MAAITGHAR


केही दिनपछि सानीको बिहेको कुरा ठीक भयो।
जन्ती आउन दुई दिन छ भन्दा आज रात टोलका स्त्रीहरू आएर दुना टपरी गाँस्न लागेका थिए। कुरा गर्दागर्दै बाहुनी बूढ़ीले सोधी, हाम्री सानीले कस्तो पोइ पाउँछे नि हाम्रै आँखाको सामु यो जन्मेकी, हिजोअस्तिजस्तो लाग्छ, के नि, समय बितेको थाहा नपाइँदो रहेछ हेर, अब बिहे गरिदिने बेला पनि आयो। तैपनि मलाई त खै, केटाकेटी नै छ जस्तो लाग्छ -- दुलहाको उमेरसित मिल्छ के त? घर कहाँ हो रे? घूम डिपूकै मन्तिर? ओहो त्यसो भए टाढ़ा हो र? दुई दिनको बाटो छैन, तीनतीन दिनको बाटो छैन त्यसो भए ता भइहाल्यो नि के छ, माइतको मुख हेर्न मन लाग्यो खुर्र दगुरेर आयो, अनि छोरीको मुख हेर्न मन लाग्यो, कसैलाई समाचार पठायोs: अँ, सासू, ससुरा, नन्द, देवर कोको छन् रे? कति जनाको जहान छ?
सुबेदारनीले जवाफ दिइन् -- अँ, सासू, ससुरा, सबै छन् -- देवर पनि छन् -- देवर एक जना, नन्द चार जना। के हाम्रो सानूले दुःख त पाउ दिन त्यति जहान के ठूलो जहान हो र? उः, ससुरा पराई पिलसिङ्ग खाँदै बस्दै छन् -- ससुरा त देवता छन् भनेको सुन्छु।
दुल्हा नि?
डिपू आफिसमा काम गर्छ
उमेर कत्तिको छ? दवँल मिल्छ के? कसैको भाग्यमा ता उमेर नमिलेर लोग्ने स्वास्नी हिंड्दा पनि बाबु छोरी हिंड़ेजस्तो देखिन्छन्। -- अनि बाहुनी बूढी किञ्च हाँसी।
सुबेदारनीले भनिन् -- भर्खरकै हो माग्न आएको दिन त कसोकसो केटा त सोह्रै वर्षको जस्तो लाग्यो।
रत्नाले बूढ़ीतिर फर्केर भनी -- होइन, उमेर हेर्दा बीसबाईस त नाघेको होला। अनुहार पो कलिलोजस्तो छ बज्यै
बूढ़ी फेरि हाँसी।
रहरले कि करले बिहा गरेको?
सुबेदारनीले भनिन् -- लहना जुरेपछि के बज्यै अनि तिनका आँखामा धेरै दृश्यहरू आए, मानिसको घुइँचो, जग्गेवरिपरि धेरै मानिसहरू, दुलहादुलहा माझमा अनि फेरि छ्याङछ्याङै पुलपारि जन्तीको लहर उकालो लागेको। सुबेदारनीले लामो सास फेरेर भनी -- पर्सिको दिन यति बेला यो घरमा मान्छेको कस्तो घुइँचो होला कि?
रत्ना झस्केजस्तो भई र एकछिन अलमल्ल परेर भनी -- हो तर निकोर्सि ता फेरि सुन्ने ओहो, कति सुन्ने लाग्ला नि दिदी? सानू यो घरबाट निस्केर गएको दिन कस्तो नरमाइलो लाग्ला?
रत्नाको अनुहार एकचोटि उज्यालो भएर अनि फेरि अँध्यारो हुँदै गयो। अनि अल्लि बेरपछि दिक्क मानेर बर्र आँसु खसाली।
केही बेरपछि रत्नाले फेरि सुबेदारनीको कानमा भनी, दिदी, अर्काको घरमा गएपछि घरको सप्पै भार त हाम्री सानूमाथि पर्ने हो। केटाकेटीको बुद्धि अझ गएको छैन। अर्काको घरमा सासू, ससुरा, नन्द, देवर रिझाएर गरी खानु त साह्रो छ दिदी अर्काको घर गएपछि माइतमा जस्तै मनपरि गर्न पाउँछे र?
