तिहार गएको केही दिनपछि। आइतवार आफिस जान नपर्न हुनाले हरि झ्यालसम्म घाम आइपुग्दा पनि ओछ्यानमै गुटुमुटु परेर सुतिरहेको थियो। हरिलाई निद्राले घण्टौंअघि छोडिसकेको भए तापनि पातलो तन्द्रामा आफ्नो विचारधारा बगाउँदै सुतिरहेथ्यो। विपनामा भए पनि आँखा चिम्म गरेको बेला देखिने धेरै कल्पना र सपनाहरू हरिको पवित्र आत्माकन्दराभित्र पसी सम्भवको र असम्भवको पीङ्ग बनाएर खेलिरहेका थिए। अनि आफ्नो अन्तरभित्र कसैले पनि नदेख्ने ठाउँमा के रहेछ भनी बिस्तारै छाम्दा त्यहाँ एउटा नवकुसुम भर्खर फक्रन लागेको रहेछ त्यहाँ एकछिन घाम लाग्यो, उज्यालो भयो, फेरि बादल आयो अनि कल्पनाको प्रदेश कुइरीमण्डलले छोपियो। अनि तन्द्रा अवस्थाको बादल हटेर छ्याङ्ग भयो। आँखा उघारेर हेर्दा घाम झ्यालबाट छिरेर कोठाभित्र खेलिरहेको रहेछ। भान्साघरमा बोलिरहेको अस्पष्ट स्वर पनि आइरहेको थियो। हरि उठेर भान्साकोठामा जाँदा सानी अझै सुतिरहेकी छ भन्ने थाहा पायो। सानी सुत्ने कोठामा पुगेर हेर्दा लुगाले घुर्लुम्म मुख छोपी भित्तातिर फर्केर सुतिरहेकी रहिछ। हरिले लुगा पन्छाएर सानीको निधार छाम्यो -- जरोले प्रचण्ड तातो रहेछ। हरिले सोद्धा कपाल दुख्छ भनी सानी रुन थाली। सानीको जरो बढ्दै गयो। पाँच दिनसम्म जरोले अचेत भइरही। डाक्टर दिनहुँ आएर हेरेर जान्थ्यो। सुबेदारनी र रत्ना भने आफ्नाआफ्ना काममा व्यस्त भइरहे। केही दिनपछि सानीले आँखा उघार्दा कोठा शून्य रहेछ। बेलुका चार बज्न लागेको थियो। झ्याल उघारै थियो। बाहिर हेर्दा झ्यालबाट आकाशको एक टुक्रा देखियो -- नीलो फुस्रो आकाशदेखि पातलो पानीको बाछिटा पृथ्वीमा सिमसिम झर्न लागेको रहेछ। एकछिनमा हेर्दाहेर्दै आकाशको एक कुना रङ्गिदै गयो। घामपानी भएछ। नीलो आकाशे पर्दामा पानीका हजारौं मसिना थोपा बुरुरुरु खस्न लागेका -- अनि बादलबादलमा छर्लङ्ग घाम लागेको अनि मन्तिर धेरै रङ्ग गोलो भएर इन्द्रेनी लागेको। ओहो, कस्तो राम्रो इन्द्रेनी सानीको हृदयाकाशमा पनि धेरै रङ्गहरू धारा बनेर इन्द्रेनो लाग्यो -- गोलो भयो अनि गोलो हुँदै लाम्चिएर मानिसको अनुहारको आकारमा बदलियो। त्यहाँ नाक, मुख र आँखाको आकार देखियो, अनि हेर्दाहेदैं गालामा समेत कोठी भएको गहुँगोरो वर्णको अनुहार भयो सानीलाई अलिकति कुतकुती लागेजस्तो लाग्यो र आँखा चिम्म गरी। बाहिरको इन्द्रेनी एकै छिनमा हराउँदै गयो, तर सानीको अन्तरको कहिले नथामिने घामपानीमा भने इन्द्रेनी त्यत्तिकै लागिरह्यो। अर्को दिन। डाक्टरले जरो नहटेसम्म भात खानुहुँदैन भनी निषेध गरेको -- सानीले अलिकति भातै खान्छु भनी जिद्दी गरी। हरिले आएर सम्झाउँदा बल्ल मानी। सानी बिरामी परेदेखि हरिको कोठाको बेस्याहार भयो। मेच, पुस्तक, झ्याल, दराज, ताक, आलमारी, फूलदानी, मसिनी सबै धूलैधूलोले भरिए। हरिलाई दिक्क लागिसकेको थियो। सानीलाई जरोले छोडिसकेको थियो। एक बेलुकी, सानी ओछ्यानमा कोल्टे परेर सुतिरहेकी थिई। सूर्य भर्खरै अस्ताइसकेका थिए। राजवाड़ीको गाउँ शून्यलाग्दो थियो। हिमालको चिसो हावाले जाड़ो बढ़िरहेको थियो। गाउँघरमा साना केटाकेटीहरू
