Bhanubhaktko Ramayana




लङ्कापुरी सकल खाग् गरि सैन्य मारी।

फेरी समुद्र सहजै तरि आइ वारी।।

सीताजिको जब सबै समचार् बताया।

श्रीरामले ति हनुमान् कन खुप् सह्राया।।1।।


भन्छन् श्रीरघुनाथ् अहो इ हनुमान्ले खुप् ठुलो काम् गर्या।

एक्लै गै कन रावणादि विरको सेखी इनैले हर्या।।

यत्रो क्षार समुद्र कूदि कन फेर् खाग् गर्नु लङ्का अनी।

को सक्ला सब डर्दछन् इ जति छन् इन्द्रादि द्यौता पनी।।2।।


सुग्रिव्का सब मन्त्रिमा इ सरि को होला न कोही भयो।

छोरो रावणको निभाइ कन ता साम्ने उसैका गयो।।

सेवक्ले जति गर्नु पर्छ तति सब् सेवा इनैले गर्या।

सीताको समचार् बतायर यहाँ हाम्रो ठुलो ताप् हर्या।।3।।


विर् हुन् ई हनुमान् र कूदि कन गै कूदेर आया यहाँ।

यो सागर् कसरी तरी म अहिले पौंचन्छु लङ्का महाँ।।

गैह्रो क्षार समुद्र यो छ बिचमा जल्मा अनेक् जन्तु छन्।

त्यो सागर् कसरी तरिन्छ भनि खुप् आत्तिन्छ मेरो त मन्।।4।।


रावण्लाइ कसोरि मारुँ कसरी तारूँ म फौज् यो भनी।

चिन्ता हुन्छ कसोरि पाउँछु अहो मेरी पियारी पनी।।

राघव्का इ वचन् सुनी कन तहाँ सुग्रिव् अगाडी सरी।

गर्छन् बिन्ति हजूरमा रघुपते क्या हुन्छ चिन्ता गरी।।5।।


यो फौज् वानरको ठुलो छ बलियो लड्न्या छ घूँडा धसी।

अग्नीमा पनि पस्नु पर्दछ भन्या पस्न्या छ कम्मर् कसी।।

सागर् तर्न उपाय मात्र त हवस् यो फौज् त जावस् तरी।

रावण् मार्न कठिन् छ क्या सहजमा मारिन्छ येसै घरी।।6।।


मेरा चित्त महाँ त यो छ रघुनाथ् साम्ने हजुर्मा परी।

लड्न्या विर् कहिं छैन बिन्ति गरियो सारा तिनै लोक् भरी।।

हाम्रो निश्चय जित् हुन्या छ बढिया देखिन्छ लक्षण् पनी।

माछौं राक्षसलाइ आज सहजै साना भुसूना गनी।।7।।


सुग्रिव्का इ वचन् सुनी हुकुम भो श्री रामजीको तहाँ।

जुन् पाठले तरिइन्छ सो गरियला कस्तो छ लङ्का महाँ।।

लङ्काको अकबाल् सुनौं त पहिले कस्तो छ तेस्को तखत्।

सब् बूझी कन पो गया जितियला यै हो विचार्को बखत्।।8।।


ठाकुर्का इ वचन् सुनेर हनुमान् ताहाँ अगाडी सरी।

भक्तीले गरि अञ्जली पनि बहुत् नूहेर सिर्मा धरी।।

गर्छन् बिन्ति जगत्पते रघुपते लङ्कापुरी सुन्दरी।

देखिन्छे जति देख्तछन् ति सबको लिन्छे सबै मन् हरी।।9।।


त्रीकुट् पर्वत्का उपर् छ सुनको पर्खाल छ चारों तरफ्।

थामै छन् मणिका जउन् घर महाँ देखिन्छ तिन्को हरफ्।।

एक् खावा त समुद्र भो अरु नजिक् अर्को खन्याको पनी।

पर्खाल्का नजिकै छ बेस् वरिपरी वैरी न आउन् भनी।।10।।


घर पनि सुन कै छन् गल्लि जो छन् सुनैका।

मणिजडित हुनाले झन् असल् छन् कुनैका।।

घुमि घुमि कन हेर्याँ सब् बघैंचा तलाऊ।

सहज सित कसैको केहि लाग्दैन दाऊ।।11।।


ढोका छन् चार् सहर्का तहिं विरहरुको फौज् छ ठूलो बस्याको।

जो ताहाँ पस्न जाला उ सित तहिं लडी मर्न कम्मर् कस्याको।।

एक् अर्बुद् पूर्व ढोका तिर अति बलवान् जङ्गि पाले बस्याका।

राक्षस् छन् हात्ति घोडा रथ अरु खजना ली खडा भै रह्याका।।12।।


ढोका पीछे यसै रित् सित खडि पहरा छन् सदा नित्य ताहाँ।

येती जम्मा छ फौज् सब् भनि कन त खबर् पाइ सक्नू छ काहाँ।।

यस्तो मज्बूतिको फौज् छ त पनि उहि फौज् ध्वस्त चौथाइ पार्याँ।

लङ्का पोलेर सब् खाग् गरि कन सहजै वैरिको सेखि झार्याँ।।13।।


यहिं ढिल किन ख्वामित् जाउँ सागर् छ जाहाँ।

कछु ढिल तहिं होला तर्नु पन्र्या छ ताहाँ।।

यति विनति हनूमान्ले गर्याथ्या जसै ता।

हुकुम पनि ति सुग्रिव्लाइ भै गो तसै ता।।14।।


हे सुग्रीव सखे असल् विजय यो मूहूर्त ऐल्हे पर्यो।

येस् सायेत महाँ मूहूर्त न चुकी जस्ले त साइत् गर्यो।।

तेस्ले जित्छ अवश्य यै बखतमा सायेत् इ फौज्ले गरुन्।

मेरो दक्षिण नेत्र फुर्छ बढिया लक्षण् छ धिर् मन् धरुन्।।15।।


रावण्लाइ कुलै समेत् क्षय गरी ल्याइन्छ सीता पनी।

वानर्को जति फौज् छ सब् अब चलोस् लियेर लङ्का भनी।।

लक्ष्मण् अङ्गदमा चढुन् दुइ जना हामी हनूमान् महाँ।

सुग्रिव्लाइ यती हुकुम् पनि गर्या प्रस्थान् प्रभूले तहाँ।।16।।


राम् सुग्रिव् हनुमान् महाँ चढि चल्या लक्ष्मण्जि अङ्गद्महाँ।

वानर्को सब फौज् चल्यो पृथिवी सब् छोपेर हिंड्दा तहाँ।।

चाहींदैन रसत् सबै विरहरू खान्छन् फलैफुल् फगत्।

गर्जन्छन् सब विर्हरू तसबखत् सब् काम्न लाग्यो जगत्।।17।।


रात्दिन् फौज चल्यो टिकेन बिचमा कोही कतै एक् घरी।

विन्ध्याचल् कन नाघि फेरि मलयाचल् नाघि यस्तै गरी।।

पौंच्या क्षार समुद्रका तिर महाँ डेरा प्रभूको पर्यो।

वानर्को त्यति फौजले खचित भै सारा किनारा भर्यो।।18।।


वानर्को सब फौज् तहाँ हुकुमले तिर्मा जसै ता बस्यो।

सागर् तर्न उपाय केहि न हुँदा मन्मा ठुलै ताप् पस्यो।।

भन्छन् विर्हरु यो कसो गरि तरौं साह्रै कठिन् भो यहाँ।

यो सागर् न तरी त जान न हुन्या हींडेर लङ्का महाँ।।19।।


सब् राक्षस् कन मार्दथ्यौं यहि बखत् सागर् तरी पार् गया।

आपस्मा यति बात् परस्पर गरी जम्मा प्रभू थ्यैं भया।।

सीताजी कन संझि संझि रघुनाथ् ज्ञानस्वरूपी पनी।

लाग्या गर्न विलाप् अनेक् तरहले सीते कहाँ छौ भनी।।20।।


राम्को नाम फगत् लिन्या कन पनी सब् दुःख ताप् टर्दछन्।

आफैं श्रीरघुनाथलाइ पनि क्या सन्ताप् कतै पर्दछन्।।

सच्चित् रुप् परिपूर्ण अद्वितिय एक् आत्मा स्वरूपी पनी।

गर्छन् मानुष भै लिला पनि अनेक् सूखी र दुःखी बनी।।21।।


कुदि कुदि सब लङ्का पोलि फेर् पुत्र मारी।

बहुत विरहरूको सैन्य खुप् ध्वस्त पारी।।

गरि कन सब भेट्घाट् फेर् हनूमान् फिर्याको।

सुनि कन तहिं रावण् भै गयो नुर् गिर्याको।।22।।


उहि वखत महाँ त्यो मन्त्रणा गर्नलाई।

सब विर कन ताहाँ डाक्न जल्दी पठाई।।

वरि परि सब राखी मन्त्रि थ्यैं भन्न लाग्यो।

कसरि सहज उम्की त्यो हनूमान भाग्यो।।23।।


अब त जसरि मेरो हुन्छ सो हित् चिताऊ।

बुझि कन सबले एक् मन्त्रणा लौ बताऊ।।

तिमि सब कन नाघी काम सिद्ध्याइ भाग्यो।

म कन त हनुमान्का कामले लाज लाग्यो।।24।।


यति हुकुम सुनी सब् घोचिया झैं ति जाग्या।

अघि सरि सरि बिन्ती सेखिका गर्न लाग्या।।

किन बहुत हजुर्को तेहि राम् देखि शङ्का।

कसरि सहज जित्ला रामले आज लङ्का।।25।।


कति विनति गरौं धेर् इन्द्रजित् पुत्र जस्को।

