Langda Ko Sathi



मानिसहरूले उसलाई लङ्गड़ा भनी उसका बिग्रेका अङ्गहरू देखाएर ठट्टा गर्थे -- जिस्क्याउँथे। कोहि मानिस सुकिलो लुगा लाएको हेर्दा भलादमी जस्तो भए लङ्गड़ा केही प्रतिवाद गर्दैनथ्यो केवल आफ्नो उपहास गर्नेको मुखमा निःसहाय भएर केही नभनी टुलुटुलु मात्र हेरिरहन्थ्यो। तर लङ्गड़ाको त्यो हेराइमा एउटा भयानक घृणा तथा प्रतिहिंसाको ज्वाला अंकित भएको हुन्थ्यो। तर केटाहरू तथा बालक बालिकाहरूले उसलाई खिज्याए भने उ आगो हुन्थ्यो।
शहरका बदमाश केटाकेटीहरूको एक दल थियो -- तिनीहरू उसलाई भूइँ भालु भनी खिज्याउँथे। उ रिसले भुतुक्क भएर आफ्नो लौरो टिपी झटारो हान्न खोज्थ्यो। त्यति वेला कसरी उसका दुवै हातमा अपूर्व बल आउँथ्यो सुकेर खुम्िचएका दुवै खुट्टालाई घसार्दैं, लंगड़ाले दुवै हातको काठ छिटो छिटो सार्दै आफूलाई जिस्क्याउने केटाहरूलाई लखेट्थ्यो। स्कूल जान लागेका केटाहरूसमेत त्यहाँ सामेल हुन्थे र धेरै बेरसम्म यसरी लंगड़ालाई विरक्त पार्थे। लंगड़ा पनि असिना पसिना हुँदै ती शत्रुहरूलाई खेद्न छाड़दैनथ्यो। केटाकेटीहरूको भीड़ जम्थ्यो।
कति वर्षदेखि यस्तै जीवन उसले यापन गरिरहेको थियो। त्यसैले कुनै केटाकेटी आफ्नो अघिल्तिरबाट गइरहेको छ भने उसले शत्रु नै संझन्थ्यो र भयातुर दृष्टिले त्यसलाई हेर्दथ्यो। केटाकेटी देख्नेबित्तिकै उसले यस्तो शंकित हृदयले हेर्थ्यो -- जस्तो टोक्ने बानी भएको कुकुरले हिंडिरहेको मानिसलाई फर्केर हेर्दछ
आफूलाई जे भनोस् -- आफ्ना बिग्रेका अङ्गहरूको जति नै उपहास गरोस् उ सहन गर्न सक्थ्यो। परन्तु आफूलाई भूइँभालु भनी खिज्याएको लङ्गड़ाले पटक्कै सहन सक्तैनथ्यो। दिउँसो आफूलाई यसरी बिरक्त पार्ने शत्रुहरूमाथि बदला लिन नपाउँदा उसको साह्रै नै चित्त दुख्थ्यो र राती जब उ सुत्थ्यो त्यति बेला ती कुराहरू मनमा सर्ब सम्झिरहन्थ्यो। चारैतिर चकमन्न हुन्थ्यो चारैतिर शून्य हुन्थ्यो। आफूलाई विरक्त पार्ने शत्रुहरूलाई संझेर उसलाई कहिले साह्रै दुःख लाग्थ्यो, कहिले रिस उठ्थ्यो र ती एक एक शत्रुलाई गाली गर्दथ्यो -- मध्य रातमा धेरै बेरसम्म उ एक्लै गुनगुनाइरहन्थ्यो।
ती दुष्ट केटाहरू बाहेक संसारमा उसको अरू कुनै शत्रु थिएन। कुनै विरोधी थिएन। उसलाई डर र घृणा थियो भने शहरका तिनै केटाहरूको। स्कूल जान लागेको केटाहरूका दल देख्यो भने उ बिस्तारै पसलको आड़मा लुक्थ्यो वा नदेखे जस्तो गरी उ टोलिन्थ्यो। आफ्नो अघिल्तिरबाट ती केटाहरू गइसकेपछि मात्र लङ्गड़ाले मुन्टो फर्काउँथ्यो र पछिल्तिरबाट राता राता आँखा पारेर छड्के नजरले हेरिरहन्थ्यो -- उसका आँखामा त्यस बखत क्रोध, विभिषिका र असहनीय घृणा नाचिरहन्थे।
