Langda Ko Sathi



बिहानको घाम मन्दिरको सेतो भित्तामा देखा पर्यो। दिन छ्याङ्गै उघ्रेको थियो। कस्तो रमाइलो सड़कमा मानिसहरू हिंडिरहेका थिए। पसलेहरू आफ्नाआफ्ना पसलहरू खोज्दै थिए। मन्दिरकी सामुन्नेको पसलको छेउमा एउटा बिजुलीको खाँबानिर एक जना माग्ने घोप्टो परेर लडिरहेको थियो। त्यो माग्नेको जीउभरि हिलै हिलो थियो। उसले आफ्ना दुवै बाहुलाले मुख पनि छोपेको थियो।
सड़कमा हिंड्ने मानिसहरूको मनमा शङ्का भयो। मानिसहरू जम्मा हुन थाले। हेर्दाहेर्दै मानिसको घुइँचो भयो। एक छिनमा एउटा पुलिस आयो र मन्दिरको अघिल्तिरको नेपालीको पुस्तक बेच्ने पसलमा गएर केही कुरा सोध्यो र उ घुइँचोतिर गयो। पुलिसलाई देखेर मानिसहरू अलिकति सरे। त्यहाँ अलिकति खलबल भयो। मानिसहरू परस्पर मुखामुख गरेर कुरा गरिरहेका थिए।
त्यो हल्ला सुनेर लङ्गड़ाले टाउको उठाउन खोज्यो। उसको निधारभरि रगतका टाटा थिए। एकछिनपछि उसले आँखा उघार्यो र टाउको अलिकति उठाएर चारैतिर हेर्यो। चारैतिर हेर्नुभन्दा पहिले उसले आफ्नै साथी कुकुरलाई छेउमा बसिरहेको पायो।
कुकुरलाई देख्नासाथ लंगड़ाको आँखा हर्षले एकदम उज्यालो भयो।
अनि उसले धेरै बेरसम्म मलीन ज्योतिले आफ्नो हराएको साथीलाई हेरिरह्यो। कुकुरले पनि खुशीले पुच्छर हल्लायो लंगड़ाका आँखा आँसुले डबडब भए। उसले कुकुरलाई करुण दृष्टिले हेरिरहेको थियो। त्यो दृश्य जीवनको लामो यात्रामा जान लाग्दा कुनै आफ्नो आत्मीय बन्धुले रूँदै विदा मागिरहेको जस्तो थियो।
लंगड़ाले दुवै हातको बलले उढ्ने चेष्टा गर्यो तर सकेन। उसले चारैतिर आँखा घुमाएर हेर्यो -- उसले आफूलाई चारैतिर मानिस र पुलिसले घेरेको पायो। उसको चेतना शक्ति बिस्तार बिस्तार हराउँदै थियो। उसले उँभो आकाशतिर आँखा उठाएर हेर्दा मन्दिरको सेतो भित्ता र गजुर देख्यो -- जहाँ बिहानको रमाइलो घाम भर्खरै खेल्न पुगेको थियो। मन्दिरका वरिपरि धेरै परेवाहरू उडिरहेका थिए -- धेरै परेवाहरू बिहानको घाममा मन्दिरका अग्लो डीलनिर गुड़गुड़ाउँदै नाचिरहेका थिए त्यो देखेर लंगड़ाको अनुहार अलि उज्यालो भयो। साह्रै कष्टसित उसले हात पसार्यो र कुकुरलाई वर तानेर अंगालो हाल्यो। तर उसको निःश्वास क्षीण हुँदै गइरहेको थियो -- उसले दुइ चार पल्ट खोक्यो र बाहुलाले मुख छोपेर भूइँमा घोप्टियो।
केही बेरपछि एक जना मानिसले लंगड़ाको टाउको उठाएर हेर्न खोज्यो -- तर उसका दुवै आँखा सँधैका निम्ति चिम्म भइसकेका रहेछन्। उसले कुकुरलाई अंगालो हालेको हात पनि खुकुलो हुँदै गयो। उसको साथी कुकुरले भने धेरै बेरसम्म लंगड़ालाई छोड़दै छोड़ेन ৷৷. ।