छ त कसरि ति जित्छन् पुग्छ जोर् आज कस्को।

फगत हजुरका एक् पुत्रले इन्द्र जीत्या।

यहि बुझि अरु दिग्पाल्का समेत् सेखि बीत्या।।26।।


अधिपति मय हुन् सब् दैत्यका सो डरैले।

खुरु खुरु यहिं आई छोरि सुम्प्या करैले।।

अरु अब कहिं छन् क्या विर् हजूरै सरीका।

सब विर वश मै छन् ई तिनै लोक् भरीका।।27।।


अलिकति हनुमान्ले जो यहाँ वीर मार्यो।

कुदि कुदि सब लङ्का पोलि जो ध्वस्त पार्यो।।

उ त फगत यसैले गर्न क्या सक्छ भन्दा।

चुकि दिइ गरि हाल्यो फेरिको क्या छ धन्दा।।28।।


हुकुम दिनु हवस् लौ दस् दिशा वीर जाऊँ।

जति जति अघि सर्छन् मारि तिन्लाइ आऊँ।।

सकल पृथिविमाका वानरै छुट्टि गर्छौ।

सकल हजुरको ताप् एक् क्षणैमा त हर्छौ।।29।।


येती गर्व गरी सबै ति विरले बिन्ती गर्याको सुनी।

मेरो मत् पनि बिन्ति गर्दछु भनी आफ्ना मनैले गुनी।।

गर्छन् बिन्ति ति कुम्भकर्ण विरले हे नाथ् लियौ क्या मती।

सीता क्यान् हर्यौ चुक्यौ तिमि यहाँ कुन् हुन्छ तिम्रो गती।।30।।


श्रीराम्चन्द्रजिले अवश्य अघि नै देख्थ्या त एक्वाण् धरी।

तिम्रो प्राण लिन्या थिया तहिं कहाँ बाँच्थ्यौ तिमी एक् घरी।।

सीता चोरि हर्यौ र पो तिमि बच्यौ को टिक्छ साम्ने परी।

तेस्को फल् अब पाउँछौ अब भन्या मार्छन् कुलै साफ् गरी।।31।।


राम् जो हुन् प्रभु हुन् अनन्त अधिनाथ् चौधै भुवन्का धनी।

लक्ष्मी हुन् जगदम्बिका इ इनकी पत्नी सिताजी पनी।।

सब् राक्षस्हरु नाश् गराउन यहाँ सीता तिमीले हर्यौ।

साँचा हुन् इ कुरा अवश्य तिमिले आफ्नै बहुत् नाश् गर्यौ।।32।।


जुन् काम् गर्नु उचित् थियेन उहि काम् ऐल्हे गर्यौ ता पनी।

सब् हाम्रा भरले गर्यौ अधिक विर् छन् भाइ छोरा भनी।।

लड्छौं निश्चय भाइवर्ग पनि सब् हामी जती छौं यहाँ।

स्वस्थै भै रहनू हवस् हजुरले शोक् गर्नु पर्ला कहाँ।।33।।


तेस् कुम्भकर्ण विरले सब यो भन्याको।

श्रीरामलाइ परमेश्वरमा गन्याको।।

सून्यो र इन्द्रजित भन्छ हुकुम् म पाऊँ।

सेना समेत् सहज राम् कन मारि आऊँ।।34।।


यस्तै तहाँ विरहरू सब बिन्ति पार्थ्या।

केवल् गफै गरि मुखै तरवार मार्थ्या।।

श्रीरामभक्त ति विभीषण ताहिं आई।

बिन्ती गर्या बहुत हित् मनले चिताई।।35।।


श्रीरामजी सित विरोध् किन हो गर्याको।

सीताजिलाइ तिमिले किन हो हर्याको।।

श्रीरामचन्द्र कन सक्तछ जित्न कस्ले।

मार्या खर त्रिशिर दूषण वीर जस्ले।।36।।


ठूला भन्नु इ कुम्भकर्ण विर हुन् क्या चल्छ इन्को पनी।

सेखी गर्दछ इन्द्रजित् न बुझि यो राम्लाइ मार्छू भनी।।

सेखी गर्नु जती छ सब् यहिं गरुन् को टिक्छ साम्ने परी।

सब् राक्षस्हरु नाश् हुनन् जब तहाँ चेत्नन् चुक्याको घरी।।37।।


सीताजी ग्रह तुल्य भै कन सबै खाग् गर्न आँटिन् यहाँ।

यो प्राणान्त बखत् भयो अझ पनी चेत् छैन चेत् गो कहाँ।।

बाँच्नाको यदि मन् छ पो त महराज् श्रीरामजी थ्यैं गई।

सीता सुम्पि दिनू यही बखतमा सोझो र साम्ने भई।।38।।


श्रीराम्चन्द्रजि फौज् लिई कन यहाँ आई न लड्दै गया।

आयो आज शरण् पर्यो भनि बहुत् गर्नन् प्रभूले दया।।

चाँडै आज सिताजि सुम्पनु हवस् सीताजि लङ्का रही।

बाँची सक्नु कदापि छैन अरु थ्यैं काहीं शरण्मा गई।।39।।


हित् अम्रित् सरिको विभीषणजिको सून्यो वचन् यो जसै।

लिन्थ्यो त्यो इ कुरा कहाँ अधिक झन् रावण् रिसायो तसै।।

लाग्यो भन्न रिसाइ आज सुन यो शत्रू सरीको भयो।

मेरा शत्रु ति रामचन्द्र सित खुप् प्रित् बस्न यस्को गयो।।40।।


आफ्नू ज्ञाति बढ्यो भन्या अरु सबै ज्ञाती गिरोस् यो भनी।

भन्छन् निश्चय भन्दथ्या उहि छटा यस्ले जनायो पनी।।

ऐल्हे मारि दिन्या थियाँ अरु भया भाई भयो क्या गरू।

राक्षस्का कुलमा अधम् यहि भयो धिक्कार दिन्छू बरू।।41।।


मेरा आज नजीकमा रहनको लायेक् तँ छैनस् भनी।

धिक्कार् हो तँ अधम् भइस् भनि बहुत् धिक्कार दीयो पनी।।

धिक्कार्को यति बात् सुन्या र झटपट् श्रीराममा मन् दिई।

आकाश्मा झटपट् कुदी कन गया चार् मन्त्रि साथ्मा लिई।।42।।


लाग्या रावणलाइ भन्न महराज् हीतै भन्याँ ता पनी।

धिक्कार् पो तिमिले गर्यौ न बुझि झन् शत्रू त हो यो भनी।।

दाज्यू हौ पितुतुल्य छौ यति सही ऐल्हे फरक् लौ भयाँ।

खूसी भै तिमि राज् गर्या म त उनै राम्का शरण्मा गयाँ।।43।।


काली हुन् जगदम्बिका भगवती सीताजि राम् काल हुन्।

भूभार् हर्न निमित्त यो छ अवतार् बाँच्न्या छ पापी कउन्।।

श्रीराम्को मतलब् छ मार्न तब पो फिर्दैन तिम्रो मती।

काल् रुप् श्रीरघुनाथको अरु यहाँ को बुझ्न सक्छन् गती।।44।।


सब् राक्षस्कुलको हुन्या छ अब नाश् छोड्छन् प्रभूले कहाँ।

तिम्रो नाश् कसरी म देखुँ म त लौ जान्छू प्रभू छन् जहाँ।।

खूसी भै चिरकाल तक् गर यहाँ राज् खुप् चिरायू भया।

येती बिन्ति गरी विभीषण सबै छा़डेर राम् थ्यैं गया।।45।।


चार् मन्त्री सँग ली विभीषण गया श्रीरामका पासमा।

वाहाँ जान डराइ सम्मुख भया टाढै ति आकाशमा।।

हे नाथ् आज शरण् पर्याँ चरणमा आयाँ म सेवक् भनी।

उच्चा शब्द गरी गर्या विनति खुप् वृत्तान्त आफ्नू पनी।।46।।


हे राम् रावण कुम्भकर्ण विरको भाई विभीषण् म हूँ।

रावण् आज अधम् भयो हजुरमा विस्तार् कहाँ तक् कहूँ।।

सीता क्यान हर्यौ फिराउ भनि खुप् हीतै भन्या ता पनी।

झन् धिक्कार् गरि खड्ग ली कन उठ्यो काट्छू तँलाई भनी।।47।।


यस्तो रावणले गर्यो र रघुनाथ् आयाँ हजुर्मा म ता।

संसार् पार् सहजै उतार्छ जसले सो छोडि जानू कता।।

यस्तो बिन्ति सुन्या विभीषणजिको सुग्रीवजीले जसै।

रावण् कै छल झैं बुझ्या र झट्पट् बिन्ती गर्या यो तसै।।48।।


विश्वास् न मान्नु रघुनाथ् इ त दुष्ट पो हुन्।

गर्नन् इ औसर पर्या हुँदि जीयमा खुन्।।

मर्जी हवस् इ सब पक्डि निभाइ हालुम्।

भाई म हूँ पनि भन्यो उ छँदै छ मालुम्।।49।।


विश्वास् कत्ति न मानि बक्सनु हवस् सब् दुष्ट पो हुन् इ ता।

रावण् कै यदि भाइ हो त किन ढिल् मारौं न भन्छू म ता।।

जैले पर्दछ छिद्र उस् बखतमा मार्नन् इ दागा गरी।

मार्नालाइ हुकुम् हवस् सहजमा मारिन्छ येसै घरी।।50।।


मेरो मत् विनती गर्याँ हजुरको क्या मत् छ ख्वामित् भनी।

सुग्रिव्को विनती सुनेर रघुनाथ् हाँसेर बोल्या पनी।।

हे सुग्रीव सखे म आँटु त सबै लोक् ध्वस्त ऐल्हे गरी।

