MAAITGHAR


दुई वर्षपछि मात्रै फेरि आमा बिरामी हुँदा सानीले माइत आउने मौका पाई।
भदौको मुसलाधारे पानी एकनाससित परिरहेको थियो। आकाश कति दिनदेखि मेघाच्छन्न थियो -- राजवाड़ी वारिपारि गाउँ कुइरो बादल डम्म लागेर वरपर केही नदेखिने भयो। यस्तै पानी परिरहेको बेला झुत्रे छाता ओढ़ेर सानी साँझ पर्नेपर्ने बेलातिर सुबेदारनीका आँगनमा आइपुगी।
दलानमा छाता राखेर सानी सरासर भान्साकोठामा गई।
सानीलाई देखेर सुबेदारनी छक्क परिन्। सानीको ढोग थापेर एक छिन तिनी वाल्ल परिरहिन्।
सानीको जीउ सुकेर सिन्का जस्तो भइसकेको -- आँखा अझ तल भासिसकेका -- अनुहारको वर्ण पहेंलो भइसकेको, नाकको डडाँलो र गालागालामा चायाँसमेत बसिसकेको अनि जीउमा पनि मैला, फेरुवा गुनिउँ चोली र मजेत्रो। अघिकी सानी र अहिलेकी सानी हेर्दा हत्तपत्त ठिम्याउन पनि नसक्ने भइसकेकी।
सुबेदारनी ठूलो आश्चर्यमा परिन् -- नारी जीवनको दुःखमय चित्र हेरेर तिनी मनमनै तर्सिन् -- हा नारीको जन्म अनि लामो सुस्केरा हालेर सानीलाई समाती छातीमा टाँसिन् र त्यसका गाला सुमसुम्याउँदै भनिन् -- सानू एकलै आइस्? कठै यो पालि त झन् कस्तो नचिन्ने पो भइसकिछस्
सानीले मलिन मुख गरेर दिक्कले हाँसी अनि फेरि मुख अँध्यारो गरी र पछिल्तिर फर्केर बर्र आँसु खसाईँ।
सुबेदारनीलाई नरमाइलो लागेर आयो।
सानीले सोधी -- बढी, आमालाई कस्तो छ?
सुबेदारनीले सबै कुरा संक्षेपमा सुनाइन्।
आमालाई हेर्न जाँदा आमा मैला ओछ्यानमा एकलै लड़िरहेकी रहिछ। झ्यालबाट आएको साँझको धीमा प्रकाशमा सानीले आमाचाहिंको अनुहार पहिले ता साफसाफ देख्न सकिन। अनि निहुरिएर हेर्दा सानीलाई आमाको अनुहार पनि अनुहार जस्तो लागेन। त्यसैले सानीको छातीभित्र ढुकढ्ढकी बन्द होला जस्तो भयो।
रत्नाको अनुहार सुकेर पहेंलो दुब्लो भइसकेको रहेछ। छोरी आएको देखीदेखी पनि रत्नाले छोरीतिर पुलुवक्क हेरेर भित्तापट्टि मुख फर्काई। छोरीलाई चिन्न नसकेर हो कि मानसिक विरक्ति हो? सानीले बुझ्न सकिन, तर मनमनमा भने अस्पष्ट व्यथा अनुभव गरिरही।
सानीले आमाचाहिंको हात समातेर बोलाउँदा बल्ल छोरीतिर फर्केर हेरी। छोरीलाई देख्ता उसका दुवै आँखा उदेक लाग्दो गरेर टल्के अनि नबोलेर केवल छोरोको हात धेरै बेरसम्म मुसारीरही। कोठाको मलिन उज्यालोमा आमाले छोरीको अनि छोरीले आमाको अनुहार हेराहेर गरिरहे। आज दुवै नारीले मूक भाषामा आफ्ना अन्तरको अव्यक्त दर्द र व्यथा प्रकाश गर्न खोजे।
साँझ पर्दै जाँदा बाहिरको ठूलो झरी पनि थामियो।
अनि झ्यालबाट आइरहेको साँझको धीमा प्रकाश पनि सकिंदै गयो, अनि बाहिरको मेघयुक्त आकाशमा ताराहरू उदाएका पनि झ्यालबाट देखिए। जति कोठा अँध्यारो हुँदै गयो उति प्रकाशहीन कोठा झन् निस्तब्ध र उच्चाटलाग्दो भयो। आमाछोरी धेरै बेर नबोलेर बसिरहे। भान्साघरमा सुबेदारनी आफैले भातभान्सा बनाइरहेकी आवाज कोठामा आइरह्यो। नत्र चारैतिर गम्भीर नीरवता।
अँध्यारोमा छोरीको अनुहार हेर्न खोजेजस्तो गरेर रत्नाले सोधी -- कति बेला आइपुगिस् सानू? सानीको घाँटी भरिएर आयो -- बोल्न नसकेर आमाको मन्थर गतिले चलिरहेको छातीमाथि गाला राखेर रोइरही।
रत्नाले छोरीको केशको गन्ध नाकमा आएको थाहा पाई अनि त्यसका केश आफ्ना पाँचै औंलाले कांगियो बनाएर कोरिदिंदै अस्फुट स्वरमा फेरि सोधी -- कति बेला आइस् त? कति बला? तँ पनि बिरामी भइस् सानू? किन त्यसरी दुब्लाइस त?