ती केटाहरूलाई देख्नासाथ उसको अनुहार एकाएक गंभीर र आतंकपूर्ण हुन्थ्यो। ती केटाहरू अदृश्य भएपछि मात्र उसले अरूतिर नजर घुमाउँथ्यो र सन्तोषको लामो सास फेर्दथ्यो। उसका आँखामा वेदनाले भरिएको हाँसोको क्षीण आभास झल्कन्थ्यो -- ठूलो विपदबाट निष्कृति पाए जस्तो गरी उ हाँस्न हाँस्न खोज्थ्यो।
लङ्गड़ालाई बिहान र बेलुकीभन्दा पनि दिउँसो जब स्कूलका केटाहरूको टिफिनको छुट्टि उस वेला जीउ जोगाउन धौधौ पर्थ्यो। लङ्गड़ा बजारतिर बसेर मागिरहेको हुन्थ्यो -- टिफिनको छुट्टिमा केटाहरू दलका दल मिलेर आउँथे अनि लङ्गड़ालाई सड़कमा देख्नासाथ भूईं भालु, भूइँ भालु भनी जिस्क्याउँथे। लङ्गड़ा नसुनेको जस्तै गरी आफ्नो लौरो टिपेर दुइटा काठका सहराले छिटो छिटो हात खुट्टाले घस्रँदै कुनै पसलको कुनामा गएर आड लिन्थ्यो र भित्तापट्टि फर्केर बिडी सल्काउने निहु गरी धेरै बेर टोली रहन्थ्यो। तर ती दुष्ट केटाहरू लङ्गड़ाको नजीकै आएर उसैलाई चारै पट्टिबाट घेरी भुईँ भालु भनेर जिस्काउँथै --

चिच्याउँथे -- अझ कसैले ता लङ्गड़ाको अघि भालु हिंडेको विकृत चाल नकल गरी लङ्गड़ालाई खिज्याउँथ्यो पनि। लङ्गड़ाले यतिञ्जेल सहन गरिरहेको रिस एक्कासी सोडा पानीको गैस जस्तो हुस्स भएर आउँथ्यो। फनक्क फर्की लौरो टिपेर केटाहरूलाई झटारो हान्थ्यो र गाली वर्षाउन लाग्थ्यो। केटाहरू निमेषमा यत्रतत्र भाग्थे।
यसैले लङ्गड़ा दिउँसो चोकबजारको मिठाई पसलको अघिल्तिर अथवा अरू पसलेहरूकहाँ केही मागि रहेको छ भने अनायास उसको दृष्टि माथिको अग्लो टाउनहलको घडीमाथि पर्दथ्यो। टिफिन हुने बेला भयो भने लङ्गड़ा बिस्तारै त्यहाँबाट उठेर एउटा साँगुरो गल्लीमा जान्थ्यो र वहाँ धेरै बेर बसिरहन्थ्यो। नत्र जितेन -- झोडामाथि हावा घरमा माग्नेहरूको बस्ने अड्डा जस्तै छ -- त्यहीं गएर उ पनि बसिरहन्थ्यो।
अरू वेला दिनभरि बजारमा गएर माँगथ्यो। सड़कको छेउमा बसेर बाटा हिंड्नेलाई भन्थ्यो -- हजुर, एक दुई पैसा दया होस्न। कहिले काहीं कवित्व भाषामा माग्ने गर्थ्यो -- हजुर, गरीब गुरबालाई कहिले त दया होस्न ৷৷. धर्म हुन्छ हजुर धर्म अनि हाल पसार्थ्यो। एकन्नी दुवन्नी हातमा पर्दा उ मुसुक्क हाँस्थ्यो