फेर् सृष्टी क्षणमा गरूँ सहजमा लाग्वैन एक् काल् घरी।।51।।


तस्मात् भक्त बुझेर निर्भय दियाँ आउन् ति ल्याऊ यहाँ।

उस् माथी पनि शत्रुदल् यदि भया मार्थ्या म छोड्थ्याँ कहाँ।।

शत्रूका इ त ओरि हुन् तर पनी आया शरण्मा यहाँ।

मेरा आज शरण् पर्या पनि भन्या तिन्लाइ छोड्छू कहाँ।।52।।


एकै बखत् पनि शरण् भनि जो मलाई।

संझेर पर्दछ शरण् त म तेसलाई।।

लिन्छू शरण् यदि उ शत्रु हवस् दयैले।

मेरो व्रतै छ यहि छोड्छु कसोरि ऐले।।53।।


श्रीराम्चन्द्रजिको हुकुम् यति हुँदा ल्याया विभीषण् पनी।

पौंचाया रघुनाथका हजुरमा ल्याई इनै हुन् भनी।।

श्रीराम्चन्द्रजिको विभीषणजिले पाया र दर्शन् तहाँ।

खुप् साष्टाङ्ग गरी प्रणाम् पनि गर्या पस्रेर पृथ्वी महाँ।।54।।


दर्शन् श्रीरघुनाथको जब मिल्यो खूसी विभीषण् भया।

जो ती दुःख थिये विभीषणजिका ताहीं तुरुन्तै गया।।

सर्वात्मा रघुनाथको स्तुति गर्या ईश्वर् इनै हुन् भनी।

सर्वात्मा रघुनाथ् स्तुती सुनि बहुत् खूसी हुनू भो पनी।।55।।


क्या माग्छौ वर माग दिन्छु म भनी हूकुम् भयेथ्यो जसै।

भक्ती मात्र थियो वहाँ मन महाँ त्यो भक्ति माग्या तसै।।

हे नाथ् भक्ति रहोस् सदा हजुरमा कैले न बिग्रोस् मती।

छोटै मान्छु म भक्ति देखि अरु चिज् यस् सृष्टिमा छन् जती।।56।।


तस्मात् कर्मविनाश गर्न कन एक् ध्यान् मात्र तिम्रो हवस्।

येतीले म कृतार्थ छू विषयसुख् सम्पूर्ण दूरै रहोस्।।

केवल् भक्ति मिल्या प्रसन्न छु भनी बिन्ती गर्याथ्या जसै।

होला लौ तिमिलाइ भक्ति भनि त्यो दीनू भयो वर् तसै।।57।।


जस्ले यो तिमिले गर्यौ स्तुति जती मेरो यती पाठ् गरोस्।

तेस्लाई यति वर् म दिन्छु सहजै संसारसागर् तरोस्।।

येती भक्त विभीषणै सित हुकुम् भो फेरि लङ्का महाँ।

राज् दिन्छू अहिले भनी कन लहड् आयो र मन्मा तहाँ।।58।।


भाई लक्ष्मणलाइ मर्जि पनि भो हे भाइ लङ्का महाँ।

राज् गर्नन् पछि ता पनी म अभिषेक् दिनू छ दिन्छू यहाँ।।

ल्याऊ जल् तिमि जाउ सागर भनी हूकुम् भयेथ्यो जसै।

दौडी सागरमा गई क्षण महाँ ल्याई दिया जल् तसै।।59।।


राजा भै तिमिले रहू अब उपर् लङ्कापुरीको भनी।

श्रीराम्चन्द्रजिले विभीषण उपर् दीया अभीषेक् पनी।।

लङ्काका अधिराज् विभीषण हुँदा सुग्रिव्हरू खुस् भया।

ताहीं सुग्रिवजी विभीषणजिका साम्ने नजिक्मा गया।।60।।


खूसी भै कन अङ्कमाल् पनि गरी सुग्रीव भन्छन् तहाँ।

सेवक् हौं सब रामका तर तिमी छौ मुख्य सब्मा यहाँ।।

यस् रावण् कन मार्नलाइ महराज् साहाय देऊ भनी।

सुग्रिव्ले यति बात् गर्या जब तहाँ बोल्या विभीषण् पनी।।61।।


हे सुग्रिव् महराज् सहाय दिनको क्या शक्ति मेरो यहाँ।

तिन्लोक्का अधिनाथ् परात्म रघुनाथ् आफैं खडा छन् जहाँ।।

दास् हूँ श्रीरघुनाथको म गरुँला सेवा त भर्सक् गरी।

यस्तै बात्चित गर्दथ्या दुत तहीं आयो अगाडी सरी।।62।।


रावण्को शुक दूत त्यो अघि सरी सुग्रीव साम्ने भई।

वाहीं जान त डर् भयो र डरले आकाश बिच्मा रही।।

लाग्यो सुग्रिवलाइ भन्न महराज् सुग्रिव् खराबी भयो।

राम् लक्ष्मण् सितको मिलाप् मसितको वैरी हुन्या मन् गयो।।63।।


भाई हो मितको जनाउनु असल् सम्झा तँ जा लौ भनी।

हूकुम् रावणको भयो र अहिले याहाँ म आयाँ पनी।।

तस्मात् रावणको हुकुम् सुन तिमी क्या काम आयौ यहाँ।

सब् लस्कर् लिइ फर्किजाउ तिमिले फेर् राजधानी महाँ।।64।।


लङ्का यो जिति सक्नु छैन अहिले इन्द्रादिले ता पनी।

वानर् पो तिमि हौ त क्या गरुँ कुरा यो स्थान् जितौला भनी।।

सीता जो अहिले हर्याँ त मइले श्रीरामकी पो हर्याँ।

भाई हौ मितका विरोध् न गर यो तिम्रो विराम् क्या गर्याँ।।65।।


मेरै भाइ समान हौ भनि बहुत् हित् जानि अर्ती दियाँ।

जो गर्छौ तर फर्कि जाउ म त हित् गर्दैछु गर्दै थियाँ।।

यस्तो रावणको हुकुम् छ महराज् येति भनेथ्यो जसै।

पक्र्या वानरले त खैंचि कन खुप् हान्या मुठीले तसै।।66।।


वानर्ले बहुतै फजित् जब गर्या हे राम् मर्याँ लौ भनी।

श्रीराम्चन्द्र सुनुन् भनेर शुकले साह्रै करायो पनी।।

दुत् हूँ मार्न उचित् त होइन प्रभो बिन्ती गरेथ्यो जसै।

कुट्नू छैन भनी हुकुम् हुन गयो सून्या र छोड्या तसै।।67।।


वानर् देखि छुट्यो जसै उहि बखत् कूदेर आकाश् गयो।

क्या उत्तर् दिनु हुन्छ पाउँ म जवाफ् जान्छू म भन्दो भयो।।

यस्को सुग्रिवले जवाफ् तहिं दिया मित्दाज्यु होस् तापनी।

बाली झैं गरि मारुँला अधम होस् भन्दीन दाज्यू पनी।।68।।


श्रीराम्चन्द्रजिकी सिता हरि कहाँ उम्केर जालास् उसै।

यस्तै रावण थ्यैं भन्यास् भनि भन्या सुग्रीवजीले तसै।।

यस्तो सुग्रिवले जवाफ् जब दिया राम्को हुकुम् भो तहाँ।

पक्डुन् वानरले न छोड अहिले क्यै दिन् रहोस् यो यहाँ।।69।।


श्रीराम्चन्द्रजिको हुकुम् यति हुँदा त्यो शूक बन्धन् पर्यो।

यस् भन्दा अघि आइ शार्दुल फिर्यो विस्तार् यसैले गर्यो।।

विस्तार् शार्दुल देखि रामबलको सून्यो र रावण् पनी।

चिन्तामा परि गै गयो अति ठुलो आयेछ लस्कर् भनी।।70।।


यै बिच्मा रघुनाथ् रिसाउनु भयो आयेन सागर् भनी।

लाल् लाल् नेत्र गराइ लक्ष्मणजिका साम्ने हुकुम् भो पनी।।

हे भाई तिमि हामिलाइ यसले सामान्य मानिस् गनी।

भेटै आज गरेन हेर तिमिले यस्को तमासा भनी।।71।।


सागर्शोषण गर्नलाइ धनु ली बाम् खैंचनू भो जसै।

कामिन् भूमि पनी भयङ्कर स्वरुप् राम्लाइ देख्ती तसै।।

चार् कोस् तक् त समुद्रको जल पुग्यो दस् दिक् अँध्यारा भया।

जो जन्तू जलमा थिया ति पनि ता सब् खल्बलाई गया।।72।।


यस्तो देखि डराइ सागर तहाँ सुन्दर् स्वरुप् एक् धरी।

भेटी खातिरलाइ रत्नहरु बेस् लीयेर झट्पट् गरी।।

श्रीराम्चन्द्रजिका गया शरणमा भेटी अगाडी धरी।

पाऊमा परि दण्डवत् पनि गर्या सब् सेखि सान् दुर् गरी।।73।।


हात् जोरी स्तुति बिन्ति धिर् गरि गर्या हे नाथ् म हूँ जड् यसै।

सीतानाथ् प्रभुलाइ जानु कसरी क्यै चेत् न पाई उसै।।

चेत् ऐले प्रभुले दिंदा हजुरमा आई शरण्मा पर्याँ।

रस्ता दिन्छु दया रहोस् म छु अनाथ् हात् जोरि बिन्ती गर्याँ।।74।।


सागर्का इ वचन् सुनी हुकुम भो साँचो भन्यौ ता पनी।

बाण्को थान् त खटाउना कन पर्यो यस्लाइ लौ हान् भनी।।

मेरो बाण् त अवश्य काम न गरी फिर्दैन ऐल्हे यसै।