आमाको सोधनीले सानीको मुटु फ्याक भयो। अन्तरको आवेग र दुःख थाम्न नसकी आमाको छातीमा मुख लुकाएर खूब रोई।
अनि उही बेला रोगिणी बसेको नीरव कोठामा सुबेदारनी बोलेको कर्कश स्वर आयो -- इ, छोरी आइपुगेकी छ -- कुरा गरी बस्थ्यौं ৷৷. अनि दियासलाई कोरेर बत्ती बालिदिइन् र सानीतिर हेरेर अस्फुट स्वरले कानमा भनिन् -- खै, हामीले भन्दा मान्दिन, झिंज्याट मात्रै मान्छे ৷৷. कस्तो पीर ৷৷.
सुबेदारनी कोठाबाट बोल्दै निस्किहालिन्। अनि कोठा फेरि निस्तब्ध भयो, तर त्यो निस्तब्धतामा सुबेदारनीको कठोर श्रुति सानीको व्यथित हृदयकन्दरामा प्रतिध्वनित भइरह्यो।
सानीले आँखा उठाएर सुबेदारनीको पछिल्तिर हेरी -- सुबेदारनीले कोठा नाघिसकेकी रहिछन्। आज निःसहाय अवस्थामा रोगिणीले छोरीको अनुहार पुलुक्क हेरी अनि आमाको आँखामा आइसकेको आँसु बत्तीको धमिलो प्रकाशमा टल्किरहेको सानीले हेरिरही।
आज रत्नाले आफ्नी छोरीको जीउ, लुगाफाटा, अनुहार सबै देखेर लामो सुस्केरा हाली। आज यतिका दिनपछि छोरीको यस्तो अवस्था देख्ता रत्नाको हृदय टुक्राटुक्रा भयो। किन छोरीको यस्तो अवस्था भयो त? के पोइले हेलाँ गरेर? कि सासूले कचकच गरेर? कि ससुराको पीरले? कि नन्द, देवर र घरको झिंजोले? रत्नाको मन शंकाको तातो भुङ्ग्रोमा भुतभुती खेल्न लाग्यो।
सानीले आफ्नी आमाको आँखाको मूक भाषा छर्लङ्ग बुझ्न सकेजस्तो गरेर आमाको हात अलिकता थिची। मुटुमा शूल पस्यो, असह्य भयो। अनि त्यहाँ धेरै बेर बस्न नसकी सानी भान्साकोठातिर दगुरी।
बाहिर घना अन्धकार छाइसकेको थियो। भदौको झरी भर्खर थामिएको घरभित्र मानिस बोलेको धीमा। आवाजसमेत स्पष्ट सुनिन्थ्यो। वृष्टि थामिइसकेको भए तापनि घरिघरि आकाशको गड्याङगुडुङले घरै उचाल्ला जस्तो गर्थ्यो।
रात परिसक्दा पनि हरि आफिसबाट फर्केन। सानीको अस्थिर मन चञ्चल सागरको तरङ्गमा डुब्दै अनि उत्रँदै गरिरह्यो। सानीले सोद्धा सुबेदारनीले भनिन् -- अचेल बेलामा आउँदैन -- कैले साँझ नपरी घरमा पसेको छैन, कैले ता रातिसम्म बसेर कुरिरहनुपर्छ -- आफिसमा ज्यादै काम छ भन्छ। मेरो छोराको कस्तो मन छ, कस्तो खै आमा भएर पनि मैले त बुझ्न सकिनँ।
सानीको मनमा बादल र जून जस्तो शंका र प्रश्न एउटापछि अर्को गर्दै देखापरे।
कुरा हर्दागर्दै बाहिर दलानमा जुत्ता बजेको सुनियो। सानीले ढोकानेर गएर हेरी -- अन्धकारमा छाता र बर्साती लिएर कालो छाया जस्तो एउटा मानिस आएको देखियो। सानीको मुटु खर्लाङ्ग तल खस्यो -- हरि रहेछ अनि सानी दगुरेर भान्साकोठातिर गई।
हरि आफ्नो कोठाभित्र पस्यो अनि भिजेको लुगा फोएर भान्साकोठातिर गयो। भान्साकोठामा आज फेरि सानीलाई देख्दा कौतुक र जिज्ञासाले हरिको भृकुटी खुम्चिए अनि आँखामा उदेकलाग्दो टलक आयो, अनि केही बेरसम्म त्यत्तिकै उभिरह्यो। सानी लाजले, संकोचले शीतजस्तो केही बेर चिसो भइरही अनि मुख छोपेर घोप्टो परी।