हो त, आफूले सासूससुरा रिझाउन नसके अचानो हुनुपर्छ। बाबै उस्तै सासू छ भने ता बुहारीको जगल्टासमेत लुछ्न आउँछे सानो काम बिग्र्यो बुहारीकै दोष, यो भएन बुहारी, उ भएन बुहारी, रातदिनको पिरोलो तर के, उही त हो नि, सासू मरेपछि उही बुहारी सासूको सुकुलमा बस्न पुग्छे
दिदी, हुन ता हामी पैलेपैले त्यसै त भन्थ्यौं। तर यो बत्ती साछी छ दिदी, सासूले भनी मलाई एक वचन गाली गरिनन् बरू छोरीजत्तिकै माया गर्थिन्।
सुबेदारनीले उत्कण्ठित स्वरले भनिन् सबैको एउटै हुन्छ र? भाग्यमा कस्तो पर्छ कस्तो। हामी स्वास्नीमान्छेको कर्ममा जन्मँदा पुर्पुरीमा जस्तो लेखेको छ उस्तो पो भोग्नुपर्छ त। लक्ष्मीजस्ती आइमाईले राक्षस्नी सासू र पाखण्डी जड्याँहा लोग्ने पाउँछे। भनेर हुन्छ र? के लाग्छ, खान्नँ भनेको कुरा खानुपर्छ, गर्दिनँ भनेको कुरा गर्नुपर्छ, जान्नँ भनेको ठाउँमा जानुपर्छ। भाग्यमा जस्तै हुन्छ।
हो दिदी हाम्री सानूलाई राम्रै होस्। बाँची बर्त्ती मात्तै जाओस् -- देवताजस्तो लोग्ने पाओस्, राम्रै सासूससुरा पाओस्, घर रिझाएर खाओस् ৷৷.
सुबेदारनीले सोधिन्, धेरै जहान छैन क्यारे, ससुरा त देवता छन् तर सासू भने कस्ती छ कस्ती है
दिदी, सासू त मापाकी छ रे ओहो, हाम्री सानूले के गरी खाने हो नि
सुबेदारनी तर्सेजस्ती भइन्। अनि केही बेरपछि नसुन्ने गरी बर्बराईन्, कठैबरी, हाम्री सानूलाई त्यस्ती सासू नपरोस् ৷৷. अनि केके कुरा संझँदासंझँदै आँखाभरि आँसु भएर झर्लाझर्ला भयो -- पछिल्तिर फर्केर कसैले नदेख्ने गरी सुबेदारनीले आँसु पुछिन्।
कोठामा हरि सानी कुरा गरिरहेका थिए। हरि सानीलाई संझाइरहेथ्यो --
৷৷. सानू घर गएपछि स्त्रीको धर्म हो पाइको सेवा गर्नु, नोकरचाकरलाई अह्राउनु सिकाउनु, सासूले एक वचन लाएको बेला बुहारीहरू माइत संझेर रुन्छन् -- त्यसो न गर्नू। सासूलाई आमाजस्तै संझनू। नचिनेसम्म पो सासूले बुहारीको परीक्षा लिइन्छ। सासूससुरा रिझाउन सके आफ्नै छोराछोरीजस्तो गर्छन्।
हरि बोलेको धीमा स्वर शून्य कोठामा गुन्जिरहेको थियो। हरिको गंभीर कण्ठबाट निस्केको एकएक शब्द सागरको छाल भएर सानीको हृदयलाई पखालेर फेरि फर्केर जान्थ्यो। सानीलाई एकएक कुराले कलेजा भिजाउँदै लगेजस्तो लागे तापनि स्तब्ध भएर हरिको कुरा सुनिरही। जतिजति सुन्दै गयो उतिउति सानीको हृदयआकाशमा वर्षाको कालो मेघ थुप्रियो अनि आँखामा अश्रुजल भरिंदै गयो। आँसुले पुरिसकेको आँखाले केही नदेखिने भयो, अनि आफ्नो अगाड़ि हरिको स्थूल शरीर पनि सानो हुँदै एउटा धब्बा जस्तो मात्र देखियो अनि रोक्तारोक्ते परेलाको डील नाघेर आँसुको फोहरा तलतिर झरिहाल्यो।