दिनभरि मागेको पैसाले उसलाई सधैं खान पुग्दैनथ्यो र होटेलको अघिल्तिर वा चिया वा पूरी मिठाईको पसल अघिल्तिर गएर टुकरुक्क बसिरहन्थ्यो। केही खानेकुरा नपाएसम्म उ त्यहाँबाट जाँदैनथ्यो। यसरी घण्टौं त्यहाँ बसेपछि कहिले उसले रोटीको टुक्रा वा मिठाई पाउँथ्यो कि ता उब्रेको भात मासु र बासी तर्कारी पाउँथ्यो। खानेकुरा पाएपछि लंगड़ा बडो प्रसन्न भएर दुवै हातले थापीकन कृतज्ञताको स्वरले भन्थ्यो -- लौ हजुर ৷৷. गरीब गुरबालाई दया गर्नुभो पोल्टाबाट फाटेको रूमाल ढिकेर खानेकुरा पोको पारी कतै लगेर खान्थ्यो बजारको एउटा भतुवा कुकुर पनि सधैं त्यसका पछि पछि जान्थ्यो -- त्यो पनि लंगड़ालाई पच्छ्याउँथ्यो र उसले खाएको हेरी रहन्थ्यो। पहिले पहिले ता लंगड़ाले त्यसलाई हेर्नै सक्तैनथ्यो र धपाउने कोशिश गर्थ्यो तर त्यो कुकुर भने जान मान्दैनथ्यो। दुइ चार कदम पछि हटेर फेरि लंगड़ाको नगिचै आई दयनीय आँखाले उसले खाएको हेरिरहन्थ्यो। त्यो देखेर लंगड़ाको हृदयमा गंभीर मानवी प्रश्नहरू आउँथे -- उसले मन मनै विचार गर्थ्यो यो कुकुरलाई यसरी धपाउँदा पनि जाँदैन -- मेरो पछिपछि लागिरहन्छ। तर भोक तिर्खा भनेको सबैको उही हो -- के हामी मानिस -- के पशु बरा, यो पनि त म जस्तै होला। यो पनि त अर्काको दया र भिक्षाले संसारमा बाँचिरहेको होला। गरीबले गरीबकै कष्ट बुझ्दछ। धनीहरू जो मोटरमा हावा खाइहिंड्छन्, जो होटेलतिर मीठोमीठो खाने थोक खाइहिंड्छन्, जोसित आज हजारौं लाखौं रुपियाँ छ, के कुनै दिन उनीहरूले यो विचरा माग्नेले भर पेट खाएको होवैन भनी संझेर एकदिन यसो ख्वाएको छ? ओहो माग्नेलाई हेरेर गरीबहरूलाई देखेर कुनै दिन मनमा दया जागेको छ? दुनियाँमा स्वांग गर्न पाए मोराहरू खुशी हुन्छन्। बरू गरीबकै मनमा गरीबमाथि दया जाग्दछ। एउटा भिखारीले अर्को भिखारीको कष्ट जान्दछ। यो कुकुर पनि संसारमा म जस्तै मागी खाने एउटा प्राणी होला।
ती कुराहरू विचार गर्दा गर्दै दया र गंभीर सहानुभूतिले उसको हृदय आर्द्र हुन्थ्यो। कुकुरलाई अँगालेर आफ्नो छातीमा टाँसी जीवनको एउटा साथी बनाउने इच्छा हुन्थ्यो। कुकुरलाई उसले छेउमा बोलाएर खानेकुरा दिन्थ्यो र एक छिन मुसार्दथ्यो। कुकुर पनि अत्यन्त आनन्दले पुच्छर हल्लाउँदै लंगड़ाको मुखमा हेरिरहन्थ्यो। त्यो कुकुर पनि दिनभरि अब लंगड़ासितै बसिरहन्थ्यो -- त्यो यताउता कतै नगई लंगड़ाकै पछिपछि जान्थ्यो। यसो हुँदा कुकुर र लंगड़ाको बीचमा एउटा यस्तो घनिष्टता बढ्दै गयो दुवैको हृदयमा यस्तो सहानुभूति सञ्चार हुँदै गयो, कुनै दिन लंगड़ाले कुकुरलाई देखेन भने उ छटपटाउन लाग्थ्यो। कुकुरलाई एक दिन देखेन भने लामो यात्रामा आफूसित हिंड्नलागेको साथीलाई एक्कासी हराए जस्तो उसलाई लाग्थ्यो। अनि कुकुर पनि यता उता डुलेर आएपछि फेरि लङ्गड़ाकै साथमा घनिष्ट आत्मीय जस्तो भएर बसिरहन्थ्यो। कहिले काहीं लङ्गड़ा कतै गएको छ भने तथा लङ्गड़ालाई बजारमा देखेन भने त्यो कुकुर सड़क र गल्लीहरू सुँघ्दै लङ्गड़ा भए ठाउँमा लुखुरलुखुर घुम्दै आइपुग्थ्योs: कुकुरलाई देखेर लङ्गड़ाको अनुहार प्रसन्नताले दीप्त हुन्थ्यो अनि उ कुकुरलाई धेरै बेरसम्म मुसारिरहन्थ्यो। कुकुर पनि