यतिका दिनपछि सानीलाई हेर्दा चिन्न पनि नसक्ने भइसकेकी रहिछ। कति ठूलो परिवर्तन। आज सानीलाई यो अवस्थामा देख्ता हरिको हृदयसागरमा ठूलो हाहाकार मच्वियो, धेरै शंकाहरू आएर उसको मुटु खलबलियो अनि एउटै प्रश्न उसको घाँटीसम्म आएर खपक्क रोकियो ৷৷. ।
हरि सानीलाई एक वचनसमेत नसोधी आफ्नो कोठातिर फर्क्यो। सानीले पछिल्तिर फर्केर हेरी -- हरि कोठाबाट निस्किसकेको रहेछ। बलियो मुठीभित्र कसिराखेको मन फुस्क्यो अनि मुटुमा हलुका चोट लाग्यो अनि सानी मर्माहतजस्तो भएर धीमा आवाजले चिच्च्याउन खोजेजस्तो गरी।
सुबेदारनीले भात पस्किन् अनि हरिलाई बोलाउन कोठामा सानीलाई पठाइन्।
खान बस्दा कुरा निस्क्यो -- पोइले सौता हालेछ। सौता हालेपछि स्वास्नीमानिसको जीवन कस्तो हुन्छ? पोइले सौता हालेपछि विवाहिता आइमाईको जीवनमा दूध पनि विष हुन्छ -- औषधि पनि मृत्यु हुन्छ -- यसैले त्यसलाई आजन्म रुवाएर आँसुको सागरमा डुबाउँछ अनि कसैले छिटै मृत्यु मुखमा पनि पुर्याउँछ।
सुबेदारनीले भनिन् -- सासूससुराले पनि केही भनेनन्? छोराले त्यत्रो गर्दा पनि केही विरोध गरेनन्? ओहो त्यसो भए ৷৷. तर तेरो के लाग्छ, सानू? कठै तेरो कर्ममा कस्तो लेखेको रहेछ नि तैंले पोइलाई रिझाउन सकिनस्, पोइबाट अवहेलना पाइछस्। तर जेठी छँदाछँदै कान्छी ल्याउने पापीले ता पछि उही जेठीको पाउ पर्नुपर्छ ৷৷.
भात खाँदाखाँदै सुबेदारनीको कुरा सुनेर सानीले घोप्टिएर आँसु झारी।
हरिलाई खपि नसक्नु जस्तो भयो। आघातमाथि आघात पाएर झन् मौन बसिरह्यो। हरिको अनुहारको रङ्ग उड्दै गयो। नबोलेर भातको सिता छामिरह्यो। सुबेदारनीले अलि दृढ़स्वरमा सानीतिर हेरेर भनिन्, हेर बाबू, माइत कोही छैन भनेर होला हेलाँ गरेको -- सासूले पनि, ससुराले पनि, पोइले पनि। जैजन्म भएन भन्दैमा निहुँ पाएर जेठीमाथि सौता ल्याइदिनु हुन्छ? सासू पनि कस्ती सासू? ससुरा पनि कस्तो ससुरा? पोइ पनि कस्तो जोइटिंग्रे ৷৷.
हरि उठेर आफ्नो कोठामा गइसकेपछि सानी र सुबेदारनी निकै बेरसम्म भान्साघरमा बसेर कुरा गरिरहे। हरिले आफ्नो कोठाबाट पनि आमा बोलेको स्वर स्पष्ट सुनिरह्यो।
हरिलाई धेरै बेरसम्म निद्रा लागेन। उसको हृत्पिण्डमा ग्लानि र परितापका बादल उड़िरहे। कठै एउटी आश्रयहीना स्त्रीले कतै ठाउँ पाइन? असहाय भएर एक दिन एउटा अपरिचित मानवकहाँ पराई घरमा गई,

तर त्यहाँदेखि पनि लाञ्छित भएर फर्की -- अनि आई, जहाँबाट गएकी थिई उहीं। तर एकपल्ट यौवनको सौरभ नष्ट भएपछि पनि के त्यसको उत्तिकै मोल र आदर हुन्छ? जुन कुरामा स्त्रीको सौरभ हुन्छ, अभिमान हुन्छ, दर्प हुन्छ, अलंकार हुन्छ, आदर हुन्छ, मान हुन्छ, पूजा हुन्छ, त्यो ता सानीले हराइसकेकी थिई।
रात धेरै बितिसकेको थियो। हरि छटपटछटपट गरिरह्यो -- अशान्तिको बादलले निद्रा पर्न दिएन। प्रभात हुने बेलातिर निद्राले बल्ल आँखा छोपिदियो।
सपनामा हरिले देख्यो -- सानीलाई तरङ्ग र छालले घरि उँधो, घरि उँभो पार्दै लगिरहेको -- हरि एउटा पुरानो नाउमा चढ़ी बहना खेलाउँदै सानीलाई उतार्न खोजिरहेको ৷৷. ।
निद्रा टुटेर हरिले आँखा उघार्दा बाहिर उत्तिकै पानी परिरहेको रहेछ।