MAAITGHAR


पर्सिपल्ट --
जन्तीलाई बिदा दिएर पठाउने बेला भइसक्यो। भित्रको खलबलले केही अबेर भयो। सानी दुलही भएर सिंगारिएकी, नयाँ चोलो, नयाँ फरिया, नयाँ पटुका, नयाँ मजेत्रो अनि हातमा पनि सानासाना सुनका बाला र बाईहरू अनि निधारमाथि सिउँदोमा सिंदूर लतपतिएको
बिदाको समय आयो, सानी रुँदैरुँदै आमालाई ढोगिदिन गई। आमा छोरी अँगालो हालेर खूब रोए। त्यसपछि सानी सुबेदारनीलाई ढोग दिन भनेर निहुरिएकी थिई, एक्कासि दुवै हातले सुबेदारनीको गला बेर्हेर सानू नानीजस्तो डाँको छोड़ेर रून थाली। सुबेदारनीले पनि रूँदै सानीलाई आफ्नो छातीमा टाँसिन्। अनि बिदा भएर जाने बखत आइसक्दा पनि तिनको कण्ठबाट लौ, जा है सानू भन्ने वचनसम्म पनि निस्कन सकेन। आफू पनि रूँदै आँसुले छोपिसकेको आँखाले सानीको अनुहार हेर्न खोजिन्।
तर हूलमूलमा सुबेदारनीलाई रिंगटा चल्लाचल्ला जस्तो भयो। सपना हो कि जस्तो पनि लाग्यो अनि एकै छिनमा त्यो सपना टुट्यो।
सानी उठेर गइसकेकी रहिछ।
हरि आफ्नो कोठामा लुगा लाउन लागेको थियो। सानी उही बेला दुलही भएर बिदा माग्न आई। हेर्दा सानीको अनुहार आँसुको धाराले पखालिएको रहेछ। हरिको मुटुमा ठूलो धक्का लाग्यो।
सानी पृथिवीतिर मुख पारेर सामुन्ने मूर्तिवत् उभिएकी थिई। हरि मन्थर गतिले सानीको सन्मुख आएर उभियो र अस्फुट, तर काँपेको स्वरमा भन्यो -- लौ, त आजदेखि तिमीलाई विदा, आजदेखि तिमी पराईकी भयौ -- यो घरलाई माइत घर सम्झनू, बराबर आउँदै गर्नु -- आमा र बढ़ीलाई नबिर्सनू। उता गएपछि आफ्नो घर सह्मालेर बस्नू -- सासू, ससुरा, पति, देवर, नन्द सबैलाई रिझाएर बस्नू -- सानू, नरोऊ, जाने बेला भयो ৷৷.
बोल्दाबोल्दै हरिको कण्ठ रुद्ध भएर आयो। कति बल गरेर आफूले सहज कण्ठमा अरू दुई वचन भन्ने चेष्टा गर्यो, तर मुटुको फेदमा ठूलो गाँठो परेर आयो। आज सधैंका निम्ति सानीलाई यो घरबाट बिदा दिएर पठाउने बेलामा हरि अन्तर्वेदनाले छटपटाउन थाल्यो। शैशवकालको मधुर स्मृति दुःखान्त रातको अस्पष्ट सपना जस्तो हृदयआकाशमा उडिरह्यो।
सानी दुवै हातले मुख छोपेर रोएको देख्दा हरिलाई पनि सानीलाई अंकमाल गरी उसको गालामा आफ्नो गाला जोरी बालखजस्तै खूबसित रूने इच्छा भयो। तर घरभित्र यतिका मानिसको घुइँचो -- आफू कसरी रूने? आफू केही बेरसम्म अचेत अज्ञात अवस्थामा उभिरह्यो, अनि त्यसपछि बाहिर खलबली मच्चियो अनि सानी ढोकाबाट आँसु पुछ्दै निस्केकी जस्तो लाग्यो।
सानी रुँदैरुँदै हरिको कोठाबाट निस्किरहेकी थिई।
अचेल मानिसहरूले जसरी सरस्वती माताको मूर्ति बनाएर मण्डपमा राखी सिंगारेर धूमधामसित पूजाअर्चना गर्छन् -- रातभरि बसेर सरस्वतीको गानभजन गरी उज्यालो पार्छन्, अनि अर्को दिन उही मूर्ति सन्ध्या बितेपछि विसर्जन गर्न लाग्छन् -- त्यो बेला पूजा गरेको उही ठाउँ, प्रतिमा राखेको उही मण्डप कस्तो

सूनसान र उजाड़ लाग्दछ आज ठीक यो घरमा पनि सानीलाई दुलही बनाएर पञ्चै बाजाका पछिपछि जन्तीसित बिदा दिएर पठाउँदा सबैलाई यो घरमा असाध्यै शून्य र नरमाइलो लाग्यो।