बिहा भएको दिनदेखि आकाशमा सधैं कालो बादल लागिरह्यो। माघ गयो, फागुन आयो, अनि चैत महीना पनि त्यत्तिकै गइहाल्यो। यत्ति बीचमा सानी दुईचोटि माइत आई। त्यसपछि सानीलाई माइत आउने मौकै परेन। वर्षा त्यत्तिकै बित्न लाग्यो। शरद् आएपछि ता झ्याउँकीरीहरू कराएर बनै उराठलाग्दो पारे। शरद्को आगमनले राजवाड़ीको वारिपारि घर रूखपात अनि तलतलसम्म देखिने खोला र उपत्यका पनि उदासीन हुँदै गए। दशैं आएपछि बल्ल सानीले फेरि माइत आउने निहुँ पाई। आफ्नी सात वर्षकी नन्दलाई अघिअघि लाएर सानी आँगनमा टुप्लुक्क आई। रत्नाले सोधी -- एकलै आइस् सानू? ज्वाइँ नि खै? आमालाई ढोगिदिएर सानीले भनी -- ज्वाइँ आएन। ईः साहिंली नन्द मसित आकी। ज्वाइँ किन आएन त? कामले छुट्टी नपाउने रे कस्तो काम हो त? बल्लबल्ल वर्षदिनमा एक दिन चाड़ आउँछ ৷৷. तिहारमा आउँछ भन्ने कुरा छ। खै दशैंमा छोरीज्वाइँलाई टीकाटालो लाइदिन पाएन भने के छोरी -- के ज्वाइँ नातिनातिनी भेटघाट हुन्छन् ৷৷. खै मेरो त ৷৷. रत्ना दिक्कले लामो सुस्केरा हाली अनि भान्साघरतिर पसी। सानी आमाको पछिपछि गई। सानीलाई देखेर सुबेदारनी खुशी भइन् र ढोग थाप्तै माया लाग्ने स्वरमा भनिन् -- सानू आइपुगिस्? तर खैs: यो पालि त झन् दुब्लाइछस् कठै तँलाई पोइको घरमा सुख छैन? घरमा साह्रै पिरोलो छ? झिंजो कस्तो छ, सासूले नि कत्तिको कचकच गर्छिन् ৷৷. ? सानीको अन्तरदेखि एकैचोटि हजारौं जवाफहरू घाटीसम्म उर्लेर आए अनि फेरि सोहोरिएर तल मुटुको फेदमा पुगेर फेरि एउटा ठूलो गाँठो पर्यो। सानी नबोलेर केवल नन्दको केश खेलाउँदै टोल्हाइरही -- तर अन्तर्वेदना असह्य हुँदै गयो अनि आँखा आँसुले भरिएर डबडब भए। भात नि को पकाउँछ? सासूले? कि तैंले? के घरको सप्पै काम तैंले गर्नुपर्छ र? पर्दैन -- अलिअलि सासू पनि सगाउनुहुन्छ। नन्दहरूले पनि सगाउँछन् तर सबैभन्दा मलाई त साहिंली नन्द प्यारी छ। सबै काममा उसैले सघाउँछे -- उही अगि सर्छे। म जता गो ऊ पनि उतै ৷৷. मेरो पुच्छर भने पनि हुन्छ। म आउन लागेको बेला मसितै जान्छु भनी कताकता रोई। सासूले जान नदिएकी भए त कसो
गर्ने थिई, कुन्िन ईः मेरो साथ लागेर आएकी। बढो, मलाई त उसैको मात्तै माया लाग्छ। अरूको नि लाग्दैन? त्यसै बेला हरि भान्साकोठाको संघारमा देखापर्यो। आज सानीलाई घरको एक कुनामा बसिरहेकी देख्ता हरिका दुवै आँखा आनन्द र कौतुकले धपक्क बलेजस्ता भए। कति दिनअघि, एक वर्षको झरीमा आमा र छोरी यही भान्साकोठामा आएर यहीं यसरी बसिरहेका थिए। हरिले लक्ष्य गर्यो -- सानी दुब्लाइसकेकी रहिछ -- त्यसका आँखामा अशेष मानसिक व्यथाको रेखा पनि कोरिएका रहेछन्। अनुहारको जुन पवित्र यौवनश्री अघि झल्कन्थ्यो त्यो पनि सानीले अब हराइसकेकी रहिछ। सानीको कपालबीच सिउँदोमा रातै सिन्दूर पोतिएको रहेछ -- त्यो सिंदूरमा हरिको आंखा पुगेर एकछिन लटपटिइरह्यो। अनि अन्तरभित्र डाह र व्यथाले अलिकति आफूलाई पोलेजस्तो लाग्यो। हरि उभिरहेको सानीले थाहा पाईपाई पनि नजर पृथिवीतिर नै पारिरही। केही बेरपछि सानीले बल्ल मुख फर्काई -- अनि सानीको मुख हेर्दा हरिलाई घुर्मैलो बादलले ढाकेको जून जस्तो लाग्यो। दुवैका आँखा जुधे अनि दुवैका दृष्टिमा अव्यक्त व्यथा र कष्ट झल्किए हरि केही बेर अप्रस्तुत अवस्थामा उभिरह्योs: उसलाई एकछिनसम्म त के सोधूँ के सोधूँ जस्तो लागिरह्यो अनि बल्ल कुरा आयो -- सानु, कति बेला आइपुग्यौ एकलै? ज्वाइँ नि? आएन। आएन? किन आएन त? काम ज्यादै छ रे -- छुट्टी पनि नपाउने रे हरिको मनमा शंकाका बादलहरू उठे। हरिले धीमा कण्ठले भन्यो, कस्तो त चाड़बाड़मा पनि छुट्टी नहुने आफिस। आउनू भनेर समाचार त पठाएकै हो। तिहारमा आउँछु भनेको छ। हरि मलिन मुखले हाँस्यो। अनि केही कुरा नसोधी आफ्नो कोठातिर फर्क्यो। बल्लबल्ल माइत आएकी भनेर रत्नाले छोरीको आदर गरी। सुबेदार्नीले पनि मीठो मसिनो आफ्नै हातले बनाएर ख्वाइन्। आज सानीको निकै आदर, निकै मानमनिता भयो। आज सानीको मनपक्षी सधैं रातमा पनि दिनमा पनि कल्पना गर्दै उड़िरहने रमाइलो वनमा आइपुग्दा खुशीले, आनन्दले र कौतुकले उल्लसित भयो। मेघाच्छन्न आकाश पनि सफा हुँदै गयो। आकाशमा बादलको एक टुक्रासम्म देखिएन। त्यहाँ दुई वर्षअघि जसरी रमाइलो घाम लागिरहन्थ्यो उसरी आज पनि घाम लागिरह्यो। रातमा पनि जूनको टक लागिरह्यो। पृथिवीमा होइन, आकाशमा पनि होइन, तर सानीको हृदयसंसारमा घाम र जून केही दिनसम्म उदाउँदै, अस्ताउँदै, अनि फेरि अस्ताउँदै उदाउँदै गरिरहे।