MAAITGHAR


एक दिन राति सुबेदारनी र रत्ना एकान्तमा बसेर धेरै कुरा गरिरहे। सुबेदारनीले सानीको बिहेको कुरा उठाइन्। बढ़ेकी छोरीको आफ्नो सास छँदै बिहे गरिदिनुपर्छ भनेर रत्नाले पनि भनी। तर यो प्रश्न उठ्नेबित्तिकै रत्नालाई बिघ्नै नरमाइलो लाग्यो। आजसम्म सानीलाई केटाकेटी नै संझन्थी -- आजसम्म संसारमा आफ्नो भन्नु केवल सानीमात्र छ भनेर ठान्थी -- भोलि त्यो अर्काका घर गएपछि ता आफू पनि यो ठूलो संसारमा एकली हुने भई।
त्यस रात अरू केही धेरै कुराकानी भएन। तर धेरै दिनसम्म भने रत्नाको मनमा शूल भासिइरह्यो।
केही दिनपछि सुबेदारनीले छोरासित पनि सानीको विवाह गरिदिने कुरा चलाइन्। हरि केही नबोली आमाको कुरा सुनिरह्यो। तर हरिलाई मुटुमा हठात् कसैले आघात गरेजस्तो लाग्यो। मनमनै आघात पाएर हरि मौन बसिरह्यो। सुबेदारनी पनि छोरोसित धेरै कुरा नगरी उठेर गइहालिन्।
त्यस रात जून टहटह लागिरहेको थियो। राजवा़ड़ीवारिपारि गाउँमा जूनका उज्यालोमा कतै नीलो, कतै घुर्मैलो, कतै नीबू रङ्गको, कतै चाँदीको जलपजस्तो देखिने, पारि धूपीका टुप्पाहरू लहरैलहर देखिने।
आधारातसम्म हरि झ्यालबाहिर हेर्दै बसिरह्यो। वरपरको प्रकृति चारैतिर निर्विकार -- अचल -- नीरव अनि उदासीन। आकाशमा जन कहिले बादलभित्र पस्छ -- कहिले फुत्त निस्कछ, कहिले पातलो बादललाई पर्दा बनाएर घुम्टो हाले जस्तो गर्छ, कहिले ठूलो चाँदीको थाल भएर देखापर्छ। जून र बादल आकाशमा खेलिरहे। तर आज हरिलाई आफ्नो हृदयपोखरीको गम्भीरता कसैले आएर एकाएक भङ्ग गरेजस्तो लाग्यो।
ओहो स्नेहको त्यो सानो अंकुर हृदयको सात पत्रभित्र एक दिन पलाएर आएको अंकुर सुकेर त्यसै मर्ने भयो त? जुन पवित्र स्नेहको बन्धनले जिन्दगीलाई छन्दमय पारेको थियो त्यो के त्यसै भङ्ग हुने भयो त?
अनि त्यस दिनदेखि आकाशमा धेरै दिनसम्म बादल लागिरह्यो। जूनको शीतल किरण पनि हरिको दग्ध छातीभित्र पस्न सकेन -- घामको न्यानो तातोले पनि हरिको सिक्त हृदय ओबानो पार्न सकेन।
सुबेदारनीले छोरालाई धेरै पटक सानीको बिहेको बारेमा कुरा गरिन्। अन्त्यमा केटासमेत हेरिसकेको कुरा एक दिन छोरोलाई भनिन्। हरि मौन भएर आमाको कुरा सुनिरह्यो।
केही दिनपछि एक दिन सानीलाई बोलाएर हरिले सोध्यो -- सानू तिमीसित एउटा कुरा गर्नुछ।
सानीले के गुरा भनी सोद्धा हरिले भन्यो -- छोरीचेली भएर जन्मेपछि एक दिन अर्काको घर जानुपर्दैन र? एक न एक दिन ता अवश्यै जानुपर्छ। तिमी पनि ठूली भयौ, तिम्रो पनि घरबार गरिदिनुपर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ। धेरै पटक कान्छीआमाले पनि सानूको बिहा गरिदिनुपर्छ भनेर आमासित कुरा गरेको सुनें। अब भन तिम्रो के विचार छ?
सानी छक्क परी। हृदयमा अकस्मात् ठूलो घंटा बजेजस्तो लाग्योs: अनि बिस्तार त्यसका तीक्ष्म आवाजले कान बहिरा हुँदै गएजस्तो लाग्यो। अनि सानीलाई लामो जिन्दगीको पथमा हिंड्दै गर्दा अकस्मात् आज चिप्लेजस्तो लाग्यो। स्वच्छ नौलोजीवन आकाशमा हठात् कालो मेघ थुप्रेजस्तो लाग्यो -- गम्भीर जलनिधिमा जीवननौका एक्कासि डुब्न खोजेजस्तो लाग्यो। सानीले क्षणभर आफैंलाई हराई -- अनि झस्केजस्तो भएर

