Chintan Pyaaj

देउताको काम


नानी, तिम्रो बा के काम गर्छ?
देउताको काम गर्छ।
पाँच वर्षकी मेरी छोरीसँग उसकी मास्टरनीले गरेको प्रश्नको सहज उत्तर ऊ दिन्छे। जसलाई मेरा
व्यक्तिगत जीवनको अलिकति पनि ज्ञान छैन र जो मेरा साहित्यद्वारा मात्र मलाई चिन्दछन्, उनको मनमा
झवाट्ट एउटा पुजारी, अथवा एउटा पुरेतको रूप उम्रिन आउँछ होला। छोरीले, असलमा, मेरो पसलमा अनेक
भगवानका अनेक मूर्ति देखेकी छ। उसलाई के थाहा, भगवानको काम गर्नु र भगवानको मूर्ति बेच्नुमा कत्ति
फरक छ।
बालककाल पनि अनौठो हुन्छ। त्यस वेलाको भावना बगिरहने पानी जत्तिकै निर्मल हुन्छ। उमेर तथा
अनुभवहरूले यो हाम्रो वहावलाई छेकिदिन्छन्। मलाई सम्झना आइरहेछ मेरी छोरीकै उमेरमा मैले आमाको पैसा
कन्तुरबाट झिकेर कीर्तनको आरतीको थालीमा ओइरिदिएको थिएँ। यो पनि कुरा हो (), सबै जना सधैं थालीमा
पैसा राख्छन्, आरतीउपर हत्केला सेकाउँछन् तथा प्यारसाथ आँखाउपर दल्छन्। मलाई भने कहिले पैसा राख्ने
अनुमति वा आदेश दिइएन, न मौका नै पर्न सक्यो। म मात्रै मान्छे होइन? आमाको बाकसबाट भएभरको पैसा
झिकेर म ओइरिदिन्छु थालमा।
त्यस बेला जो कीर्तनमध्ये एक्कासि निस्तब्धताको एक विस्फोट भयो त्यो त्यक्तिकै चर्को थियो जत्तिको
मैले घरमा चुटाइ खाँदा निकालेको स्वर थियो।
र शायद अझ चर्को आर्तनाद मेरी आमाको मनमा गुँजिरहेको थियो होला कैय्यन् समयसम्म, कमसेकम मैले
ओइरेको नोट र पैसाको क्षतिपूर्ति नभएसम्म। आज, ईश्वरप्रति झल्काएको मेरो त्यो एक युग पुरानो
श्रद्धाले के मलाई उनको मूर्ति बेचेर पाएको दुई पैसाको नाफाबाट जीवनयापन गर्ने व्यवसायप्रति
क्षतिपूर्ति गर्दैन होला?
त्यस बेलाको गहनता अथवा विषमता म आज आमाको उमेर नाघिसकेपछि आँक्न सक्छु। क्षयरोगबाट पीडित
पतिपरित्यक्ता एक मास्टरनी थिइन्। उनी एक मिडिल स्कूलमा पढाएर आउने पैसाबाट, आफू र छोराको खाना,
कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो चल सम्पत्ति जति एकै पटक स्वाहा हुँदा ৷৷. के
समस्या पर्न गयो होला उनको सामु आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेको वेला, पाँच
वर्षको छोरा यो यत्रो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटी खाइरहेको हुँदो हो।
(जस्तो अहिले म कहिलेकाहीं चिमोटाइ पाउँछु?)
ईश्वर कतै छन् भने उनलाई मेरो उपहारभन्दा मेरी आमाको बेदनाबाट व्यथा भयो होला यदि ईश्वरलाई वेदना
र व्यथा भन्ने वस्तुले छुन्छ भने
म जान्दछु मेरी छोरीले भनेको कुरामा उसले जानेसम्मको सत्य छ। र सत्य भनेको के भने तिमीले
जानेसम्मको ज्ञान हो, छोरी।
पहिलो पटक आमाले आफ्नू जूठो खान नदिँदा मेरो कस्तो चित्त दुखेको थियो। पहिलो पटक आमाले मेरो
ओछ्ययान फरक पारिदिंदा म कति रोएको थिएँ। (आज म जान्दछु, ती काममा मप्रति कत्रो ठूलो शुभेच्छा र ममता
रहेछ उनकोs: अहिलेसम्म नत्र म बाँचिरहेको हुने थिएँ र?)