खुशीले पुच्छर हल्लाउँदे लङ्गड़ाको अनुहार चाट्लाचाट्ला जस्तो गर्थ्यो।
केही दिनपछि त्यो कुकुर लङ्गड़ासितै बस्न थाल्यो। दिनभरि लङ्गड़ालाई नछोड्ने भयो। लङ्गड़ाले पनि आफूले खाएको आधा रोटीको टुक्रासमेत कुकुरलाई दिन्थ्यो। भात मासु खान पाएको दिन कुकुरलाई पनि केही मासु भात मुछेर आफ्नो छेउमा खान दिन्थ्यो। तर कहिले काहीं कुकुरले थपक्क मुख गाडेर लङ्गड़ाले खान लागेको मासुको टुक्रा झिकिहाल्थ्यो। लङ्गड़ा रिसले भुतुक्क हुन्थ्यो -- लौरो टिपेर कुकुरलाई झटारो हान्दै भन्थ्यो, काठा टिठ्याएर खान दिएकोले नहुने
तर लङ्गड़ाको रिस एकै छिनपछि हराउँथ्यो। रिस मरेपछि आफूले अलिकति उबारेर कुकुरलाई फेरि खान दिन्थ्यो। लङ्गड़ाको संसारमा आफ्नो भन्नु कोही थिएन -- न स्त्री, न छोराछोरी, न भाइ, न बहिनी। उसको संगीहीन बन्धुहीन एकान्त जीवनमा दुःख सुखको साथी भने पनि, आत्मीय भने पनि त्यही एउटा कुकुर थियो।
यसरी हिउँदको मुटु छेडने याममा पनि तथा दार्जिलिंगको वर्षाको मुसलधारे पानी झरीमा पनि यी दुवै संगै हुन्थे।
पहिले पहिले त लङ्गड़ा स्टेशनको बाटा छेउमा बसेर माग्ने गर्थ्यो। दिनभरि कुइरो र बादलले डम्म छोपिएको पृथ्वीको एकान्त कुनामा बसेर मागिरहन्थ्यो। बेलुकी भएपछि केही खानेकुरा जोगार गरी स्टेशनको वरतिर बाटामनि हावा घरमा बसेर खान्थ्यो। रात पर्न थालेपछि त्यही हावा घरको छेउमा सड़कको मन्तिर भित्तापट्टि सिमेण्टका खम्बाहरू थिए, त्यहाँ गुफा जस्तो ओत लाग्ने ठाउँ पनि थियो। लङ्गड़ा त्यहीं गएर अरू माग्नेहरूसित सुत्थ्यो।
कति हिउँद, कति वर्षा उसले काटिसकेको थियो। अब उसको संसार नै बेग्लै भइसकेको थियो। मागेर खानु जन्मसिद्ध अधिकार जस्तै उसले टान्थ्यो। जन्मदा आफू माग्ने नै भएर जन्मेको भनी उ सम्झन्थ्यो। आफ्नो पूर्वजन्मको पापले मानिसलाई विधाताले लङ्गड़ा बनाई, अन्धा बनाई, कुंजे बनाई, शक्तिहीन बनाई संसारको यातना र कष्ट भोग्न पठाएका होलान् भनी उ विचार गर्थ्यो। वर्षौं यही एकनासले जीवन यापन गरिरहेकोले मागी मागी पेट भर्नु सब उसले आफ्नो धर्म ठान्न थालेको थियो। सभ्य र परिष्कृत समाजदेखि धेरै पर गृहहीन भएर उसले संसारमा आफ्नो एकान्त जीवन बिताइरहेको थियो।
