भोलिपल्ट हरिको कपाल दुख्नु निको भइसकेको थियो। पर्सिपल्ट छुट्टीको दिन थियो। हरि आफ्नो कोठामा बसेर एउटा हिन्दी मासिक पत्रिका हेरिरहेको थियो। सम्पूरण अजन्ता शैलीको आधारमा पनि होइन। मुगलकालीन शैलीमा पनि होइन, तर आधुनिक यामिनी कालको धेरै प्रभाव परेको एउटा चित्र हेर्नमा उ तन्मय थियो। चित्रमा के तत्व रहेछ, चित्रकारले मान्छेमा आँखा, नाक र मुख किन विकृत पारेर खिंचेछन् -- हरिले त्यो बुझ्ने चेष्टा गरिरहेथ्यो। ढोकामा सानी देखा परी। हरिले सानीलाई छेउमा बोलाएर आफूले हेरिरहेको चित्र देखायो, सानी खुशी भई। सानीतिर फर्केर हरिले भन्यो -- किताब ल्याइदिएँ भने तिमी पनि पढ्छ्यौ सानू? सानीले पढ्छु भनेर जवाफ दिई, अनि हरिले भन्यो, उसो भए भोलिदेखि बेलुकाबेलुका मसित पढ्नलेख्न पनि सिक्ने है त? अनि तीन महीना नपुग्दै सानी लोभी कुकुरको पाठसम्म पुगी। दशैं आइहाल्यो। दशैंको बिदामा हरिको आफिस केहा दिन बन्द थियो। चाड़ आएपछि ता झन् सानीलाई एकछिन अवकाश भएन। बिहान उठेदेखि यो काम त्यो काम गर्दागर्दै साँझ झमक्क परिहाल्थ्यो। एकछिन हात खाली भयो भने लामो सास फेरेर एक कुनामा बसी धागो बुन्न सिक्थी कि ता घोरिएर केही अक्षर पढ़िरहन्थी कि ता एकान्तमा गएर कल्पनातीत संसारमा डुब्थी। दशैं त्यतिकै गैहाल्यो। तर फेरि केही दिनमा तिहार आइहाल्यो। गाई पुज्ने दिन आयो। गाउँका सबै जना आफ्नोआफ्नो घरको कामकाजमा डुबे। हरि आफैं पनि घर सिंगार्नमा त्यस दिन व्यस्त थियो। बाहिरभित्र कागतको फूल काटेर टाँसेको, लामालामा सयपत्री फूलको माला गाँसेर ढोका र भाँडा झिलीमिली पारेको सुबेदारनी बिहानदेखि भान्साकोठामा थिइन्। पूरी सेल पकाउने, फुलौरा बनाउने इत्यादि काम भयो रत्ना र सुबेदारनीको। भान्साघरमा सुबेदारनी र रत्नाको बीचमा कुराकानी भइरहेको थियो। रत्नाले भनिरहेकी थिई -- दिदी, के भन्नु, यो लक्ष्मीपूजाको दिन आउँदा ता त्यही दिनको सम्झना हुन्छ ৷৷. सुबेदारनीले कुरा थपिन् -- हो कुनै कुनै चाड़ले, पर्वले कि ता दिनले, कि ता मान्छे, कि ता ठाउँले, बितिसकेको कुरा सम्झना गराउँछ। केही बेरपछि रत्नाले भनी -- त्यसैले ता दिदी, यो लक्ष्मीपूजा आयो कि उही कुरा याद आउँछ। त्यो दिन
सबैको घरमा कस्तो चाड़ थियो, मेरो घरमाचाहिं कस्तो बिल्लीबाठ। घर घर थिएन, चाड़, चाड़ थिएन। नौरथा लागेकै दिनदेखि ऊ साह्रोसाह्रो हुँदै गएको ৷৷. कुन दिन हो खसेको? लक्ष्मीपूजाकै दिन। कठै दुःख आइलागेपछि के लाग्दो रहेछ नि? हो कि? हो दिदी भनेर रत्नाले लामो सास तानी त्यसको मन प्राण एकछिन शून्य भयो अनि अतीतको एकएक घटना, एकएक दृश्य त्यसका सम्मुख आउन थाल्यो ৷৷. भोर हुन लागेको थियो, प्रभातको धमिलो उज्यालो झ्यालबाट भित्र पसिरहेको थियो, प्रातःकालीन चिसो सिरेटोले मुटु पनि कमाइ रहेथ्यो -- घरभित्रको उच्चाट लाग्ने नरमाइलो अन्धकारमा एउटा धीमा बलिरहेको बत्तीले हड्डी र छालामात्र भएको गाला