Chintan Pyaaj

तारापुञ्ज : अन्धाको ब्रेल


यो, जसको अहिले नामकरण पनि भएको छैन र जो शायद कथा बन्छ कि, अथवा कविता अथवा निबन्ध अथवा प्रबन्ध
-- (जेसुकै बनोस्) -- यो चीज जो म लेखिरहेछुs: यो लेखिरहेछु कलमले र मेरो मनमा संझना आइरहेछ
टाइपराइटरको। टाइपराइटर चीज राम्रो हो र त्यो प्रतीक हो सभ्यताको र म सभ्य छु -- कम से कम सभ्य बन्न
खोज्छु र मेरो प्रयास नै उपलब्धिभन्दा कम महत्वपूर्ण कहाँ छ र? त, अक्षर छन् नि नि यी टाइपराइटरका
ती व्यक्तित्वपूर्ण छन्, सत्य छन्, कारण तिनको इम्प्रेसन जो कागजमा पर्दछन् तिनमा लेशमात्र फरक संभव
छैन। र मलाई जो टाइपराइटर मन पर्छ शायद त्यो मनपराइको अन्तरतम तथ्यचाहिं
कहिलेनबदलिनेइम्प्रेशनकोएकरूपता होला। मेरो जो कहिलेनबदलिनेइम्प्रेशनकोएकरूपताप्रतिको मोह छ
शायद त्यसको कारण होला मेरो वरिपरि सबै थोक बदलिरहेछ र यो छिनछिनमा रूप फेर्ने हावाबाट म शायद
निसास्सिएको छु र शायद त्यसैले प्राणहीन भए पनि अहिले मलाई त्यही टाइपराइटर चाहिएको छ -- कम से कम
संझनाका निमित्त र म संझिरहेछु म टाइपराइटरको कीबोर्ड बनुं र कसैले औंलाले मलाई च्वास्स घोचिदेवोस्
र त्यस घोचाइबाट मेरो व्यक्तित्व खत्र्याक्क उफ्रेर कागजमा पुगोस् र तोडसाथ उम्रिहालोस् एक
अक्षरमा मलाई विश्वास छ मेरा इम्प्रेशनहरू सत्य नै उम्रनेछन् चाहे मलाई छोइदिने औंलाले असत्य र
झूटको नै प्रचारमा अक्षरहरूको व्यवस्थाक्रम मिलाएको होवोस्।
असलमा जे छ व्यवस्थाक्रममै -- अझ प्रस्टसंग भन्ने हो भने मर्यादा क्रममा। नत्र मेरा अक्षरको पनि
एक सीमा छ र छ सीमा एक व्याकरणका पनि। त्यस सीमाभित्रकै त्यस स्यानो घेरामा कैयन् प्रकारका असंख्य
व्यवस्थाक्रम छन् र अलिकति व्याकरणको बोझले त्यसका अर्थमा अनेक खेल उमार्न पाउँछन्। फेरि औंला कति
छिटा चल्छन् र कागज यत्ति तहका हुन्छन्, म स्वयं मेरा इम्प्रेशनहरूको महत्व बुझ्न पाउँदिन र पाना
समाप्त हुन्छ। मेरा सास फेर्ने ठाउँ सिर्फ एउटै छ Spac ar (स्पेस बार), जसले अक्षरहरूको एक
ग्रुपलाई अर्को ग्रुपबाट छुट्टाएको हुन्छ र त्यो छुट्टाइमा कागजमा कुनै इम्प्रेशन परेको हुदैन र
कागज अलिकति सरिमात्र दिएको हुन्छ र म एक निमेषलाई बितिसकेको इम्प्रेशनको रूप मात्र पाउँछु -- तातो