ढुकुमुकु खेल्दै कराएको आवाज सानीको कोठासम्म पुग्थ्यो। यो केटाकेटीको क्रीडाले, तिनीहरूको, स्वरले, आमोदले सानीको हृदयमा पनि बाल्यावस्थाको घटना स्मरण गराइरहेथ्यो। कति दिनअघिको त्यो स्मृति उहि ठाउँ हो, उही बेला पनि हो, उही गाउँ हो, उही बालक, बालिकाहरू पनि हुन् -- आफू पनि उही ठाउँमा खेलेको, उही ठाउँमा हिंड़ेको, उही ठाउँमा दगुरेको -- त्यही सड़क, त्यही बाटोघाटो, त्यही रेलिङ्ग, त्यही घर हो -- अनि उही पृथिवी पनि हो। तर आज आफूलाई कस्तोकस्तो लाग्यो। जीवन यसरी परिवर्तन हुँदा कति दिनअघिको आफ्नो जीवन झन् मृदु सुखमय अनि झन् दुःखद लाग्दो रहेछ जतिजति साँझ पर्दै गयो उतिउति सानीको विचारधारा बग्दै गयो -- कहिले बालकपनको स्मृतिमा, कहिले परेवा हान्न लागेको बेला सुबेदारले एक दिन आफ्नो काम समातेका घटना कहिले, ऐँसेलु खोज्न जाँदा वर्षा झरीमा मूसा भएर भिजेको घटनामा, कहिले कता, कहिले कता। यही बेला तल उपत्यकाबाट बाँबाँ गर्दै गाई कराइरहेको धीमा आवाज सानीको कानमा पर्यो -- विचारधारा एकछिन भङ्ग भयो -- अनि फेरि उही कल्पना, उही स्मृति अस्ति लक्ष्मीपूजाको राति जुलेको घटनासम्म आएर विचारधारा टक्क थामियो। आफूभन्दा अग्लो, सुगठित शरीर भएको देउताजस्ता मानिसको हात समाती मान्छेका घुइँचोभित्र रमिता हेरेको, त्यो तातो हातको स्पर्श अझ पनि हातमा, बाहुमा एकदम ताजै छ ओहो, त्यो हातको स्पर्श कति मृदुमय उही बेला भान्साकोठामा छ्वाइँय्य गरेर तर्कारी भुटेको आवाज आयो, अनि एकै छिनपछि सन्ध्याको वायुले साग भुटेको तर्कारीको गन्धसमेत कोठामा पुर्यायो। अनि सानीको दिवास्वप्नको धारा एकछिन खलबलिएर फेरि बग्न थाल्यो -- अस्ति हरि दाज्यू बिरामी पर्दा आफूले उसको निधार छाम्दा उसले थाहा पायो कि पाएन? -- ओहो, पाएको भए के संझ्यो होला त्यसै बेला सुबेदारनी आएर कोठामा बत्ती बालिदिइन् अनि केही नभनी भान्साकोठामा फर्किहालिन्। साँझ परिसक्दा पनि आज हरि आइपुगेन। सानीलाई अलि छटपट लागिरहेथ्यो। सानीको मन कताकता पुग्यो। यही बेला हरि चाल मारेर सानीको कोठाको ढोकानेर आई उभियो। सानी ओछ्यानमा सुतीसुती बाहिरबाट आएको साँझको धमिलो उज्यालोतिर हेरिरहेको रहिछ। हरि केही बेर त्यहाँ खड़ा उभिरहँदा पनि सानीको दृष्टि ऊमाथि परेन। सानी कल्पनाको बादलभित्र अन्तरको छायाँलाई पच्छ्याउँदै गइरहेकी थिई हरि छक्क पर्यो। मनमा एकछिन शंकाहरू देखापरे बिरामी परेकोले हो कि। सानीको अनुहार हेर्दा हरिलाई सधैंभन्दा पनि गोरी लाग्यो। त्यसका सुन्दरसुन्दर गाला आँखा झन् चहकिला र सुन्दर देखिए -- दुवै गाला अलिअलि खोपचिएकाले अनुहार अझ एक प्रकारको राम्रो देखिन्थ्यो। हरिको मनमा आफूले कताकता पढ़ेको मेडोनाको चित्रको सम्झना भयो। यही बेला सानीको आँखा कसोकसो गर्दा हरिमाथि पर्यो। ओहो कति बेरदेखि यसरी कल्पनाप्रदेशमा डुलिरहेकी थिई। सानीले लाजले घुर्लुम्मै मुख छोपी। हरि केही नबोली त्यहाँबाट फर्क्यो। हरि गइसकेपछि सानीले मुख उघारेर हेरी -- कोठामा फेरि के छैन के छैनजस्तो लाग्यो। कोठा शून्य लाग्यो। साह्रै निर्जन लाग्यो। हरिको मोहोड़ा आज वृन्दावनमा मुरली बजाउँदै गोपिनीहरूका साथ गाई चराउने एउटा श्याम वर्णको गोठाला राजाजस्तै लाग्यो। अनि धेरै रात बितिसक्दा पनि सानी छटपट गर्दै घरि वल्टे परि, घरि भितापट्टि फर्की। यसरी चलमलचलमल गर्दागर्दै आधारात बित्यो। एक निद्रा पुर्याएर रत्ना बिउँझदा पनि सानीलाई नसुतेर छटपटछटपट गर्दै चलिरहेकी थाहा पाएर छोरीसित सोधी -- सुतेकी छैनस् सानू? निद्रा लागेन?