৷৷. सासूससुरा, नन्ददेवरको छेउमा माइतको गुण नगाउन, माइतको बढाइ नगर्नु। सासू, ससुरा पोइको घर ठूलो भन्नू, राम्रो भन्नु -- आफूले बिराएकोमा माफी माग्नु -- झर्केर कहिल्यै नबोल्नू। आफू अबेलै सुत्नू

औ प्रातःकालै उठ्ने गर्नु, पोइलाई देवता संझनू -- देवताको पूजा गर्नु -- तर देवतामाथि पनि अर्का देवता परमेश्वर छन् तिनलाई कहिल्यै नबिर्सनु। सधैं तिनलाई संझने गर्नू। कहिले आफूले नमीठो बोली नगर्नू -- इष्टमित्रसित बोल्नू -- कहिल्यै अँध्यारो मुख नगर्नू -- हाँसेर नै बोल्नू, आँखामा कहिले आँसु नदेखाउनू ৷৷.
हरिको सिक्त कण्ठबाट बगेको वाक्यको धारासितै सानीको अन्तरदेखि रसाएको आँसू अजस्र धारा भएर बगिरह्यो। सानी मजेत्रोले मुख छोपीछोपी रोई। शायद त्यो आँसु नारीको श्रेष्ठ दानको रूपमा चढ़ाएकी थिई -- शायद त्यो आँसु आजन्माको प्रीतिको चिन्हस्वरूप खसाएकी थिई -- शायद मानव देवताको चरणमा आफ्नो दुःख र व्यथा पोख्न खोजेकी थिई -- शायद अरू कारणले पनि अश्रु वर्षा गरेकी थिई। त्यो कसैलाई थाहा थिएन -- थाहा थियो केवल एक परमेश्वरलाई।
कोठा एकछिन निस्तब्ध भयो। तर त्यो निस्तब्धताभित्र हजारौं प्रश्नहरू उड़ेर गए -- हजारौं मूक वेदनाका स्रोत धारा भएर बगिरहे। हरिले आफ्नो मन पत्थर पारे तापनि त्यो धेरै बेर अ़ड्न सकेन -- अनि पत्थर मैन भयो अनि सानीको आँसु बत्ती भयो। स्नेहले, प्रीतिले सहानुभूतिले हरि विचलित हुँदै गयो अनि बोल्दाबोल्दै आफ्ना आँखा पनि आँसुले डबडब भइसकेको थाहा पायो -- कण्ठ गंभीर हुँदै गयो अनि थाम्दाथाम्दै पनि आँखादेखि आँसु झरिहाल्यो।
आँसुले छोपिसकेको आँखा लिएर हरि फुत्तै बाहिर निस्क्यो। त्यसपछि आफू भान्साकोठाभित्र पसेको पनि हरिलाई होशै भएन। जहाँ पुगेर हेरेको ता भान्साकोठाभरि हरियैहरियो पातको राश। अनि गाउँछिमेकका स्वास्नीमानिसहरू थुप्रेर पात गाँस्न लागिरहेका। अनि एक कुनामा सानासाना दुनाको एक राश, अर्कोपट्टि मझौला खालका टपरीहरू अनि अर्कोपट्टि ठूला दोनाहरू।