तातो। र मलाई लाग्छ, मेरा छापहरूमा, मेरा अक्षरहरूको यो व्यवस्थाक्रममा कति असत्य छपे होलान्, कति
महान उक्ति फुटे होलान्, कति सुखदुख, कति मोहममता, कति प्रेमघृणा जन्मे हालान्। र मलाई भने
निर्मित गरिएको छ यस प्रकारले मेरा अक्षरहरूको केही सिलसिला छैन्, सिर्फ उपयोगिताका ध्येयबाट बढि
प्रयोग हुने बीचमा छन् -- (जसलाई मुला चोरऔंलाले बारबार घोच्न पावोस्) -- र कम प्रयोग हुने
त्यसकै वरिपरि एक घेरामा। यो सब निर्माणमा अनिश्चित एक निश्चितता छ -- (मलाई बालकृण समज्यूको सम्झना
आयो, उहाँको नियमित आकस्मिकताको, -- को मूर्खले भन्यो मलाई टाइपराइटर इम्प्रेशनको एकरूपताको
निमित्त मन पर्छ भनी? मलाई टाइपराइटर त यही अनिश्चितताकै निमित्त मन पर्छ। एउटा, अन्योल, गज्याङ्
गुजुङ् एउटा टर्र टर्र ट्वाक्क, ट्वाक्क टिन्न टिन्न, क्वार्रर्रर्र यही त जीवन हो। यही अन्योल
त साहित्यमा उम्रिरहेछ, यहि अन्योल त समाजमा उत्रिरहेछ। यही अन्योल इतिहासमा, धर्ममा, राष्ट्रहरूमा,
विश्वहरूमा प्रस्टसँग देखा परिरहेछ। यही अन्योल आकाशका ताराहरूमा -- कुनचाहिंले हो कहाँ कुन्िन
लेखेको छ, ताराहरू अन्धाका निमित्त निर्मित ब्रेलीका अक्षर हुन् रे र मेरो भनाइ चाहिं
टाइपराइटर दिव्यदृष्टिवाला नयन स्वामीका ब्रेली -- छामि हेर छामि हेर, यो कागजमा परेका चोट
सुमसुमाएर थाहा पाऊ औंलाको चोटको तीव्रता थाहा पाऊ प्रत्येक ठोकरको उद्गमस्रोत। थाहा पाउनै
नसकिने त सिर्फ एउटै कुरा छ -- जसले चोट हिर्काएको छ त्यसका मनको तीव्रता र त्यसका औंलाका तीव्रतामा
कत्तिको सामञ्जस्य छ औंलाको प्रत्येक चोटले के मनको चोटको तीव्रता उतिकै मात्रामा ओसार्छ? --
त्यसरी नै जसरी प्रत्येक शब्दले भावनाको तीव्रता र वास्तविक अनुभव अवतरित गर्छ? आह अवतरणमा
मूलको रूप, मूलको सौन्दर्य, मूलको सत्यता रहन्छ र? अवतरणमा, जो शब्दको माध्यम छ, जो एक घेरा छ, के
त्यसले अन्तरद्वन्द्वीय र अनेक शक्तिका संघर्षणयुक्त व्यक्तित्व पकडिन सक्छ र? भावनाको र अनुभवको
जो जन्म हुन्छ एक चतुर्थ आयाममा, के अक्षर र शब्द र भाषाका दुईआयामे माध्यमबाट ती डोर्याइन सक्छन्
र? खै कुन्िन मैले त अनुभव गरेको कुरा, व्यक्तगर्न चाहेको कुरा कहिले पनि व्यक्त गर्न सकिन --
ती जहिले पनि पंगु भई जन्मेका