ज्यान् राख्छौ त अवश्य देउ बदला टर्दैन यो बाण् कसै।।75।।


श्रीराम्चन्द्रजिको हुकुम् यति सुनी हात् जोरि बिन्ती गर्या।

पापी छन् द्रुमकुल्यमा अहिर हुन् उत्तर् दिशामा पर्या।।

ठाकुर्का यहि बाणले जति ति छन् पापी सबै नाश् गरोस्।

यस् काम्ले म अनाथ् गरिब् हजुरका दास्को सबै ताप् हरोस्।।76।।


यति विनति गर्याको सूनि खुप् हर्ष मानी।

सकल हरि दिनू भो तेहि बाण् जल्दि हानी।।

रिस सित गइ बाण्ले पापिको नाश् गराई।

सकि कन फिरि ठोक्रैमा पर्यो बाण आई।।77।।


यै बिच्मा ति समुद्रले चरणमा पस्रेर बिन्ती गर्या।

कीर्ति खुप् रहन्याछ सेतु बलियो हालेर लस्कर् तर्या।।

सेतू बाँधनमा समर्थ नल छन् इन्ले त वर्दान् पनी।

पायाको छ इ विश्वकर्मसुत हुन् बाँधुन् इ सेतू भनी।।78।।


येती बिन्ती गरेर पाउ परि फेर् सागर् अदृश्यै भया।

सागर्को विनती सुनी नल पनी राम्का हजुर्मा गया।।

हूकुम् भो नललाइ सेतु तिमिले चाँडै बनाऊ भनी।

लस्कर् साथ लिया र जल्दि नलले सेतू बनाया पनी।।79।।


खुसि भइ नलले सब् वीरको तेज् जगाई।

वरि परि जति छन् सब् वृक्ष पर्वत् मगाई।।

अघि सरि कन सेतू बाँध्न लाग्या जसै ता।

शिव भनि रघुनाथ्ले मूर्ति थाप्या तसै ता।।80।।


रामेश्वर् भनि नाम् चलोस् अब उपर् सङ्कल्प याहाँ लिई।

गङ्गाजल् लिन काशि गै कन उ जल् ल्याई नुहाई दिई।।

फ्याँक्ला कामरु त्यो समुद्रजलमा जस्ले बगोस् यो भनी।

त्यो जन् मुक्त हवस् भनेर रघुनाथ्को यो हुकुम् भो पनी।।81।।


बाँध्या सेतु छपन्न कोस पहिले दिन् दोसरा दिन् असी।

कोस् चौरासि सक्या तृतीय दिनमा कम्मर् सबैले कसी।।

कोस् अट्ठासि सक्या चतुर्थ दिनमा बाँकी बयानब्य कोस्।

पाँचौं दीन महाँ सक्या नजर भो निस्केन एक् काँहि दोष्।।82।।


तेही मार्ग गरेर फौज् सब तर्यो ढाक्यो त्रिकुट् पर्वतै।

टापू ढाकि दियो रहेन बिचमा खाली भन्याको कतै।

भाईलाइ चढाइ अङ्गद महाँ आफू हनूमान् महाँ।

चढ्नू भो रघुनाथ् र जानु पनि भो थीयो जगा उच् जहाँ।।83।।


ताहीं गै कन त्यो विचित्र नगरी लङ्कै नजर् भो जसै।

त्यो रावण् पनि कौसिमा गइ तमास् हेर्थ्यो नजर् भो तसै।।

यै बिच्मा शुकलाइ छोडि दिनु भो दौडेर त्यो शुक् गयो।

रावण् सीत तुरुन्त गै कन सबै विस्तार गर्दो भयो।।84।।


ऐल्हे हे महराज् गयाँ हजुरको हूकुम् हुनाले तहाँ।

बाँध्या वानरले पर्याँ सकसमा आऊँ कसोरी यहाँ।।

ऐल्हे पो रघुनाथका हुकुमले छोडी दिया जा भनी।

बाँच्या बल्ल भनेर हर्ष सित खुप् दौडेर आयाँ पनी।।85।।


आयो फौज् रघुनाथको अति ठुलो याहीं समुद्रै तरी।

जीती सक्नु कठिन् हुन्या छ बलले ऐल्हे लडाई गरी।।

सीताजी लगि रामका शरणमा की आज पर्नू हवस्।

लड्नै मन् छ भन्या तुरुन्त अब लौ सङ्ग्राम गर्नू हवस्।।86।।


राम्को एक् समचार् म भन्दछु हरिस् सीता कउन् मत् लिई।

सङ्ग्राम् गर्न अगाडि सर् बखत भो साम्ने मुहूँडा दिई।।

भोली ध्वस्त गराउँछू अघि खबर् दीयाँ उचित् हो भनी।

हाँकी भन्छू तँलाइ छोडिन यसै मैले न मारी पनी।।87।।


रावण्लाइ सुनाउनू यति थियो हे शुक् सुनाई दियास्।

तैं जान्छस् त पठाउँ को अरु तहाँ तैंले मनैमा लियास्।।

यस्तो श्रीरघुनाथको हुकुम भो भन्नू समाचार् भनी।

साँचो बिन्ति गरी सक्याँ उ समचार् मैले हजुर्मा पनी।।88।।


मेरो बुद्धि म बिन्ति गर्छु अहिले राम् हुन् जगत्का पती।

जीती सक्नु कदापि छैन अरुले क्या भो हजुर्को मती।।

सीता आज लगेर सुम्पनु हवस् राम्का चरण्मा परी।

बाँच्न्या येति उपाय देख्छु नहिं ता आयो मरण्को घरी।।89।।


यो बिन्ती शुकले गर्यो र सुनि खुप् रावण् रिसायो तहाँ।

लाग्यो भन्न मलाइ पाजि शुक यो अर्ती दिन्या भो यहाँ।।

औरै कोहि भया त निश्चय यहीं मारी दिन्या पो थियाँ।

यस्का गुण् अघिका थिया र गुणले बाँचिस् बिदा जा दियाँ।।90।।


रावण्ले शुकलाइ जा भनि तहाँ बीदा जसै ता दियो।

त्यो शुक् ब्राह्मण हो अघी पछि सराप् पर्दा तहाँ त्यो थियो।।

राक्षस् हूनु सराप् पनी तहिं छुट्यो बीदा तुरुन्तै भयो।

रावण् देखि बिदा भयो र पछि ता शुक् ब्राह्मणै भै गयो।।91।।


ब्राह्मण् हुन् घरमा थिया शुक ऋषी एक् दिन् अगस्ती गया।

भोजन् दिन्छु अगस्तिलाइ म भनी निम्ता ति गर्दा भया।।

स्नान्पानी गरि आउँछू तब भनी हींड्या अगस्ती जसै।

आयो राक्षस वज्रदंष्ट्र रिसले पायो र अन्तर् तसै।।92।।


जस्तो रुप् छ अगस्तिको उहि स्वरुप् धार्यो र बोल्यो पनी।

मासू खान मलाइ देउ तिमिले इच्छा छ मेरो भनी।।

यस्तो छल् पहिले गर्यो र पछि फेर् खान्या बखत्मा पनी।

मासू मानिसको लगी मिसि दियो ठिक् शुक् कि पत्नी बनी।।93।।


भाग् देख्ता ति अगस्तिका रिस उठ्यो दीया सरापै पनी।

मासू मानिसको दिइस् तँ त भयास् राक्षस् अवश्यै भनी।।

शुक्ले बिन्ति गर्या खबर् हुन गयो यो छल् पर्याको जसै।

चाँडै छुट्टि हुन्या अगस्ति ऋषिले वेला बताया तसै।।94।।


हे शुक् राम् अवतार् हुन्या छ बस लौ रावण् कहाँ गै तहीं।

राम्को दर्शन पाउला तहीं सराप् छुट्ला न जाऊ कहीं।।

यस्तो अर्ति अगस्तिको सुनि उसै माफिक् गर्याका थिया।

राम्का दर्शनले सराप् छुटि गयो फेर् वृत्ति आफ्नै लिया।।95।।


रावण्की महतारिको पनि पिता हूँ हित् म भन्छू भनी।

रावण्का नजिकै गई कन भन्यो हित् माल्यवान्ले पनी।।

राम् नारायण हुन् सिता पनि उनै लक्ष्मी पनी ज्ञानले।

सीता सुम्पिदि हाल राख मनमा पूजा गरी ध्यानले।।96।।


उल्का हुन्छ अनेक् अनेक् सहरमा उत्सव् भन्याको रती।

काँहीं छैन बताउँ यो म महराज् याहाँ हजुर्मा कती।।

तस्मात् बिन्ति छ यो बहुत् हजुरमा हित् जानि लीनू हवस्।

सीतानाथ् कन ईश्वरै बुझि सिता सुम्पेर दीनू हवस्।।97।।


यो बिन्ती सुनि माल्यवान् सित बहुत् रावण् रिसायो तहाँ।

लाग्यो भन्न रिसाइ आज तिमि क्या बोल्छौ बुढा भै यहाँ।।

क्याले राम् परमेश्वरै भनि भन्यौ मानिस् त हुन् ती पनी।

लिन्छन् वानरको सहाय कसरी जानू त ईश्वर् भनी।।98।।


तिम्रा बात् सुनि चित्त पोल्छ तिमि ता जाऊ घरैमा भनी।

मन्त्रीवर्ग लगाइ साथ घरमा जल्दी पठायो पनी।।

रावण् उच्च अटालिमा बसि कती आया बडा विर् भनी।

हेर्दै लड्न खतम् गरी कन हुकुम् दिन्थ्यो लडुन् विर् भनी।।99।।


देख्नू भो रघुनाथले र तहिं बाण् छोडी दिनू भो जसै।

