MAAITGHAR


तीज गएपछि केही दिनमा दशं आयो। विजया दशमीको बिहान निधारभरि आमाबाबुको टीका थापी सानी खुरुखुरु सुबेदारनीको घरतिर आई। सानीलाई देखेर सुबेदारनीले हाँसेर भनिन् -- ओहो आज त सानी पुतली पो भइछस्
केही लाज मानेजस्तो गरी सानी आफ्नो लुगा मुसारिरहो। सुबेदारनीले भनिन् -- खै त सानू, टीका लाएपछि ता ठूलालाई ढोग्नुपर्छ त। खै बढीलाई ढोग दिएको
सानी आएर सुबेदारनीको गोड़ामा ढोगिदिई। सुबेदारनीले वीषासयको आयु होस् भनेर खिसिक्क हाँसिन् अनि एकछिन प्रेमले छातीमा टाँसेर सानीको गालामा आफ्नो गाला जोरेर दलिरहिन्।
सुबेदार खत्री ढोकामा उभिएर धेरै बेरदेखि हेरिरहेका रहेछन्। पतिलाई आफ्नो सामुन्ने देख्ता सुबेदारनीलाई एक छिन के भनुँके भनुँ लागिरह्यो तर पछि शान्त स्वरमा अलिकति हाँसेर भनिन् -- आज यो नीलो जामा लाएकोले सानीलाई कत्ति सुहाएको छ -- कस्ती पुतलीजस्ती भएकी छ, होकि ओहो सानू बिर्सिस्, बढ़ालाई ढोगिदिनस्
सुबेदार त्यसले ढोगेकोपट्टि विचार नगरी केवल मुसुमुसु हाँस्दै त्यस बालिकालाई हेरिरहे। तिनको मनमा अस्तिको घटनाको सम्झना भइहाल्यो अनि केही अस्वाभाविक कण्ठले भने -- हइन, यस्तो जामा लाएको बखतमात्रै तिमी सानीलाई यस्ती राम्री देख्छ्यौ, तर यसले जहिलेदेखि फित्कौली छुनु, परेवा हान्नु, उपद्रव गर्नु छोड़ेकी छ उसै वेलादेखि सानीलाई म त ज्यादै मन पराउन लागेको छु। अब ता सानीले फित्कौली पनि खेलाउँदिन अनि परेवा पनि हात्दिन -- होइन त सानी
सानीले नबोलेर धेरै बेरपछि हो भनि।
सुबेदारनी खितखित हाँसिन्। अनि सुबेदारनीले सानीको हात समातेर घरभित्र लगिन्।
दिउँसो सुबेदार बजार जान लागेका थिए। आफू माथि सड़कमा आइपुगुञ्जेलसम्मन् तल भान्साकोठामा हरि र सानी हाँसेको तीखो स्वर छर्लङ्ग सुनिन्थ्यो।
सानीलाई सुबेदारनी साह्रै मन पराउँथिन् अनि माया पनि उत्तिकै गर्थिन्। छोरीको आफूलाई कत्रो रहर थियो। महाकाल बाबालाई छोरीको निम्ति भाकल गरिन्, सूर्य देवतालाई छोरीकै निम्ति भाकल गरी आइतवारे व्रत लिइन्। तर नारीअन्तरभित्र लुकेको मातृत्वमा जुन ठूलो तृष्णा थियो यो नमेटिंदा जिन्दगीको तहमा आकांक्षा र तृष्णाले अझ झन् हाहाकार मच्चाए। अनि दिन, महीना, वर्ष जतिजति बित्दै गयो आशाको चर्खामा उमेरको डोरो पनि झन्झन् खिरिलो बाटिंदै गयो -- अनि झन् तृष्णाले अन्तर सुक्दै गयो।
विवाहित नारीको शून्य कोखमा एउटा शिशु आउनाले एकैचोटि हजारौं सूर्य्य उदाएजस्तो हुन्छ। तर त्यो हुन नसके आशाआशामा नारीको यौवनश्री ओइलिएर जान्छ अनि कोमल छातीभित्र सधैंका निम्ति जलन र वेदना अनुभव भइरहन्छ।
विवाह भएको धेरै वर्षपछि पाठ, पूजा, व्रत आदि गर्दागर्दा बल्ल हरि प्रसन्न भएछन् र हरिलाई सुबेदारनीको कोखमा वास दिए। सुबेदारकी अघिल्ली स्वास्नी परलोक भएको छब्बीस वर्ष भइसकेको थियो। पहिलेको विवाहबाट जन्मेको छोरो थियो, त्यो नवौं श्रेणीसम्म पढेर पल्टनातिर भाग्यो। त्यसैले सुबेदारको

हृदयमा कहिलेकाहीं ठूलो शूल हुन्थ्यो, तैपनि अलि आफ्नो उमेर ढल्किसकेपछि जन्मेकोले हो कि छोरोमाथि तिनले चाहिएकोभन्दा अलि बढ्तै माया पोख्न खोज्थे। त्यसैले दश बर्षको हुँदा पनि हरि बाबुको गुड़िया (पुतली) नै थियो।