दिवास्वप्नबाट ब्यूँझी। अनि धेरै बेरसम्म त्यहाँ अटूट निस्तब्धता छाइरह्यो। तर सानीको हृदयको स्पन्दन भने थामिएन।
क्षितिजपारि कताकता बोलाएजस्तो एउटा क्षीण स्वर आयो, सानू ৷৷. अनि सानीले फर्केर हरिको अनुहारमा हेरी -- आशाले, त्यही स्नेहले, त्यही भरोसाले जसरी डुब्न लागेको मानिसले माझीको मुख हेर्दछ। सानीले भनी -- मेरो ता बिहे गर्ने मन छैन, हरि दाज्यू, मसित यो कुरा नसोध्नुहोस्।
किन? के जन्मभर यत्तिकै बस्ने त?
बस्ने
बस्ने
ओहो सानू किन त्यसरी जिद्दी गरेकी? यो केटाकेटीको बुद्धिले हुन्छ?
बिहे गर्दिनँ, बिहे गर्दिनँ -- मसित त्यो कुरा गर्नैपर्दैन हरि दाज्यू भनेर सानी कोठादेखि बाहिर निस्कन खोज्दा हरि सामुन्ने आएर उभियो अनि सानीलाई संझाउन थाल्यो -- सानू, त्यो भनेर हुन्छ? छोरी चेलीको जात एक दिन अर्काको घर नगई हुँदैन -- चेलीको घरसंसार पराई घरमा हुन्छ, माइत घरमा हुँदैन ৷৷.
सानीले केही जवाफ नदिई ढोकाबाट छिरेर जान खोज्दा हरिले सानीको हात समातेर आग्रह कण्ठले त्यही प्रश्न दोहोर्यायो। सानीको शरीर, मन, प्राण, भयले, स्नेहले रोमाञ्चित भएर आयो, अनि त्यसका निधारमा शरद्को प्रभातमा देखिने शीतजस्ता पसीनाका थोपा देखिए। त्यो नबोलेर पृथिवीतिर नजर गाडेर अचल उभिरही। त्यो निहुरिएको शिर अझअझ तलतल लच्किंदै गयो अनि वर्षाको आकाशमा झुन्डिएको कालो मेघबाट वर्षाजल झरेजस्तो सानीका आँखाबाट अश्रुजलको वर्षा भइरह्यो। हरिले त्यसको कपाल स्नेहले स्पर्श गरेर त्यसका च्यापु उँभो आफूतिर फर्काएर हेरेको ता ओहो रुवाइले दुवै आँखा आँसुको पोखरीमा पौडी खेलिरहेछन्।
दुवैका आँखा जुधे -- अनि दुवैका आँखाको बीचमा हजारौं मानवी प्रश्नका फिलिंगाहरू उड़े, अनि स्नेहका हजारौं पराग त्यहाँ वर्षिरहे, अनि ताण्डव नृत्यले दुवैको आँखा फेरि तिरिमिरी पारिदियो।
हरिलाई ठूलो हुरो आएजस्तो लाग्यो। आज सानीलाई आफ्नो छातीमा टाँसेर त्यसको अव्यक्त व्यथा र कष्ट बुझ्ने इच्छा भयो। उसका आँखादेखि पनि अजस्र धारमा अश्रुजल बग्न खोज्यो।
हरिले निसास्सिएको स्वरमा भन्यो -- सानू, किन रुन्छ्यौ? आफ्नो भाग्यमा जस्तो छ, उस्तै हुनुपर्छ -- सबैले भोग्नैपर्छ ৷৷.
सानीलाई आफ्नो अन्तर ठूलो पत्थरले एक्कासि थिचेजस्तो लाग्यो, अनि आफना गोड़ा पनि दुर्बल भएर अझ उभिन नसक्नेजस्तो भइसक्यो। अनि रिंगटा चलेजस्तो पनि लाग्यो, अनि धेरै बेर त्यसरी उभिन नसकी जीवन देवताका सम्मुख देवदासीले जसरी चरण छाएर आत्मसमर्पण गर्छे उसरी सानीले पनि घुँड़ा टेकेर हरिका दुवै गोड़ा समाती रुँदैरुँदै भनी -- हरि दाज्यू, म त बिहा गर्दिनँ, बिहा गर्दिनँ ৷৷. म यहाँ बस्ता के तपाईंहरूलाई पीर लाग्छ? म यो घरमा बसेको आमा पनि सहनुहुन्न, बढ़ी पनि देखिसहनुहुन्न अनि तपाईँ पनि देखिसहनुहुन्न भने बस्तिनँ -- जान्छु -- टाढ़ै जान्छु जता यो गोड़ाले लान्छ। अनि सानो एकछिन रुन छाड़ेर शून्यमा आफैलाई हराएजस्तो गरी। आँखाले यताउति हेरेर भनी, हरि दाज्यू, मैले केही बिराएँ त? यो

घरमा मैले केही बिराम गरेजस्तो ता लाग्दैन। मैले केही बिराम गरेको भए पनि मेरो केही दोष भए पनि मलाई माफी दिनुपर्छ, तर बिहा भने गर्दिनँ। हरि दाज्यू, मलाई बिहे गर्ने इच्छा छैन। अर्काको घरमा, नचिनेको जहानमा गएर म बस्न सक्तिनँ। म यहीं बस्छु, यही मेरी माइत घर -- यहीं बसेर आमा र बढ़ीलाई हेर्छु, तपाईँको पनि सेवा गर्छु जन्मभर म यही घरमा बस्छु ৷৷.
सानीको अबोध, सरल र मर्मस्पर्शी अनुरोधले हरिको कठोरता, दृढ़ता पग्लेर पानीजस्तो भयो। दुःखले, व्यथाले, अभिमानले, दर्पले खसेको सानीको आँसु हरिको गोड़ामा पनि पर्यो अनि त्यो तातो आँसुको स्पर्शले पृथिवीबाट उठेर आएको प्रचण्ड तातो बाफ भएर हरिको छातीसम्म पुग्यो।