तेस् बाण्ले दस छत्र दस् मुकुट सब् काटी खसाल्यो तसै।।

आफ्ना छत्र र दस् मुकुट् जब गिर्या लाज् मानि रावण् पनी।

ओर्ल्यो जल्दि अटालि देखि र गयो हान्नन् इ फेरी भनी।।100।।



दर्बार् भित्र पसी हुकुम् पनि दियो लौ लड्न जाऊ भनी।

निस्क्या लड्न भनी प्रहस्तहरु विर् छोपेर भूमी पनी।।

राँगा उँट् गदहा र सिंहहरुमा विर् विर् सवारी भया।

नाना शस्त्र र अस्त्र ली कन अनेक् विर् लड्न जल्दी गया।।101।।


चार्ढोका तिर बाट निस्कि कन फौज् साम्ने भयेथ्यो जसै।

वानर्ले नजिकै गई कन जगा घेरी लिया सब् तसै।।

रावण्को सब फौज निस्कन तहाँ पायेन ठाऊँ पनी।

गर्जन्छन् सब वीर वानरहरू राम्चन्द्र जित्छन् भनी।।102।।


यस्तै रित् सित घेरि हान्न पनि सब् लाग्या ति वानर्हरू।

राक्षस्को पनि फौज् हटेन डरले प्राण त्यज्न लाग्यो बरू।।

सङ्ग्राम् यस् रितले जसै हुन गयो ताहाँ ति वानर् भन्या।

श्रीराम्को करुणाकटाक्ष हुन गो अत्यन्त योद्धा बन्या।।103।।


राक्षस् तर्फ भन्या घट्यो बल सबै ठूला ठुला विर् मर्या।

मार्या वानरले ति राक्षस सबै चौथाइ बाँकी गर्या।।

आफ्नू फौज् सब नष्ट देखि कन विर् साह्रै लडाकी सुरो।

आयो इन्द्रजितै म लड्दछु भनी सर्वास्त्रमाको पुरो।।104।।


वानर्का सब फौजलाइ हतियार् छाडेर मर्दन् गर्यो।

श्रीराम्ले पनि ब्रह्मपाश् अति ठुलो जान्नै र मान्नै पर्यो।।

एक् छिन् चप् रहनू भयो र रघुनाथ् फेरी तयारी भई।

ऐले मार्दछु मेघनाद् कन भनी साम्ने उसैका गई।।105।।


माग्नू भो धनु देउ लक्ष्मण भनी श्रीरामजीले जसै।

मार्छन् की भनि मेघनाद डरले फर्केर भाग्यो तसै।।

भाग्दामा प्रभुजी मुसुक्क मनले हाँसेर भन्छन् अनी।

यो बच्चा पनि जोरि खोज्न म कनै चाहन्छ कच्चा भनी।।106।।


पृथिवितल गिर्याका विर् बचाऊनलाई।

हुकुम प्रभुजिको भो विर् हनूमानलाई।।

ढिल न गर हनूमन् क्षीर सागर् छ जाऊ।

तहिं छ अगम पर्वत् द्रोण लीयेर आऊ।।107।।


बखति तहिं छ तेही ख्वाइ यो फौज् बचाऊ।

यति गरि शुभ कीर्ति दस् दिशामा नचाऊ।।

हुकुम सुनी तुरुन्तै द्रोण लीयेर आया।

पृथिवि तल गिर्याका वीरलाई बचाया।।108।।


यति गरि हनुमान्ले कीर्तिले लोक छाया।

फिरि लगि उहि पर्वत् द्रोण राखेर आया।।

जब त बखति पाई होस भो वानरैका।

तब त भइ खुसालु नाच्न लाग्या सबै ता।।109।।


लाग्यो वानरसैन्य गर्जन यसै बिच्मा र रावण् तहाँ।

लाग्यो भन्न मलाइ मार्न बलवान् यो शत्रु आयो यहाँ।।

जाऊ लौ अतिकाय विर्हरु तहाँ खुप् लड्न कम्मर् कस्या।

मान्र्या छू तिमिलाइ निश्चय न गै याहीं घरैमा बस्या।।110।।


हूकुम् यो अतिकाय वीरहरुले सून्या र कम्मर् कसी।

पौंच्या वानर सैन्य मार्न हतियार् छोड्या अगाडी बसी।।

वानर्ले पनि वृक्ष पर्वत मुठी दाह्रा नखैले गरी।

रावण्का बलको विनाश् गरि दिया ताहाँ अगाडी सरी।।111।।


मार्नू भो रघुनाथले कति तहाँ सुग्रीवजीले कती।

अङ्गद् श्रीहनुमान लक्ष्मण इनै विर्ले गिराया कती।।

श्रीराम्को करुणाकटाक्ष हुन गै वानर् बलीया भया।

राक्षस्मा करुणा भयेन र तहाँ राक्षस् मरी गै गया।।112।।


सर्वेश्वर् सर्वरूपी प्रभु कन यसरी लड्न पो क्यान पर्थ्यो।

वाग्बाण् एक् छोडि दीया पनि त ति रिपुको नाश् उसैले त गर्थ्यो।।

मायाले सच्चिदात्मा नर भइ नरका शुद्ध लीलादि गर्छन्।

जुन् लीलाले त पापी अधम पतितका पाप सन्ताप हर्छन्।।113।।


रावण्ले अतिकाय वीरहरुका फौज् मारियाको जसै।

सून्यो दुःख पर्यो र पूर्ण रिसले खुप् लड्न आँट्यो तसै।।

सुन्दर् एक् रथमा चढ्यो र हतियार् शस्त्रास्त्र सब् थोक् लिई।

लङ्कारक्षण गर्नु इन्द्रजितले भन्न्या हुकुम् यो दिई।।114।।


केही फौज् पनि साथमा लिइ गयो श्रीरामजी छन् जहाँ।

रोक्या वानरसैन्यले र रिसले मार्यो अनेक् विर् तहाँ।।

सुग्रीवादि बडा बडा जति थिया विर् विर् तिनैले पनी।

जीती सक्नु भयेन सब् कन जित्यो पार्यो जमिन्मा पनी।।115।।


देख्यो विभीषणजिलाइ गदा लियाका।

श्रीरामका चरणमा दृढ मन् दियाका।।

झन् मुख्य शत्रु त यहीं छ भनेर ठान्यो।

साह्रै रिसाइ कन शक्ति उठाइ हान्यो।।116।।


आयो शक्ति तहाँ विभीषणजिको प्राण् खैंचन्या सुर् गरी।

लक्ष्मण्ले तहिं झट् बचाउनु भयो आफू अगाडी सरी।।

शक्ती लक्ष्मणलाइ बज्रन गयो लक्ष्मण्जि मूर्छा पर्या।

मूर्छा पर्नु कहाँ थियो प्रभुजिले चेष्टा नरैको गर्या।।117।।


लक्ष्मण्लाइ उठाउना कन तहाँ दौडेर रावण् गयो।

सक्थ्यो रावणले उठाउन कहाँ आश्चर्य मान्दो भयो।।

लक्ष्मण्लाइ उठाउन्या बखतमा देख्या उठ्यो रिस् पनी।

यै बिच्मा हनुमान् गया नजिकमा रावण् गिराऊँ भनी।।118।।


हान्या वज्र समानको र मुठिले बज्र्यो मुठी त्यो जसै।

रावण् हो बलवान् तथापि रगतै छाद्दै गिर्यो पो तसै।।

लक्ष्मण् श्रीहनुमान देखि खुसि भै साह्रै हलूका भया।

लक्ष्मण्लाइ उठाइ जल्दि हनुमान् राम्चन्द्रजी थ्यैं गया।।119।।


लक्ष्मण् नारायणै हुन् भनि बुझि डर भै शक्तिले छाडि दीयो।

रावण् मूर्छा पर्याको पनि उठि उ बखत् फेर् धनुर्बाण लीयो।।

सीतानाथ् श्रीजगन्नाथ् प्रभु पनि हनुमान् वीरका पीठ माहाँ।

चढ्नू भो लड्न मन्सुब् गरिकन लिनु भो फेर् धनुर्बाण ताहाँ।।120।।


टङ्कार् खुप् धनुको गरी हुकुम भो उम्केर जालास् कहाँ।

तेरा बन्धु निभाइ यो रण महाँ मार्छू तँलाई यहाँ।।

रावण्ले इ वचन् सुन्यो र बिजवाफ् भै रिस् मनैमा लियो।

हान्यो श्रीहनुमानलाइ शरले घाऊ लगाई दियो।।121।।


घाऊ श्रीहनुमानका शरिरमा देख्नू भयेथ्यो जसै।

साह्रै रिस् उठि काल रुद्र सरिका ठाकुर् हुनू भो तसै।।

घोडा रथ् ध्वज सूत शस्त्र धनु सब् छत्रै पताकै पनी।

काटी रावणलाइ हान्नु पनि भो मूर्छा परोस् यो भनी।।122।।


लाग्यो बाण् रघुनाथको र तहिं त्यो मूर्छा तुरुन्तै पर्यो।

हातैमा धनु थाम्न शक्ति न हुँदा हात् देखि भैंमा झर्यो।।

यै बिच्मा सिरको किरीट शरले काटी खसाली दिया।

रावण्का सब सेखि सान् प्रभुजिले खैंचेर ताहीं लिया।।123।।


बाधा रावणलाइ खुप् सित भयो बीदा प्रभूले पनी।

ऐल्हे जा घरमा भनी दिनु भयो भोली लडौंला भनी।।

सेखी सान् रति भर् तहाँ न रहँदा रावण् मर्या झैं भयो।

लाज् मानी कन लड्न शक्ति न हुँदा फर्केर लङ्का गयो।।124।।