हरिले शून्य आँखाले चारैतिर हेर्यो र त्यत्तिकै फनक्क फर्क्यो। कोठामा कोको थिए त्यो पनि थाहा पाएन। आँखाले केके देख्यो त्यो पनि संझना भएन। आफ्नो कोठामा पसिसक्दा कसले हो कसले भान्साकोठामा आफूलाई केही कुरा सोधेजस्तो लाग्यो। के सोध्यो, कसले सोध्यो त्यो पनि संझन सकेन। तन्द्रा अवस्थामा आफू कताकता हिंडिरहेको जस्तो लाग्यो।
हरि कोठामा पस्दा सानीको रुवाइ बन्द भइसकेको रहेछ। हरि केही नबोलेर आफ्नो पलंगमा बसिरह्यो। कोठा झन् निस्तब्ध भयो अनि दुवै मूक भएर आफ्ना भावनामा डुबिरहे।
भान्साकोठामा धेरै स्वास्नीमानिसहरू मसिनो स्वरले बोलेको अनि खित्का छोड़ेर हाँसेको अनि बाहुनी बूँढ़ी पनि खोक्तै हाँसेको आवाज कोठामा आइरह्यो।
धेरै बेरपछि हरिले मधुर कण्ठले बोल्यो, सानू, आज यति कुरा संझाउँदा किन तिमी सार्है रोयौ? के मैले तिम्रो हृदयमा ठूलो चोट पुर्याएँ? के तिमीलाई असाध्य नराम्रो लाग्यो?
त्यसो भए किन हिक्का छोड़ी रुनुपर्थ्यो?
रुनु हुन्न र हरिदाज्यू?
हरि निरुत्तर भएर निश्चेष्ट बसिरह्यो। सानीले सोधी -- हरिदाज्यू, यो घरमा बस्नु अब कति दिन छ? आजैसम्म जति यो घरमा रुनु छ हाँस्नु छ ৷৷. पर्सिदेखि ता यो घरलाई मैले बिदा दिनुपर्छ -- त्यसपछि पराई घरमा ৷৷. ओहो, मलाई ता संझदा पनि ৷৷.
हरिले भन्यो, हो, अर्काकी भएर गएपछि तिमीले लोग्नेको घरलाई आफ्नो संझनुपर्छ। यो माइत घरलाई बिर्सिदिनुपर्छ ৷৷. ।
कुरा जत्तिकै लामो भए तापनि धेरै बेरसम्म एउटै प्रश्न सानीको हृदयमा आइरह्यो, खै, मेरो माइत घर अनि हरितिर फर्केर भनी -- यो मेरो माइत घर -- यही मेरो माइत घर पर्सिदेखि यो माइत घरलाई बिदा छ -- माइत घरको सेवा गरेर बर्सूला भन्ने कति इच्छा थियो, तर म अभागिनीको पुर्पुरोमा रहेनछ। हरि दाज्यू, कुनै दिन मैले तपाईंलाई भूलले केही भनेको हुँला वा मबाट केही दोष भएको होला, अज्ञानी संझी मलाई माफ गर्नुपर्छ है?
सानीको निर्मल हृदयबाट निस्केको वाक्यधाराले हरिको हृदय भरियो -- मनमा दारूण आघात अनुभव भयो अनि केही बोल्न नसकेर स्तब्ध बसिरह्यो।
यो जन्ममा तपाईंको छेउमा बस्न पाएँ, ऊ जन्ममा पनि तपाईंका छेउमा बस्न पाऊँ। हरि दाज्यू, आजैसम्म तपाईंको छेउमा बस्न पाउँछु -- भोलिपर्सिदेखि त अर्को घरमा -- ओहो, कोको नचिनेको मान्छेसित बोल्नुपर्छ, बस्नुपर्छ, खानुपर्छ, छिःs: मलाई ता संझँदा पनि नराम्रो लागेर आउँछ। ৷৷.
