हुँला ৷৷. हरिको पनि कान समाउनुपर्ने, तर छिः त्यति जाबो केटाकेटीका कुरामा ৷৷.
तिनले अब ध्यान दिएर पढ्न खोजे।
सुबेदारनीले पतिबाट केही जवाफ नपाएर सानीपट्टि फर्केर सोधिन् -- अँ भन् ৷৷. के भयो सानी, तँलाई कसले के गर्यो किन कान समातिमागिस्
सुबेदारको ध्यान फेरि खलबलियो।
आफू पढ़ेजस्तो भान गरी अब सुबेदारले पनि आँखाको कुनाबाट सानी र आफ्नी स्वास्नीलाई चियाउन लागे।
सुबेदारनीले सोधिरहिन् ৷৷. अँ ৷৷. किन कान समातिमागिस् त कल्ले के गर्यो मेरी सानीलाई ৷৷.
सानीको आँखाभरि आँसु आयो र रुँला रुँलाजस्तो गरेर त्यसले भनी -- हरि दाज्यूले फित्कौली बनाएर परेवा हान्न लागेको थियो अनि बढ़ा आएर ৷৷. मेरो कान ৷৷.
त्यत्तिकैमा सानीको कण्ठ रोकियो। त्यसका भयभीत आँखा एकचोटि सुबेदारपट्टि पुग्यो।
सुबेदारको ठूलो धोद्रे स्वर आयो -- के रे के बढ़ाले के गर्यो रे? पोल लाउँछेस् बाठी? अब आफ्नो घर जा अनि तेरी आमालाई पनि त्यसै भन् र पोल हाल् त बाठी ৷৷. ?
सुबेदारनीले सानीकै पक्ष लिएर बोलिन् -- ओहो, सानूको मात्रै दोष छ र? ऊः त्यो उपद्रे बाठो भएर भित्र लुकिरहेको छ हेर, त्यसले पो साफ कुटाई खानुपर्ने। बरा, यस्ती रानीचरीजस्ती सानीलाई कुट्न सुहाउँदैन। कठै, यसले ता नाहकमा पो कुटाइ खाइछ मेरी सानू ৷৷.
अनि सुबेदारनीले सानीलाई अंकमाल गर्दा यतिञ्जेल दुवै आँखाको डीलनेर बलजफ्ती रोकिराखेको आँसुको फोहोरा फुटेर सानीको गालाबाट गंगा भएर बग्यो अनि सानी सुबेदारनीको फरियामा गुटुमुटु परी मुख लुकाएर हिक्का छोड्दै रुन लागी।
अनि सुबेदारनी पनि छक्क परिन्।
सुबेदार भने मनमनमा केही असह्य भए पनि केही नबोलेर घोप्टि नै रहे।
एक छिनपछि सानीको रुवाइ थामियो अनि आँसुको फोहोरा पनि बन्द भयो। तर धेरै बरसम्म हिक्का भने चलिरह्यो।
केही बेरपछि सुबेदार खत्री पछिल्तिर फर्केर घाम छेल्दै सानीतिर हेरेको ता सुबेदारनीको फरियालाई पर्दा बनाई त्यसले

आफूपट्टि घरिघरि चियाइरहेकी रहिछ। अब भने साँच्चि नै हाँसो थाम्न नसकी सुबेदार उठेर पलेंटी मारेर बसे अनि सानीलाई हातको इशाराले बोलाए। तर सानी त्यहाँदेखि नचल्ने भई र त्यत्तिकै उभिरही। सुबेदारले धेरैचोटि बोलाउँदा अन्त्यमा सुबेदारनी आफैले त्यसलाई हातमा समाती डोर्याएर सुबेदारको सम्मुख नलगेसम्म त्यो नजाने भई।
अनि सुबेदारनी घरभित्र पसिन्।
सुबेदारले फकाउँदै मसिनो स्वरले भने, सानी, अबदेखि परेवा हान्छेस्? अबदेखि नहान्ने है त?
सानीले टाउको मात्रै हल्लाएर लौ भन्ने अलिकति संकेत गरी।
अनि फित्कौली पनि नछुने है त?
उसै गरी सानीले फेरि टाउको मात्र हल्लाई।
अनि उपद्रे हरि तँलाई जसो गर्न लाउँछ उसैउसै नगर्नू है? गर्छेस् र सानी? भनेर सोद्धा बल्ल सानीको कण्ठबाट गर्दिनँ भन्ने सानो पातलो स्वर आयो।
अनि सुबेदार पनि खुशी भए।
आज साँझ परुञ्जेलसम्मन् पनि सानी हरिसित सुबेदार सुबेदारनीकै घरमा खेलिरहेकी थिई।