र, अर्को कुरा, मेरी छोरी, सत्य भनेको विकसित हुँदै जाने, बदलिरहने कुरा हो। (कतै पढेको छु,
प्रत्येक पटक पर्ने हिउँमा छकुने डिजाइन भए पनि, आजसम्मन् डिजाइन दोहरिएको छैन।) प्रत्येक पटक सत्य
उही भए पनि अलग हो। मैले पैसाको उपहार चढाउँदा ईश्वर मेरा निमित्त अरूप थिए। आज मैले प्रत्येक पटक
मूर्ति बेच्दा ईश्वर रूपवान छन्। बेच्नुअघि म उनलाई किन्छु। कुन पिरीयडको शैली हो त्यो बुझने प्रयास
गर्छु। सौन्दर्यको नापजोख गर्छु। र गर्छु वर्णन। र तौलिन्छु उनलाई भएको मुनाफामा। मेरा निमित्त बुद्ध
सिर्फ बुद्ध रहेनन्, त्यो बुद्ध जसले ईश्वर छैन भन्ने धर्म निकाले र जो स्वयं ईश्वरमा परिणत भए,
जसले पञ्चशील बनाए र जो शिलामा बदलिए। म बुद्धलाई अढाइ इन्ची बुद्ध र नौ इन्ची बुद्ध र सोह्र इन्ची
बुद्ध र भूमिस्पर्शमुद्रा बुद्ध र ब्रोन्ज बुद्ध र मुकुटधारी बुद्धको रूपमा मात्र चिन्दछु। म
बुद्धलाई किनेको मोल चौद्ध र बेच्ने मोल बीसमा मात्र चिन्दछु। र, मैले भनेका यी कुरामा असत्यता पटक्क
छैन।
म जान्दिनँ, आजभन्दा 2025 वर्षपछि, जब म समाप्त भइसकेको हुनेछु र जब आजको मेरो उमेरमा तिमी
पुग्नेछौ, तिमीले पहिल्याएको सत्य कुन किसिमको हुनेछ। तिम्रा बच्चाले कुनै एउटा कुरा गरिदिंदा, मैले
मेरो जीवनका घटना झल्याँस्स सम्झे जस्तै तिमीले आफ्ना जीवनका घटना सम्झनेछ्यौ छैनौ। मलाई मेरी आमाको
सम्झना आए जस्तै तिमीलाई यदाकदा तिम्रो पिताको सम्झना आउनेछ छैन। तर यति कुराचाहिं पक्का हो --
तिमीमा मेरो एक अंश मेरो अन्त्यपछि पनि बाँचिरहनेछ्, त्यसरी नै जसरी ममा मेरा पूर्वजहरू निदाइरहेका
छन्, र कहिलेकाहीं म उनलाई झकझकाइ ब्युँझाइदिन्छु र कहिलेकाहीं उनीहरू झकझकाई मलाई ब्युँझाइदिन्छन्।
৷৷. मलाई सम्झना आइरहेछ आमाको डायरी मेरो हातमा परेको घटनाs: उनको मृत्युको 1012 वर्षपछि। त्यसको
प्रत्येक पानामा समाघिस्थ प्रत्येक वाक्य र प्रत्येक शब्द जुर्मुराएर ब्यूँझे र वर्षौंअगाडिका आमाका
व्यथा र वेदनाको कोसेली बोकी मभित्र वास लिन आइपुगे। र शायद उमारिदिए उत्तीकै तीव्रता जत्ति उनले
भोगेकी थिइन्। उनको लेखाइमा नौलो शैली वा टेक्निक वा अभिव्यञ्जना थियो थिएन आज म सम्झन सक्दिनँ तर
आजसम्म सम्झिरहने एउटै गुण थियो त्यसमा -- त्यसमा अनुभूतिको तीव्रता थियो। उनले त्यो अरूका निमित्त
लेखेकी होइनन् त्यसकारण त्यसमा अनावश्यक व्याख्या थिएन उनले त्यो मेरा निमित्त पनि लेखेकी होइनन्,
कारण त्यसमा उपदेश पटक्क थिएन। (उनले त्यो किन लेखिन् त्यो म बुझ्न सक्दिनँ। हुन सक्छ, त्यो आफूउपर
परेको अन्याय विरुद्ध अरूप एवं निराकार भविष्यप्रति गरेको एक उजूर थियो त्यसो हो भने, त्यो एक
महान र सफल साहित्यरचना थियो साहित्यको नत्र अर्थ के?)
मैले त्यो डायरी जलाइदिएँ। कारण मभन्दा राम्रो पाठक त्यसको अरू थिएन, र अरूको हातमा परेर त्यसको
मर्यादा अवहेलित हुने मलाई डर भयो।
कहिलेकाहीं सोच्दछु डायरी नजलाएको भए पनि हुने थियो। यो कुरा त्यस्तै हो ৷৷. मानौं कहिलेकाहीं मनमा
झवाट्ट आउँछ, म काशीबाट काठमाडौं नआएको भए? ৷৷. भएको भए भन्ने कुरामा धेरै सम्भावना छन्।
मैले लेख्ने नगरेको भए? अनुभूति निश्चय पनि मर्ने थिएनs: अभिव्यक्ति भने तिखारिने थिएन। र आफूले
गरेको र अरूले आफूप्रति गरेको कैय्यन कार्यको म नाप जोख गर्ने थिइनँ होला।
जीवन एउटा थोकव्यापार हुने थियो। र जीवनमा ससाना र मसिना घटनाहरू अनायास मूल्यवान बनी आँखाको सामु
देखा पर्ने थिएनन्। म सफलता तथा असफलताको च्वाट्ट बैलेन्सशीट निकाल्थें र प्रत्येक आर्थिक वर्षमा
जीवन अर्कै हुने थियो।
यो सब भएन र पो
यो सब गरिनँ (वा गर्न सकिनँ) र पो।
आज, वाहियात कुराले पनि छुन्छ। अरूलाई गरिएको, अरूले जवाफ दिएको प्रश्नोत्तरले पनि छुन्छ।
र ৷৷. ।
यसरी छोइने भएर नै आश लाग्छ, स्पन्दन छ कता कता ৷৷. कता कता केही धुकधुकी बाँकी छ शायद यही छ
देउताको काम हो कि मभित्र शेष रहन गएको? जीवनप्रतिको सच्चा चाहनाको यो ढुक्ढुकी ৷৷. ।
यसको जवाब भविष्यले सायद भन्ला ৷৷. ।