लक्ष्मण् मूर्छित झैं भया र रघुनाथ् शोक् गर्न लाग्या हरी।

जस्तो मानिस गर्छ सोहि रितका चेष्टा अनेकै गरी।।

लक्ष्मण्लाइ बचाउ फेरि हनुमान् ली आउ औषध् भनी।

हूकुम् यो रघुनाथको तहिं हुँदा दौड्या हनूमान् पनी।।125।।


औषध् लीन गया जसै त हनुमान् चाल् पाइ रावण् पनी।

रात्रीमा उठि कालनेमि सित गो क्यै विघ्न पारूँ भनी।।

राजा रावणलाइ रात्रि बिचमा देख्यो अकस्मात् जसै।

सम्मान् खुप् गरि ताहिं हाजिर रह्यो त्यो कालनेमी तसै।।126।।


मैले क्या गरुँ कीन आउनु भयो यो राति एक्लै यहाँ।

यो बिन्ती सुनि कालनेमि सित सब् विस्तार् बतायो तहाँ।।

यस्तो भो सुन कालनेमि अहिले लक्ष्मण् गिर्याका थिया।

तिन्लाई पनि फेर् बचाउन ठुलो राम्चन्द्रले सुर् लिया।।127।।


औषध् लीन भनेर आज हनुमान् द्रोणाचलैमा गयो।

औषध् ल्याउन विघ्न पार तिमिले लौ जाउ बेला भयो।।

मायाले मुनि वेष् धरेर हनुमान्लाई भुलाऊ गई।

सक्न्या छौ तिमिले भुलाउन ठुला योगी सरीका भई।।128।।


यस्तो रावणले हुकुम् जब दियो लौ विघ्न गर् जा भनी।

राम् ईश्वर् बुझि कालनेमि विरले क्यै बिन्ति पार्यो पनी।।

येती हित् बुझि बिन्ति गर्छु अधिराज् हीतै भन्यो यो भनी।

मेरो बिन्ती सधाइ बक्सनु हवस् होला ठुलो हित् पनी।।129।।


ज्यान्को आस् पनि कत्ति छैन अधिराज् दीन्यै छु यो ज्यान् पनी।

जीतीन्या तर छैन जान इ त हुन् चौधै भुवन्का धनी।।

भाई बन्धु मराइ बाँचि कन पो क्या सोख् छ राजा भई।

ईश्वर् हुन् पर रामका शरणमा ऐल्हे तुरुन्तै गई।।130।।


सीता सुम्पि दि हाल राज्य पनि यो देऊ विभीषण् गरुन्।

खूसी भै कन आज देखि रघुनाथ् तिम्रा विपत्ती हरुन्।।

जाऊ लौ वनमा र लेउ मनमा आत्मै विचार्को मती।

मायाले त भुलाउँछिन् जगत्मा यस्तै छ तिन्को गती।।131।।


आत्मा चिन्न अवश्य पर्च महराज् एकाग्र भै ध्यान् गरी।

आत्मा चिन्न समर्थ होइ न सक्या राम् भज्नु एक् मन् गरी।।

कौस्तुभ् हार किरीट केयुर अनेक् भूषण् शरिर्मा धरी।

आफ्ना यै हृदयारविन्द बिचमा राखेर खुप् ध्यान् गरी।।132।।


सीताराम् कन भज्नु पर्छ अधिराज् राम् हुन् जगत्का पती।

ईश्वर् जानि अवश्य छोड तिमिले यस्तो विरोध्को मती।।

येती बिन्ति गरेर चुप् भइ रह्यो त्यो कालनेमी तहाँ।

अम्रित् तुल्य वचन् सुन्यो त पनी त्यो लिन्थ्यो अधम्ले कहाँ।।133।।


रावण्ले त रिसाइ तेस् कन तहाँ झन् मार्न मन्सुब् धर्यो।

मान्र्यै मन् बुझि कालनेमि विरले फेर् बिन्ति ताहाँ गर्यो।।

यस्तो क्यान रिसानि हुन्छ अधिराज् ऐल्हे तहाँ मै गई।

सर्कार्को सब काम बन्दछ भन्या जान्छू तयारी भई।।134।।


येती बिन्ति गरेर तेहि बिचमा ऊठेर दौड्यो पनी।

लाग्यो गर्न उपाय फेरि हनुमान् फिर्नै न पाउन् भनी।।

रस्तामा गइ एक् तपोवन असल् तेस्ले तयारी गर्यो।

मायाले फुलका र फल् सहितका वृक्षादिले वन् भर्यो।।135।।


एक् आश्रम् पनि कल्पना तहिं गर्यो आफू मुनीश्वर् बनी।

तेसै आश्रममा बस्यो म हनुमान्लाई छलूँला भनी।।

तेस्का शिष्य अनेक् थिया वरिपरी ताहीं हनूमान् गया।

क्या देख्याँ अघि आश्रमै पनि यहाँ थीयेन भन्दा भया।।136।।


कस्को आश्रम हो बुझी जल पिई जाँला म जल्दी भनी।

बुझ्नै खातिर तेहि आश्रम विषे पौंच्या हनूमान् पनी।।

योगी झैं भइ कालनेमि शिवको पूजा विधान्ले गरी।

कुन् रित्ले हनुमानलाइ ठगुँला भन्न्या इरादा धरी।।137।।


थीयो आश्रम भित्र दर्शन गरूँ भन्न्या इरादा धर्या।

योगेश्वर् बुझि भक्ति राखि हनुमान्ज्यूले नमस्कार् गर्या।।

दुत् हूँ श्रीरघुनाथको म हनुमान् भन्छन् मलाई पनी।

औषध् ल्याउनको हुकुम् प्रभुजिको हूँदा म आयाँ भनी।।138।।


सब् वृत्तान्त गर्या र जल् पिउनको इच्छा बहूतै थियो।

खोज्या जल् हनुमानले र खुसि भै तेस्ले तहाँ जल् दियो।।

आऊ फल् फुल खाउ पीउ हनुमान् ठण्डा छ यो जल् पनी।

साह्रै हत्पत गर्नु छैन तिमिले कैल्हे म जाँला भनी।।139।।


योगी हूँ सब जान्दछू म अहिले राम्ले नजर् खुप् गरी।

लक्ष्मण्लाइ बचाइ बक्सनु भयो सम्पूर्ण बाधा हरी।।

वानर्को पनि फौज् खडा सब भयो येती भनेथ्यो जसै।

तिर्खा मेटिइन्या न देखि जलले बोल्या हनूमान् तसै।।140।।


तिर्खा ज्यादि छ जल् कमी छ यतिले मेट्तैन तिर्खा पनी।

धेरै जल् छ कहाँ बताउनु हवस् वाहाँ म खाँला भनी।।

सून्यो श्रीहनुमानका र इ वचन् क्वै एक् तलाऊ थियो।

त्यो देखाउनलाइ एक अगुवा शिष्यै पठाई दियो।।141।।


ऐल्हे जाउ र जल् पियेर हनुमन् फर्केर आऊ यहाँ।

केही मन्त्र म दिन्छु त्यो सुनि गया मिल्न्या छ औषध् तहाँ।।

सून्या श्रीहनुमानले र इ वचन् बेस् हो हवस् लौ भनी।

पौंच्या जल्दि तलाउमा र हनुमान् विर्ले पिया जल् पनी।।142।।


ताहाँ तेहि तलाउ भित्र मकरी क्वै एक् बस्याकी थिई।

खैंची श्रीहनुमानलाइ निलुँला भन्न्या ठुलो सुर् लिई।

च्यापू च्याति पछारि ताहिं मकरीलाई निभाया जसै।

स्त्रीको सुन्दर रूप् बन्यो र विनती त्यो गर्न लागी तसै।।143।।


स्वर्गैमा म त अप्सरा अघि थियाँ नाम् धान्यमाली थियो।

ब्राह्मण्का त सरापले मकरिको रुप् यो बनाई दियो।।

तेसै रुप् कन मारि बक्सनु हुँदा आपत्ति मेरी गई।

जान्छू स्वर्ग विषे म फेरि हनुमन् जस्ता कि तस्ती भई।।144।।


अर्को बिन्ति म गर्छु अर्ति सरिको त्यो हो हजुर्को खुनी।

जस्लाई मुनि भन्नु हुन्छ हनुमन् थीयो कहाँ त्यो मुनी।।

औषध् लीन गयेछ आज हनुमान् लौ विघ्न गर् जा भनी।

रावण्ले उपदेश् दियो र बलवान् त्यो कालनेमी पनी।।145।।


विघ्नै गर्न भनेर आइ अहिले त्यो चाल तेस्ले गर्यो।

तेस्लाई तहिं मार औषधि पनी ली जाउ बेला पर्यो।।

यो बिन्ती गरि इन्द्रका हजुरमा त्यो धान्यमाली गई।

आश्रम्मा हनुमान् फिर्या उहि बखत् केही न जान्न्या भई।।146।।


देख्यो श्रीहनुमानलाइ नजिकै आई पुग्याका जसै।

मेरो काम् अब सिद्ध गर्दछु भनी त्यो बोल्न लाग्यो तसै।।

ऐल्हे दिन्छु म सिद्ध मन्त्र हनुमन् यो मन्त्र लेऊ पनी।

देऊ लौ गुरुदक्षिणा पनि ठुला मेरा गुरू हौ भनी।।147।।


छल्छाम्का इ वचन् सुन्या र हनुमान् विर्का उठ्यो रिस् पनी।

हान्या मुड्कि उठाइ तेहि बीचमा लौ दक्षिणा ले भनी।।

पायो चोट् तहिं मुड्किको र मुनिवेष् तेस्को तुरुन्तै गयो।

जस्तो राक्षसको स्वरुप् अघि थियो सोही स्वरुप्को भयो।।148।।