सारा संसारले उसलाई अवहेलना गरे पनि, निर्दयतापूर्वक अमानुषिक व्यवहार गरे पनि उ मूक भएर नै सबै सहन गरिरहन्थ्यो -- सँधै भगवान्लाई संझन्थ्यो र उसको न्याय र अन्यायको विषयमा विचार गरिरहन्थ्यो। भगवान् ऊपर उसको अलिकति पनि अविश्वास र शंका थिएन। सृष्टिकर्ताले बनाएको यो पृथ्वी सबै राम्रै छ -- त्यहाँ त नराम्रा कुरा केही छैनन्s: मरुन्ज्याल् मानिसले आफ्नो आफ्नो कर्तव्य गरिरहनुपर्छ भन्ने उसलाई लाग्थ्यो।
तर कहिले काहीं असल अंग हुने राम्रो मानिसहरूले आफ्ना विकृत अंगहरू हेरेर हिस्सी उडाउँदा भने उसलाई अन्यस्थलसम्म आघात लागथ्यो। उसले आफ्ना अंगहरूतिर हेर्दथ्यो। आफ्नो अघिल्तिरबाट गइरहेको असल मानिसलाई पनि हेर्दथ्यो। अनि एउटा गम्भीर प्रश्न उसका हृदय कोटरमा आउँथ्यो ৷৷.। उसले आकाशतिर उँभो टाउको उठाएर एकछिन हेर्दथ्यो। उसको हृदय उदास हुन्थ्यो। लङ्गड़ाको आत्मा दुःखित हुन्थ्यो, उसको आँखामा आँसु छल्कन लाग्थ्यो -- त्यसबेला भने सृष्टिकर्ताको न्याय हो वा अन्याय, उसले बुझ्ने चेष्टा गर्थ्यो।
बाहिर उत्तिकै घनघोर वर्षा भइरहेको हुन्थ्यो। उ कतै ओत लागेर उदासमय प्रकृति हेरिरहन्थ्यो। दार्जिंलिङ्ग

शहरमा बाक्लो धुवाँ जस्तै चारैतिर हुस्सु लागेको हुन्थ्यो, कि ता सिमसिमे पानी परिरहेको हुन्थ्यो। लङ्गड़ा थोत्रे छाता ओढ़ी सड़कको एक किनारमा नबोली घण्टौं बसिरहन्थ्यो। त्यहाँ हुस्सुले डम्म ढाकेको पृथ्वी हेर्नु उसलाई साह्रै मन पर्थ्यो -- त्यो हेर्दा उसले एउटा रहस्यमय आनन्द अनुभव गर्थ्यो। आफ्नो छेउबाट हिलोदेखि जोगिंदै सुकिलो लुगा लाउने स्त्री पुरुष एकोहोरो हिंडिरहेका हुन्थे। गोरुगाडाहरू गइरहेको हुन्थे। पीच लाएको कालो सड़क भिजेर टल्किरहेको हुन्थ्यो अनि त्यहाँ रङ्ग बिरङ्गका मोटरहरू हावा जस्तो बेगले दगुरेर हुस्सुभित्र बेपत्ता हुन्थे।
त्यो, आफूले यथार्थभा अनुभव नगरेको, त्योकल्पित संसार हेर्दा उसलाई बडो रहस्यमय लाग्थ्यो। अनेक गंभीर प्रश्न उसका मनमा आउँथे। उसको हृदय गंभीर प्रश्नले भारी हुन्थ्यो। यसरी घण्टौं आफ्नै विचारमा, आफ्नै कल्पनामा, आफ्नै संसारमा उ डुबिरहन्थ्यो। पानी दिनभरि परिरहन्थ्यो -- अनि झरी थामिएपछि जब दिन सफा हुँदै जान्थ्यो -- जब रमाइलो घाम लाग्थ्यो उसले लामो निःस्वास लिएर आफ्नो चारैतिर हेर्दथ्यो। उसको अनुहारमा प्रसन्नताको क्षीण झलक देखिन्थ्यो -- अनि कुनै गम्भीर प्रश्नको समाधान भए जस्तो आनन्दले उ मुसुमुसु हाँस्थ्यो। उदासमय प्रकृतिले उदास पारेको उसको हृदय फेरि एकाएक प्रफुल्लित हुन्थ्यो अनि बडो फूर्तिसाथ त्यहाँबाट उठेर अस्वाभाविक चालले घस्रँदै अन्यत्र जान्थ्यो।