छन् र अंगभंग भएको टेढो अस्पष्ट वस्तु मलाई मन पर्दैन। मलाई प्रष्ट, सोझा, सिलिक्क परेको,
एकनासे ৷৷. आह, त्यसैले त भनेको मलाई टाइपराइटर मन पर्छ। मलाई मन नपर्ने त औंला हुन् जसले त्यसका
अक्षरलाई घांच्छन्, मलाई मन नपर्ने भाषा हुन् जसले भावनालाई व्यक्त गर्नै सक्दैनन् (कम से कम भाषालाई
त्यत्ति शक्तिवान् बनाउन सकियोस् त्यो, त्यो, त्यो कार्बन पेपर बनि देवोस्), मलाई मन नपर्ने
साहित्य हुन् जसमा लेखक कविले वास्तविकता भन्न आँटेको र विकृत गरेको हुन्छ। र ৷৷. वास्तविकता के भने
संसार टाइपराइटर हो र टाइपिस्ट सिर्फ कम्पोजिटर हुन्छ, अनाडि हुन्छ, जो टाइप गर्दा गर्दै समाप्त
हुन्छ -- यो मैले के भन्न खोजेको थिएँ र के भन्न पुगेँ। असलमा म भन्न चाहिरहेको थिएँ --
वास्तविकता के भने संसार टाइपरइटर जस्तै त्यान्द्रै त्यान्द्राले (कि आन्द्रै आन्द्राले?)
भरिएको पेट हो र हामी त्यसलाई भने खोज्दा खोज्दै समाप्त हुन्छौं। टाइपराइटरप्रतिको यो मेरो मोह छ
नि -- त्यसको सच्चा कारण के भने त्यसमा आन्द्राको रिक्तता छ र छ भोजनको मिठासs: र म अनेक प्रयास
गर्छु, अनेक चोट दिन्छु र भाषा फुटाउन खोज्छु साहित्य निर्माण गर्न खोज्छु -- सिर्फ आन्द्रा रसाउन,
सिर्फ अलि अरू बढी बाँच्न खोज्न सिर्फ अझ आफुलाई अलमलाउन खोज्न किनभने आजसम्म सब अलमल नै त
गरिरहें। केही पनि नबुझ्ने अबुझ छु तर अनुहार यस्तो लाउँछु मानौं म सब जान्दछु। नबुझेको वेला बुझेको
अनुहार, बुझेको बेला नबुझेको अनुहार, अकलगुम भएको बेला एकदम गाम्भीर्य, र गम्भीरता चाहिएको बेला
मुस्कानको चिल्पिलने काई जस्तै ৷৷. म चाहिरहेथें आन्द्रा र भोकको सम्बन्धमा लेख लेख्न र लेख्न
पुगें टाइपराइटरमाथि। असलमा, टाइपराइटर मलाई पटक्कै मन पर्दैन, म त्यसलाई हृदयदेखि नै घृणा गर्दछु --
(मलाई टाइपराइटर मन पर्छ भन्ने मान्छे, लेख्ने मान्छे, सुन्ने मान्छे र बुझने मान्छे सबै एक
नम्बरका मूर्ख हुन्) -- असलमा मलाई अक्षरै मन पर्दैन (शायद साहित्य मन पर्दैन भन्ने कुरा माथि
कतै भनिसकें, भनिसकेर के त, म यसलाई फेरि दोहर्याउन चाहन्छु)। साहित्यले के कहिले निर्माण गर्दछ?
साहित्यले के कहिले बच्चा पाउँछ? -- त्यसरी नै जसरी आन्द्रा भरिएको बेला मानिसको पौरुष सगबगाउन
थाल्छ र सन्तान उत्पत्तिको शक्ति आउँछ? साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -- यी के हुन्?s:
सब अक्षरका खेल मात्र हुन्, अक्षरको एक विशेष मर्यादा क्रम हुन् आजको भोलि नै यिनलाई बदलिन
सकिन्छ, इनलाई म अहिले म अहिले नै बदलिन सक्दछु (यो अर्कै कुरा मेरो अवशेष रहन गएको सभ्यताले मलाई
छेकोस् सभ्यता? सभ्यता? सभ्यताभन्दा मलाई श्राद्धतर्पण गरेको सम्झना आउँछ -- सभ्य आचमन
असभ्य आचमन बस यताको जनै उता) म सब कुरा बदलिन सक्छु, मैले बदलिन नसक्ने, शायद कसैले पनि बदलिन
नसक्ने एउटै कुरा छ -- आन्द्रा र आन्द्राको तेजबाट बारम्बार उम्रेर आउने श्रृष्टिको क्रीम
म त्यस कारण यो लेखिरहेको चीजलाई आन्द्रा भन्ने नामकरण गर्दछु। र यसैलाई म सत्यं, शिवं,
सुन्दरम्को उपाधिले विभूषित गर्दछु। यो मेरो निर्माण हो, यो मेरो उपज हो, यो मभित्र छ, यो मेरो
आफ्नै संतान हो
कि आन्द्राको सन्तान म हुँ?

मलाई थाहा छैन

म केही पनि जान्दिन