दिनले रातलाई अनि रातले दिनलाई लखेटालखेट गर्दै त्यस्ता धेरै दिन र रातहरू पृथिवीबाट निस्केर गए। अब घरको कामधन्धा बिस्तारबिस्तार सबै सानीमाथि पर्यो। पानी ल्याऊ, सानी, भात पकाऊ सानी, घर सफासुग्घर पार सानी, भाँड़ाबर्तन माझेर राख सानी -- यसो गर सानी, उसो गर सानी। आखिर घरको जम्मै काम सानीले नगरी नहुनेसम्म भयो। सुबेदारनीले बल्ल घरको झिंजोबाट बिसाउने फुर्सद पाइन्। रत्नाको जीउ भने यो घरमा आएदेखि कहिले सञ्चो भनेको भएन। तर मुखले भनिहाल्नु भएन। अर्काको घरमा त्यो अधिकार कहाँ? अर्काले मनमा के संझलान्? जति पीर भए पनि, जति जे भए पनि सहनै त पर्यो। अर्काको घरमा आफ्नो सञ्चोबिसञ्चोका कुरा गर्ने अवसर कहाँ पाइन्छ र? आश्रयहीन भएर आएपछि जस्तो दुःख पनि, जस्तो कष्ट पनि सहनैपर्छ भन्ने कुरा रत्नाले राम्ररी बुझेकी थिई। एक दिन भान्सामा कुरिरहँदा पनि हरि भान्सा गर्न आएन। सुबेदारनीले सानीलाई बोलाउन पठाउँदा सानी रित्तै फर्केर आई र भनी -- हरि दाज्यू भात खाँदैनन् रे सुबेदारनीले उत्तिनैखेरि नै भनिन् -- खाँदैन रे? किन खाँदैन भनेको त? अनि उठेर भान्साकोठादेखि हुर्रिंदै हरिको कोठामा पुगिन्। हरि आँखा चिम्लेर सुतिरहेको रहेछ। हरिले स्वाँस्वाँ गरेर फेरेको सास आमाचाहिंलाई चैतवैशाखको हुरीजस्तै लाग्यो। छोरोको निधारमाथि हात राखेर छाम्दा त ओहो निधार प्रचण्ड तातो रहेछ हरिलाई दुईतीन पटक सोद्धामात्र बिसञ्चो छ, कपाल दुख्छ, खान्नँ भनी झर्को मानेजस्तो गरेर अर्कोपट्टि फर्क्यो। सुबेदारनीले रुञ्चे स्वरमा छोरोको आङ मुसारिदिंदै भनिन् -- अलिकति त खा न बाबै -- हरि बोलेन। आमाचाहिंले फेरि सोद्धा खान्नँ भनेर जवाफ दियो। सुबेदारनी पनि रित्तै फर्किन्। सानी हरिको कोठामा स्तब्ध भएर उभिरही। शून्य कोठामा हरिले सास फेरेको आवाज सानीको कानमा बतास चलेजस्तो लागि रह्यो। यसरी केही बेर बितेपछि सुबेदारनीले भान्साकोठाबाट सानू सानू भनेर सानीलाई बोलाएको स्वर हरिको कोठाबाट पनि सुनियो। अनि फर्केर हेर्दा सानी त्यहीं उभिरहेकी रहिछ। हरिले भन्यो -- ओहो अहिलेसम्म तिमी खान गएकी छैनो सानू। कता कता पर्वतबाट आएको क्षीण ध्वनिजस्तो सानीको स्वर आयो -- अलिकति पनि नखाने त। हरि दाज्यू बिन्ती छ ৷৷. । हरिले खान्नँ भनेर टाउको हल्लायो र सिक्त आँखाले सानीलाई पुलुक्क हेर्यो। अनि बल्ल सानी शून्य हृदय लिएर भान्साकोठातिर गई। भान्साघरमा रत्नाले सोद्धा सुबेदारनी आफैले रुञ्चे स्वरमा भनिन् -- खाँदैन रे खाँदिनँ भन्छ कपाल दुख्यो भन्छ ৷৷. यो बिमारी भयो कि मेरो त आधा जीउ हुन्छ। सुत्ने बेलामा उमालेको पानी चिस्याएर सानीले हरिको सिराननेर राखिदिई। हरि आफूले ओढ्ने लुगाहरूसमेत एकातिर फाली अस्तव्यस्त छरेर सुतिरहेको रहेछ। निधारमा पनि पसीनैपसीना, आँखा पनि बन्द। बाहिर चिसो हावा बगिरहेको थियो -- सानीले झ्याल थुनी, पलङ्गबाट लत्रेर झरेका लुगाहरू सम्याएर हरिले थाहा नपाउने गरी ओढाइदिई, अनि हरिको अनुहार धेरै बेरसम्म अतृप्त आँखाले हेरिरही। मनमा
कताकता शंका डर लागेजस्तो भयो। आफू कोठादेखि निस्केर जानुभन्दा अघि एकचोटि निधारमा थाहा नपाउने गरी हात राखेर छाम्दाछाम्दै हरिका आँखा उघ्रिहाले। विद्युत्जत्तिकै छिटो भएर निधारदेखि हात पन्छाएर पनि अघोरै राताराता बाईंले परेला र गाला छोइसकेका थिए। कानमा बाईँ बजेको आवाज पनि आइहाल्यो अनि कोठाबाट एउटा कालो छायाजस्तो सुटुक्क निस्केर भागेको पनि हरिले देखिहाल्यो। आज सानीको मुटु किन हो किन अपराधीको जस्तो ढुकढुक गरिरह्यो। धेरै बेरसम्म आफ्नो छाती उँधो र उँभो भइरहेको सानीले पनि थाहा पाई। आज एक्कासि अज्ञात आनन्द अनि अज्ञात डर कताबाट अन्तरमा पस्यो, त्यो सानी आफैले पनि बुझ्न सकिन। आधारातसम्म निद्रा लागेन, मनमा केके कुराहरू खेलिरहे। आज त्यसलाई भित्र अन्तरमा कताकता कुतकुती लागेजस्तो भइरह्यो।