कहिले लोयडस् रोडको छेउमा जुत्ताको पसल अघिल्तिर बसेर मागिरहन्थ्यो। दिनभरि टन्टलापूर घाम लागिरहेको हुन्थ्यो। एक्कासी कालो बादल आई आकाश ढाक्थ्यो र पानी पर्न लाग्थ्यो। हेर्दाहेर्दै घनघोर वर्षा हुन्थ्यो। लंगड़ाले आधा बींड भाँचिएको धेरै ठाउँ टालेको थोत्रो छाता उघारेर पसलको आडमा ओत लाग्थ्यो। तर दर्के पानीको बाछिटाले भने उसको जीउ जम्मै भिज्थ्यो। झन् हावा चल्न लागेपछि त उसको साह्रै दयनीय दशा हुन्थ्यो। उ जति छाताभित्र एक डल्लो परेर वर्षाको पानीदेखि बाँच्न खोज्थ्योहावाले झन् उसको छाता पल्टाउन खोज्थ्यो। दुबै हातले छाता समातेर जोगिंदा जोगिंदै पनि हावाले उसको छाता ह्वार्लाङ्ग उँभो फर्काइदिन्थ्यो। लंगड़ा दर्के पानीमा भिज्दै बडो कठिनले छातालाई सोझो पार्न खोज्दथ्यो अनि त्यहाँदेखि अर्कै ठाउँ सर्ने बल गर्थ्यौलंगड़ाको त्यो अवस्था देखेर नजीकैको घड़ी पसलमा ओत लाग्ने मानिसहरू हाँस्थे रेस्तुराँको झ्यालबाट हेर्ने मानिसहरू पनि लंगड़ालाई हेरेर हाँस्थे। तर लंगड़ा त्यसको वास्तै नगरी पानीमा भिज्दैभिज्दै अर्कै ठाउँमा जाने कोशिश गर्थ्यो। भरे राती पानी थामिएपछि भिजेकै लुगा लाएर उ सुत्थ्यो।
कहिले बिहानदेखि बेलुकीसम्म सिमसिम पानी परिरहन्थ्यो। सड़क, गल्ली, छिंडी, घर, दलान, पानीले भिजेर सबै हिलै हिलो भएर दिक्क लाग्दो दृश्य हुन्थ्यो। यस्तो झरी बादलका दिनमा उसलाई गल्लीगल्ली घस्रिरहनु साह्रै सिक्सिको लाग्थ्यो र घण्टौं एकै ठाउँमा बसिरहन्थ्यो। पान खान आउने युवकहरूलाई उसले राम्री हेर्दथ्यो -- तिनीहरूको सुकिलो लुगा हेर्दथ्यो। उ छाता ओढेर भूइँमा टुकरूक्क बसिरहेको हुन्थ्यो। भिजेको पृथ्वीदेखि एक किसिमको गन्ध उसको नाकमा आउँथ्यो। उसको मनमा त्यस वेला कस्तोकस्तो भावना र कल्पना आउँथे। उसके कसैको अनुहारमा हेरिरहेको कुनै अर्कै मानिसले देख्यो भने लंगड़ा इषत् लाज मान्थ्यो र आँखा अर्कैतिर घुमाउँथ्यो। तर उसले धेरै बेरसम्म छड्के नजरले घरिघरि फेरि उतैतिर हेरिरहन्थ्यो।
पानी त्यतिकै परिरहेको हुन्थ्यो। कुकुरको जीउ पनि आधा भिजिसकेको हुन्थ्यो र त्यसको जीउ पनि गन्हाउँथ्यो। त्यो पनि लंगड़ाको पिठ्युँपट्टि छातामा आश्रय लिएर बसिरहन्थ्यो। यसरी पानको पसलमा बस्दा बस्दै रात पर्दै जान्थ्यो। हुस्सु लागेर 6 बजेतिर नै अँध्यारो हुँदै जान्थ्यो। पानको पसलमा अब पान र चुरोट किन्न आउने जाने धेरै मानिस हुँदैनथे। कुइरो र हुस्सुले सारा सहर नै छोपिसकेको हुन्थ्यो। एक त त्यसरी पानी दिनभरि परेर जताततै हिलो भएर दिक्क लाग्दो हुन्थ्यो। उसमाथि हुस्सु छाएर झन् साँझको अन्धकार छाउँदै आउँदा चारैतिर एक प्रकारको उच्चाट लाग्ने वातावरण छाउँथ्यो।
