ठूली भित्र पसी, तर झुमा कोठेबारीमै बसिरही। ठूलीका मुखबाट रिकुटे फागुनमै गएको कुरो सुन्दा मैना सन्न परी। ऊ धर्तीमुनि पुरिएकी छ या माथि नै छ उसलाई थाहा भएन। उमेरमा सातै वर्षले मात्र जेठी भए तापनि मैना झुमाकी भाउज्यू मात्रै होइन आमा पनि हो। उसको हृदयमा झुमाप्रति मातृस्नेह थियो। उसले यस घरको दैलो कुल्चिंदा झुमा एउटी सानी मातृहीना बालिका थिई। उसैले उसलाई हुर्काई, बढाई। झुमाले भाउज्यूकै तालिममा सबै कुरा सिकी। आमाबाट सानैमा छुट्टिए तापनि झुमालाई मातृस्नेहबाट वञ्चित रहनु परेन। छोरीको दुर्दशा सम्झेर विह्वल नहुने कुनै आमा हुँदैनन्। मैनाको पनि यही दशा भएको थियो। झुमाको जीवनमा घट्ने सङ्कटो साथसाथै आफ्नो पतिमा आउने अबगाल औ कहिल्यै नझुकेको परिवारमा लाग्ने कलङ्क आदि कुराहरू मैनाजस्ती पतिपरायणा, सरलहृदया नारीका निम्ति कम कुरा थिएनन्। सायद सर्वस्वहरण हुँदा पनि उसलाई उति चिन्ता हुने थिएन होला जति आज निष्कलङ्क वंशको इज्जतमा धक्का लाग्ने आशङ्काले मात्र भएको छ। चोट नै क्रोधको मूल कारण हो। मैनाको हृदयमा लागेको ठेसले क्रोधको सृष्टि गर्यो। यो सम्पूर्ण कुराको जिम्मेवार उसले झुमालाई नै ठहर्याई। उसको दृष्टिमा सम्पूर्ण दोष झुमाको नै थियो। उसको दृष्टिकोण पूर्ण रूपले सत्य छैन तापनि यस कुरामा पर्याप्त तथ्य छ। सोझै घटनामा झुमा निर्दोषी छ तापनि रहस्यतिर जाँदा उसको दोष छँदै छैन भन्न सकिँदैन। झुमाको सरलता, कमजोरी नै ती कुरा हुन्, जसले रिकुटेलाई दोष गर्ने सुविधा दियो। स्त्रीजातिले जसलाई चाहन्छन् त्यसलाई आलोचनात्मक दृष्टिले पारख गर्ने चेष्टा गर्दैनन्। तलमाथि नहेरी उनीहरू दगुर्ने एउटै ध्रुवविश्वासको खोल्सो हुन्छ, जहाँ अगाडि आउने खाल्टोको उनीहरूलाई आभास हुँदैन। उनीहरूले त्यस बेला काम लिने यन्त्र हृदय हुन्छ, मस्तिष्क होइन। आफूलाई रोक्न नसकेर मैना बाहिर आएर झुमालाई गाली गर्न थाली। हृदयको आगो ज्वालाको रूपमा मुखबाट निस्कियो, दाजुले थाहा पाउँदा के गति होला तिम्रो? हामी सबका मुखमा मोसो दल्यौ -- कहाँ मुख
लुकाउनु हामीले? भोलि कुरो फैलिसक्ता तिमीलाई गाउँकाले थुक्छन्, कहाँ लुक्छ्यौ अनि? यस्तो हुनुभन्दा त पहिले नै मर्नु नि बरु, अब तिमीलाई मर्नुसिवाय अरू बाटो छैन ৷৷. । मैना आँसुका झरी बगाउँदै अविराम गतिले कराइरहेकी थिई, तर अरू कुरामा झुमाको ध्यान आकर्षित भएन। एउटै वाक्य उसको मगजमा घुम्न थाल्यो अब तिमीलाई मर्नुसिवाय अरू बाटो छैन। त्यस दिनभरि झुमाको मस्तिष्कमा घुम्यो मर्नुसिवाय अरू बाटो छैन। उसले विचार गरी साँच्ची नै त मर्नुसिवाय अरू उसको के बाटो छ? जीवनमा उसले ठूलो धोखा खाई। भोलि गाउँभरि कुरा फिंजिनेछ। अनि उसलाई अङ्कमाल गर्ने साथीहरू ऊसित बोल्न घिनाउनेछन्। जताततैबाट आवाज आउनेछ -- पापिनी हिजोसम्म छोरीझैं माया गर्ने भाउज्यूले आज उसको मृत्यु चाहँदैछ भने अरूले कुन व्यवहार गर्लान्? के त्यो सब उसले सहन सक्छे? अनि उसले सम्झी रिकुटेलाई, ऊप्रति जनाएको उसको प्रेमलाई, हृदयले प्रश्न गर्यो, के त्यो प्रेम थियो? उत्तर आयो, होइन, त्यो त एउटा यौवनको उल्लास मात्र थियो। क्षणिक वासना मात्र थियो। रिकुटेप्रतिको दृढ विश्वास ऐनाझैं चूर भयो। त्यसको ठाउँमा घृणाले स्थान जमायो। आज आफ्नो आत्मा उसले धमिलो देख्न थाली। आफैंप्रति उसलाई घृणा भयो। बारम्बार आफ्नै
हृदयले आफूलाई भन्न थाल्यो, तँ दण्डनीय छस्। तँ पापी छस्। अनि यसको प्रायश्चित्त के हुन सक्छ? उसले बिचारी। फेरि मस्तिषक्ले सम्झ्यो उही भाउज्यूको कुरा -- मर्नुसिवाय तिमीलाई अर्को बाटो छैन।