खोप्चिएको रक्तहीन वर्णको रोगीलाई पर्खिरहेको थियो -- अनि समीपवर्ती एउटा पातलो जीउ भएकी स्त्री घोप्टो परेर रोगीको छेउमा बसेकी थिई। अनि कुनापट्टि एउटा बालिका बत्ती छेलिएको अन्धकारमा गुँडुलिएर सुतिरहेकी थिई, अनि त्यसपछि जतिजति उज्यालो बढ्दै गयो उतिउति रोगी बेहोश हुँदै गयो। अनि त्यो बालिका पनि उठी, अनि एकैछिनपछि बाहिर सूर्योदयको प्रथम किरणले घरको धुरी स्पर्श गर्यो अनि एउटा प्वालबाट सानो किरण छिरेर अँध्यारो घरभित्र पस्दा रोगीले आँखा उघार्यो -- आफ्नी स्त्री र छोरीको हात स्पर्श गर्यो। अनि बिस्तारबिस्तार रोगीका ती दुवै आँखा बन्द हुँदैहुँदै अनि फेरि कहिले नखोलिने गरी बन्द भए। अनि आमाछोरी चिच्याईचिच्याई रोए अनि सब विपना सपना भयो। आज रत्नाको मनमा उही लक्ष्मीपूजाको घटना स्मरण भइरहेछ र -- उही दुःख र विपत्को बादलभित्र त्यस अभागिनीको कल्पना पुगिरहेछ। यही बेला सानी कोठामा के लिन भनेर आई। सुबेदारनीसित अरूअरू कुरा गर्दागर्दै त्यसै त्यो कुरा बिर्सियो। आज अल्याङटल्याङ गर्दै सानीले दिन बिताई। सूर्य डुबेपछि एकान्तमा सानीले सुबेदारनीलाई सोधी, बढ़ी, आज ता बजारभरि कताकता बत्ती बाल्छन् रे झिलिमिली पार्छन् रे, रमिता हुन्छ रे सप्पै हेर्न जान्छन् रे, मैले त कहिल्यैकहिल्यै हेरेको छैन बढ़ी -- जाउँ है म पनि? सुबेदारनीले एक छिन विचार गरेर भनिन् -- घरको सबै काम गर्न भियाइस् भने जा तर कोसित जान्छेस् सानू? भनेर सोद्धा खुशी भएर सानीले जवाफ दिई -- लामिछानेका बहिनीहरू सप्पै जाने रे सुबेदारनी हाँसिन् र केही नभनी बाहिर निस्किन्। केही बेरपछि आमाचाहिंसित लक्ष्मीपूजा हेर्न जान्छु भनी कुरा गर्दा रत्नाले अलिकति खै गरी -- बत्ती हेर्न जाने रे? जानपर्दैन, के बत्ती हेर्छेस्? घरैमा पनि कति बत्ती हेर्छेस् ৷৷. ? सानीको अनुहार निराशाको बादल आएर ढाक्यो। रत्ना बोलेको स्वर हरिको कोठामा पनि पुग्यो -- रत्नाको जानपर्दैन भन्ने शब्द हरिको कानमा केही बेरसम्म प्रतिध्वनित भइरह्यो। साँझसाँझमा हरि भान्साकोठामा गएर, आमा, बत्ती हेर्न जाऊँ भनी सोद्धा सुबेदारनीलाई भनिन् -- जाऊ बाबै तिमीहरू हेरेर आओ हाम्रो ता ৷৷. खै बेला गयो। सुबेदारनी बत्ती हेर्न नजाने भइन्, रत्ना पनि नजाने भई। सानी कोसित जाने भनी कुरा चल्दा सानीलाई हरिले बत्ती हेर्न लैजाने भयो। दार्जिलिङ्ग शहर लक्ष्मीपूजाको राती बिजुलीले, फूलले, कागतले, बत्तीले, दियोले, कपडाले, रंगले, चित्रले, झिलमिली पारेको -- बत्ती हेर्न जाने मानिसको अपार घुइँचो मानिसको हूलमूलमा, अपार घुइँचोमा हरिले सानीलाई हातमा समाती डोर्याईडोर्याई सबै रमिता देखायो। चारैतिर झिलमिली बत्ती, मानिसको घचारो, अत्तर र धूपको सुगन्ध -- सानीलाई सपनासपनाजस्तो पनि लाग्यो। यो स्मृति सानीको जिन्दगीको अन्तिम दिनसम्म रहने सुखद स्मृतिको कहिले नछिनिने धागो भयो। रमिता हेरेर फर्कंदा आधारात भइसकेको थियो।