लंगड़ा काठको सहाराले घंस्रिदै पसलतिर खानेकुरो मागेर खान्थ्यो र अबेर गरेर आफ्नो झुप्रोमा फर्कन्थ्यो। झुप्राभित्र पस्नासाथ त्यहाँ एक किसिमको गन्ध आउँथ्यो जसको लंगड़ालाई बानी परिसकेको थियो। पानी परेको बखत उसको झुप्रोमा धेरै ठाउँ पानी चुहिरहन्थ्यो। देब्रेपट्टि अलिकति ओबानो ठाउँ थियो त्यहीं सुत्ने गर्थ्यो। धेरै बेर उसलाई निद्रा लाग्दैनथ्यो। बाहिरको झरीको एकनाससित आइरहेको आवाज बाहेक अरू केही सुनिंदैनथ्यो। झरी परिरहेको वेला आधा राततिर उसलाई कहिले काहीं बेसुरो गीत गाउन पनि मन लाग्थ्यो र लाहुर गीतको भाका हालेर गुनगुनाइरहन्थ्यो। त्यस वेला उसलाई अव्यक्त आनन्द लाग्थ्यो ৷৷. । बाहिरको झरीको आवाज सुन्दा उसलाई ठूलो जंगलको माझमा पानीमा रुझदै एक्लै उभिरहेको जस्तो लाग्थ्योत्यस वेला उससे आफूलाई बिर्सन्थ्योआफ्नो माग्ने जीवन, वा कुँजे जीवनको उसलाई सम्झना नै हुँदैनथ्यो। दिनभरि आफूले घस्रोघस्रो मागेको सबै उसले बिर्सन्थ्यो। त्यस वेला आफू कुँजे छु लंगड़ो छु भन्ने उसलाई यादै हुन्नथ्यो। राती कहिले मेघ गर्जेर कतै बज्र गिरे जस्तो आवाज हुन्थ्यो -- लंगड़ा डरले जुरुक्क उठेर अन्धकारमा टुकरूक्क बसिरहन्थ्यो। यो मेघको आवाजले उसलाई सानैदेखि असाध्यै डर लाग्थ्यो मेघको आवाजले उसका मनका सुन्दर सुन्दर भावनाहरूलाई टुक्राटुक्रा पारिदिन्थ्योउसका कल्पनाहरू छिन्नभिन्न हुन्थे। उ एक्कासी भावशून्य हुन्थ्यो र कातर भावले प्वालबाट बाहिरतिर नियालेर हेर्न खोज्थ्यो।
बाहिर चुक जस्तो अन्धकार बाहेक केही देखिंदैनथ्यो -- केवल वेला वेलामा आकाशको यो छेउदेखि उ छेउसम्म झिलिक्कझिलिक्क गरेको उज्यालोमात्र देखिन्थ्यो। प्रकृतिको यो उद्वेग् एकान्त संसारमा बसेको त्यो प्राणीलाई कस्तो उजाड़ र नीरस लाग्थ्यो भने त्यो उसैले मात्र जान्दथ्यो। त्यस वेला भने उसलाई संसारमा एक्लै छु जस्तो लाग्थ्यो। आफ्नो कोही आत्मीय छैन जस्तो लाग्थ्यो। सारा सहरवासीहरू घोर निद्रामा हुन्थे -- लंगड़ाचाहिं जागा रहेर वर्षाकालमा चारैतिर पृथ्वीबाट खोला नालाहरू बढेर स्वाँ ৷৷. गरेको आवाज सुनिरहन्थ्यो। मिरमिरे उज्यालो भएसम्म यसरी बसिरहन्थ्यो। उज्यालो हुँदै जाँदा थामिन लागेको झरीको आवाज पनि मधुरो तर एकोहोरो भएर आइरहन्थ्यो। लंगड़ा त्यहाँ धेरै बस्न सक्तैनथ्यो -- त्यो वातावरण, त्यो उदासीन प्रकृति र रूझिरहेको पृथ्वीको मर्मर ध्वनि समेत उसको निम्ति असहनीय हुन्थ्यो ৷৷. र उज्यालो हुनासाथ चाँड चाँडै उठेर त्यहाँबाट घस्रँदै उ बजारतिर आउँथ्यो ৷৷.।