माया राक्षसका अनेक् तरहका त्यो गर्न लाग्यो जसै।

हान्या मुड्कि उठाइ फेरि सिरमा ताहीं मर्यो त्यो तसै।।

येती कर्म गरेर जल्दि हनुमान् द्रोणाचलैमा गया।

पर्वत् बोकि तुरुन्त फर्कि सहजै दाखिल् प्रभू थ्यैं भया।।149।।


खूसी खुप् रघुनाथ् तहाँ हुनु भयो औषध् सुषेण्ले गर्या।

बाधा लक्ष्मणका सबै जति थिया त्यै औषधीले हर्या।।

रावण् माथि दगा धरेर सहजै लक्ष्मण् उठ्याथ्या जसै।

बाँच्या भाइ दया गर्यौ र हनुमन् भन्न्या हुकुम् भो तसै।।150।।




सङ्ग्राम्को मतलब् गरेर हनुमान् साम्ने हुनू भो तहाँ।

वानर्को पनि फौज् सबै अघि सर्यो ऊ झन् रहन्थ्यो कहाँ।।

जस्तै सर्प गिराउँछन् गरुडले सोही तमासा गरी।

रावण्लाइ गिराइ बक्सनु हुँदा गीरेर मूर्छा परी।।151।।


ऊठी दुःख बहूत पाइ मनले हारी गयाको थियो।

श्रीराम्चन्द्रजिको प्रचण्ड बल सब् बूझी लहड् खुप् लियो।।

बेस् सिंहासनमा बसी सकल विर् राखी सभी खुप् गरी।

लाग्यो भन्न म मर्छु हेर विर हो राम्का अगाडी परी।।152।।


राम् नारायण हुन् अवश्य बुझियो चौधै भुवन्का धनी।

मानिस्को अवतार् लिया प्रभुजिले मार्छन् मलाई पनी।।

मानिस् देखि त मर्न पर्छ मइले ब्रह्माजिको वर् छ यो।

मानिस् भै रघुनाथ् सर्या अघि भन्या काल् टार्न सक्न्या छ को।।153।।


राजा विर् अनरण्य सूर्यकुलमा क्वै एक् महात्मा थिया।

मैले व्यर्थ विरोध् गर्याँ र उ बखत् तिन्ले सराप् पो दिया।।

मेरा वंश महाँ अवश्य अवतार् नारायणैले लिनन्।

तेरो राक्षसवंश मारि सहजै तैंलाइ मारी दिनन्।।154।।


दीया येति सराप् र तेस् बखतमा राजा बिती पो गया।

सोही पूर्ण गराउना कन यहाँ श्रीराम् तयारी भया।।

आया श्रीरघुनाथ् मलाइ अहिले मार्नै इरादा धरी।

मार्छन् निश्चय आज मर्छु सहजै राम्का अगाडी परी।।155।।


भाई मूर्ख छ कुम्भकर्ण अझ तक् यस्तो पर्यो ता पनी।

सूतेको छ उठाइ ल्याउ अहिले चाँडो हुकुम् भो भनी।।

हूकुम् पाइ बडा बडा विर गया ल्याऔं उठाई भनी।

पौंची जल्दि उठाइ झट् हजुरमा ल्याई पुर्याया पनी।।156।।


पाऊमा परि कुम्भकर्ण बलावान् साम्ने बसेथ्यो जसै।

रावण्ले पनि दिन् वचन् गरि सबै विस्तार् सुनायो तसै।।

हे भाई सुन कुम्भकर्ण अहिले आपत् मलाई पर्या।

छोरा नाति समेत् बडा विरहरू ऐल्हे बहूतै मर्या।।157।।


प्राण्को अन्त्य हुन्या बखत् भइ गयो बाँच्न्या उपायै कहू।

राम् शत्रू बलवान् बुझिन्छ तिमि लौ साह्रै चनाखा रहू।।

गम्भिर् येहि समुद्रमा पनि सहज् साँघू लगाई तर्या।

वानर्का सब फौज् समेत् तरि यहाँ धेर् वीरको नाश् गर्या।।158।।


वानर् देख्छु म विर् अनेक् तरहका सूरा लडाकी बडा।

हाम्रा लस्करमा अनेक् विर मर्या वानर् सबै छन् खडा।।

तिन्को नाश् गरि सक्नु देख्तिन यहाँ कौनै उपाई गरी।

नाश् तिन्को तिमिले गराउ अहिले चाँडो अगाडी सरी।।159।।


रावण्ले इ वचन् विलाप सरिका बोली सकेथ्यो जसै।

हाँस्यो खुप् सित कुम्भकर्ण र तहाँ बिन्ती गर्यो साफ् तसै।।

मैले क्या गरुँ बिन्ति आज अधिराज् पैल्हे गर्याथ्याँ पनी।

राम् नारायण हुन् सिता प्रभुजिकी हुन् योगमाया भनी।।160।।


मेरो बिन्ति सधेन उस् बखतमा झन् खुप् रिसानी भयो।

तेसैको फल हो अवश्य अधिराज् जो मन्त्रिको ज्यान् गयो।।

एक् दिन् पर्वतका उपर् शिखरमा थीयाँ म रात्री महाँ।

नारद्जी कन मध्य रात्रि बिचमा देख्याँ अकस्मात् तहाँ।।161।।


सोध्याँ आउनु भो हजुर् किन यहाँ जानू छ काहाँ भनी।

मेरो बिन्ति सुनेर सब् ति ऋषिले विस्तार् बताया पनी।।

विस्तार् लौ सुन कुम्भकर्ण अहिले जीतेर सब् लोक् लियो।

इन्द्रादीहरुलाइ दुःख तिमिले अत्यन्त साह्रै दियौ।।162।।


सब् इन्द्रादि ति विष्णुका हजुरमा पौंची शरण्मा पर्या।

यस् रावण् कन मारि देउ भगवन् भन्न्या त बिन्ती गर्या।।

ब्रह्माको वरदान् छ मर्नु तइँले मानीस देखी भनी।

मानिस् भै कन मारि बक्सनु हवस् मन्र्या छ रावण् पनी।।163।।


येती बिन्ति गरेर देवगण सब् पाऊ पर्याथ्या जसै।

सोही रित् सित् मारुँला भनि हुकुम् श्रीविष्णुको भो तसै।।

सोही बात् परिपूर्ण गर्न रघुनाथ् ऐल्हे तयारी भया।

मान्र्यैछन् तिमिलाइ निश्चय भनी ऊठेर नारद् गया।।164।।


तस्मात् अवश्य रघुनाथ् कन देव जानी।

ई वैरि हुन् भनि यहाँ रति भर् न मानी।।

यो वैरभाव तिमिले अब छोडि देऊ।

भक्ती गरी कन भजन् गरि आज लेऊ।।165।।


भक्ती मुख्य छ सर्व साधन महाँ भक्ति छ सब् ज्ञान् दिन्या।

भक्तीले सब मुक्त हुन्छ दुनियाँ यो नित्य जानी लिन्या।।

भक्तीहिन् भइ कर्म गर्दछ भन्या यो निष्फलै हो भनी।

जानी श्रीरघुनाथका चराणमा भक्ती लगाऊ पनी।।166।।


हज्जारन् अवतार छन् प्रभुजिका रामावतार्ले सरी।

आर्को छैन भजन् गर्यो भनि भन्या जस्का भजन्ले गरी।।

जाला दुःख कतै न पाइ सहजै संसारसागर् तरी।

सोही ठाम् पुगि जान्छ पूर्ण रुपले जाहाँ रहन्छन् हरी।।167।।


जो रामचन्द्र तिर रात् दिन चित्त धर्छन्।

राम् कै चरित्र पढि खुप् सित मग्न पर्छन्।।

तिन्का ति कर्मवशका सब पाप छुट्छन्।

वैकण्ठका सकल सौख्य तिनै त लुट्छन्।।168।।


सून्यो बिन्ति र कुम्भकर्ण विरको साह्रै रिसायो पनी।

लाग्यो भन्न तँलाइ डाकिन यहाँ ज्ञान् सुन्न देलास् भनी।।

जस्तो भन्छु म सोहि गर्नु छ भन्या गर् युद्ध साम्ने सरी।

सुत्नाको मतलब् छ पो पनि भन्या जा सुत् पलङ्मा परी।।169।।


रावण्का इ वचन् सुनेर अहिले साह्रै रिसाया भनी।

क्यै उत्तर् न गरी उठी कन गयो खुप् लड्न आँट्यो पनी।।

पर्खाल् नाघि गयो र लड्न कन सुर् बाँधी करायो जसै।

कालै तुल्य बुझेर वानरहरू साह्रै डराया तसै।।170।।


विर् विर् वानरलाइ पक्डि मुखमा हाल्दै र निल्दै गयो।

प्वाँख् लागी कन पर्वतै उडि तहाँ आई गया झैं भयो।।

सक्थ्यो कुन् अघि टिक्न तेस् बखतमा तेस्का अगाडी परी।

वानर्को सब फौज् तहाँ हटि गयो साह्रै सकस्मा परी।।171।।


दाज्यू भनी तहिं विभीषण भेट्न आया।

पाऊ परी कन बहुत् गरि बिन्ति लाया।।

कान्छो विभीषण म हूँ करुणा म पाऊँ।

लङ्का महाँ म कन बस्न मिलेन ठाऊँ।।172।।


सीता न राख घरमा तिमि सुम्पि देऊ।

राम्चन्द्रलाइ परमेश्वर जानि लेऊ।।

बिन्ती गर्याँ यति र लात् पनि मारि लीया।

निक्लेर जा भनि मलाइ निकालि दीया।।173।।


चार् मन्त्रि साथ लिइ निक्लि म याहिं आयाँ।