सानी उठेर जान लाग्दा पहिले झ्यालतिर अनि झ्यालको पर्दा पन्छाएर बाहिर नियालेर हेरी, बाहिरको घुर्मैलो जून लागेको देखेर भनी -- हरि दाज्यू, मेरो चौरासी लाखको जुनीमा कहिल्यै फेरि आइमाई भएर जन्मनु नपरोस् ৷৷. अर्को जन्ममा तपाईँसित मेरो भेट हुन्छ कि हुन्न? अर्को जन्ममा पनि तपाईँले मलाई उही सानी हो भनेर चिन्न सक्नुहुन्छ ৷৷. ?
सानीको कुराले हरिको मुटुमा गाँठो पर्यो
शिकार भाग्दाभाग्दै शिकारीको बाण लागेर आघात भएजस्तो मनैमन असह्य व्यथा अनुभव गरिरह्यो, अनि हरिले आजै आफ्नो हृदयको दुर्बलताको परिचय पायो, आजै आफ्नो अन्तरलाई तौलेर हेर्ने मौका पायो। आफूलाई रोक्तारोक्तै पनि यन्त्रचालित जस्तो भएर सानीको बाहु समातेर त्यसलाई आफ्नो छातीमा टाँस्यो अनि स्नेहले आर्द्र भएर सानीको कपाल बाहु स्पर्श गरिरह्यो। अनि दुवैका आँखाबाट आँसुका अजस्र धारा बगेर झरे अनि सानीका निधारमा गालामा म्वाई खाएर आफ्नो बलियो बाहुले झन् कसेर रुद्ध कण्ठमा भन्यो, सानू, किन त्यसरी तिमी रुन्छ्यौ? नरोऊ, तिमी त्यसरी रोयौ भने ता हामी दुवै भ्रममा पर्नेछौं अनि हामी दुवैले पापको समुद्रमा डुब्नु पर्नेछ -- संसारले हामीलाई चेली माइतीको रूपमा देखेको छ, त्यो पवित्र बन्धन तोड़ेर हामी कसरी संसारका सामु बाँच्न सक्छौं ৷৷.
सानीको आँखाबाट बगेको आँसुको धाराले हरिको जम्मै छाती भिज्यो।
यही बेला भान्साकोठामा खलबल भयो। त्यो खलबलको आवाज हरिको कोठामा समेत पुग्यो। हरि दगुरेर भान्सा कोठामा पुग्यो -- पुगेर हेर्दा त आमा पूर्छा परिसकेकी रहिछन्। हरि आत्तिएर कै भयो? के भयो? भनेर सोद्धा कसैले पनि केही जवाफ दिएन। एकछिन रत्नाले आत्तिएको स्वरमा भनी, पात गाँसेर उठ्न लागेकी थिइन् -- उठ्नेबित्तिकै भूइँमा लड़िन् -- लौ न, के भयो त? हरिले हत्तपत्त रूमाल भिजाएर आमाको मुख, निधार र कपाल धोइदिएर हम्कन थाल्यो -- शिरमा चिसो भिजेको रूमाल पनि राखिदियो। केही बेरपछि सुबेदारनीको होश आयो। बल्ल सुबेदारनीले आँखा उघारिन् र उठिन्। रत्नाले सोधी -- दिदी, हामीलाई एकछिन अत्याइहाल्नुभो त?
सुबेदारनी नबोलेर केवल छोराको कपाल मुसारिरहिन्। अनि फेरि रत्नाले के भयो तपाईँलाई दिदी? भनेर

सोद्धा सुबेदारनीले एक सासमा जवाफ दिइन् -- ৷৷. खै ৷৷. के भयो के भयो बहिनी मलाई ता एक्कासि कसैले पछिल्तिरबाट छोपेजस्तो लाग्यो, भनन रिंगटा पनि चल्यो अनि आँखामा कता हो कता अँध्यारो छाएर आयो ৷৷.
आज दुनाटपरी गाँस्ने काम पनि त्यत्तिकै रह्यो।