श्रीरामका शरणमा परि बिन्ति लायाँ।।

ठूलो दया गरि लिया प्रभुले मलाई।

आज्काल् खुसी छु रघुनाथ् सित बस्न पाई।।174।।


बिन्ती विभीषणजिको जब सूनि लीयो।

भाई चिन्ही कन खुसी भइ काख लीयो।।

भाई चिरञ्जिवि रह्या तिमि दैव जानी।

राम्चन्द्रको गर भजन् अति हर्ष मानी।।175।।


खुप् भक्त छन् बुझि लिया तिमि भाइलाई।

भन्थ्या चिन्हेर अघि नारदले मलाई।।

साँचै भयो ति ऋषिले जति हो भन्याको।

प्रत्यक्ष देख्छु तिमि भक्त बडा बन्याको।।176।।


भाई विभीषण परै रहु जल्दि जाऊ।

सङ्ग्रामका बखतमा नजिकै न आऊ।।

यस्ता वचन् सुनि बिदा भइ फर्कि आया।

थामी न सक्नु भइ आँसु पनी खसाया।।177।।


बीदा भै जब ता विभीषण फिर्या यो फौज् गिरायो भनी।

लाग्यो घुम्न र कुम्भकर्ण विरले धेर् फौज् गिराऊँ भनी।।

वानर्को सब फौजलाइ बलले थिच्तै र मिच्तै गयो।

कुन् सक्थ्यो अघि टिक्न तेस् बखतमा खुप् ध्वस्त गर्दो भयो।।178।।


मुद्गर् हात लियेर येहि रितले त्यो घुम्न लाग्यो जसै।

फौज्को नाश् बहुतै गर्यो र रघुनाथ् साह्रै रिसाया तसै।।

वायव्यास्त्र उठाइ मुद्गर समेत् हातै खसाल्छू भनी।

हान्या श्रीरघुनाथले र सहजै काटी खसाल्या पनी।।179।।


गीर्यो हात् जब कुम्भकर्ण विरको मुद्गर् सहित्को तहाँ।

ठूलो शब्द गरेर फेरि रिसले धायो प्रभू छन् जहाँ।।

साल्को वृक्ष उखेलि हान्न भनि त्यो आयो नजिक्मा जसै।

तेही हात् पनि काटि बक्सनु भयो वानर् भया खुस् तसै।।180।।


हातै गिर्या जब दुवै तब खुप् करायो।

साह्रै रिसाइ रघुनाथ् तिर दौडि आयो।।

फेर् अर्धचन्द्र सरिका दुइ बाण लीया।

गोडै पनी सहज काटि खसालि दीया।।181।।


हात् पाउ केहि न हुँदा अति दुःख पायो।

मुख् बाइ राम् कन निलूँ भनि घस्रि आयो।।

राम्चन्द्रले पनि मुखै भरि बाण हान्या।

त्यो देखि फौजहरुले अति हर्ष मान्या।।182।।


यै रित् गरेर अघि बाट थला बसाया।

फेर् हानि ऐन्द्रशरले त सिरै खसाया।

ढोका थुन्यो सहरको सिरले त ताहाँ।

गिंड् उफ्रि गै कन पर्यो र समुद्र माहाँ।।183।।


ग्राहादि जन्तु मिचि नाश् बहुतै गरायो।

इन्द्रादि देवगणका पनि ताप् हरायो।।

खुप् पुष्पवृष्टि रघुनाथ उपर् खसाया।

राम्लाइ भेट्न भनि नारद ताहिं आया।।184।।


नारद्ले स्तुति खुप् गर्या प्रभुजिको नारायणे हुन् भनी।

भोली देखि हुन्या कुरा जति थिया सो सब् बताया पनी।।

हे नाथ् विर् यहि कुम्भकर्ण विर हो यो विर् सहज्मा गयो।

खूपै विर् अब इन्द्रजित् छ उसको लौ भोलि वेला भयो।।185।।


भोली मर्दछ इन्द्रजित् पनि यहाँ लक्ष्मण् जिका हात् परी।

आफैं मार्नु हुन्या छ रावण भन्या पर्सी लडाई गरी।।

देख्न्यै छन् मुनिदेवसिद्धगणले त्यो सब् तमासा भनी।

नारद् ताहिँ बिदा भई गइ तया त्यो ब्रह्मलोक्मा पनी।।186।।


रावण्ले पनि कुम्भकर्ण त मर्यो भन्न्या सुनेथ्यो जसै।

साह्रै दुःख परी विलाप् पनि गरी मूर्छा पर्यो खुप् तसै।।

रावण्लाइ बुझाउन कन अघी त्यो इन्द्रजित् विर् सर्यो।

जल्दी बिन्ति गर्यो खडै छु म छँदै कुन् ताप् हजुर्मा पर्यो।।187।।


शत्रूको भय आज कत्ति न रहोस् ई शत्रु मै मारुँला।

सब् शत्रूहरु मारि ताप् हजुरको चाँडै सहज् टारुँला।।

होम् गर्छू म निकुम्भिला स्थल महाँ ऐल्हे तुरुन्तै गई।

होम् सम्पूर्ण गर्या मलाइ अहिले अग्नी प्रसन्नै भई।।188।।


दीन्याछन् हतियार् तिनै लिइ गई सङ्ग्राम गर्छू जसै।

कुन् साम्ने भइ टिक्छ तेस् बखतमा सब् ध्वस्त हुन्छन् तसै।।

येती बिन्ति गर्यो र होम् गरुँ भनी ऊठेर जल्दी गयो।

भक्ती राखि निकुम्भिला स्थल महाँ होम् गर्न लाग्दो भयो।।189।।


सून्या त्यो समचार् विभीषणजिले होम् गर्न लाग्यो भनी।

सो विस्तार् रघुनाथका हजुरमा गै बिन्ति पार्या पनी।।

ऐल्हे हे रघुनाथ इन्द्रजितले होम् गर्न लाग्यो भनी।

सून्याँ यो सुनि बिन्ति गर्न अहिले आयाँ हजुर्मा पनी।।190।।


होम्को विघ्न त गर्नु पर्छ अधिराज् होम् सिद्ध पार्यो भन्या।

राक्षस्गण् जिति सक्नु छैन कहिले ई सब् अजेयै बन्या।।

लक्ष्मण्लाइ मलाइ बक्सनु हवस् हूकुम् म जान्छू तहाँ।

मार्छन् लक्ष्मणले अवश्य अहिले त्यो बाँच्न सक्ला कहाँ।।191।।


येती बिन्ति सुनी हुकुम् हुन गयो मै जान्छु मार्छू भनी।

फेरी बिन्ति विभीषणै सरि गर्या यस्तो छ यो विर् भनी।।

खाँदै कत्ति न खाइ कत्ति न सुती रात् दिन् नियम् खुप् गरी।

जस्को बर्त छ बाह्र वर्ष उ पुरुष् तेरा अगाडी सरी।।192।।


तेरो प्राण लिन्याछ यो छ वरदान् यस्तो हुनाले गरी।

मारी सक्नु कदापि छैन अहिले कोही अगाडी सरी।।

रात् दिन् कत्ति नखाइ कत्ति न सुती तेस्तो रह्याका यहाँ।

लक्ष्मण् छन् अब लौ हुकुम् दिनु हवस् तेस्लाइ मारुन् तहाँ।।193।।


ईश्वर् तिमी ह्वौ रघुनाथ् इ भाई।

लक्ष्मण् त शेष् हुन् करुणा जनाई।।

भूभार हर्ना कन जन्म लीयौ।

यो रुप् भजन् गर्न बनाइ दीयौ।।194।।


साँचो बिन्ति गर्यौ म जान्दछु सबै यो विर् छ यस्तो भनी।

हिंड्दै देखि न खाइ कत्ति न सुती लक्ष्मण् रह्याका पनी।।

जानीजानि म चुप् रह्याँ किन भन्या लाग्न्यै छ यो काम् पनी।

उत्तर् येति तहाँ विभीषणजिका साम्ने हुकुम् भो पनी।।195।।


लक्ष्मण्लाइ पनी हुकुम् तहिं भयो भाई तयारी भया।

केही फौज् पनि साथमा लिइ तहाँ ऐल्हे तुरुन्तै गया।।

चाँडै प्राण् लिइ हाल इन्द्रजितको जान्छन् विभीषण् पनी।

सब्को छिद्र बताउनन् बखतमा यस्तो छ याहाँ भनी।।196।।


हूकुम् यो रघुनाथको सुनि धनू लीई तयारी भया।

राम्का पाउ समाइ लक्ष्मण तहाँ क्ये बोल्न लागी गया।।

मेरा बाण् अब इन्द्रजित विरका प्राण्लाइ जल्दी हरी।

पाताल् भोगवती महाँ पुगि तहाँ निर्मल् हुनन् स्नान् गरी।।197।।


येती बिन्ति गरी घुमी वरिपरी लक्ष्मण् चरण्मा पर्या।

बीदा भै रघुनाथका हुकुमले साइत् तुरुन्तै गर्या।।

केही फौज् लिइ जाम्बवान् र हनुमान् अङ्गद् इ साथ्मा गया।

पौंच्या जल्दि र इन्द्रजीत विरका फौज्लाइ देख्ता भया।।198।।


हूकुम् सिरोपर धरी कन जल्दि पौंची।

लक्ष्मण् अघी जब सर्या धनुलाइ खैंची।।

लस्कर्हरू पनि अगाडि सरेर धाया।

ताहाँ विभीषण अघी सरि बिन्ति लाया।।199।।


कालो मण्डल देखिइन्छ अघि जो त्यो फौज हो वीरको।

टुक् टुक् पारि गिराइ बक्सनु हवस् सब् वीरका सिरको।।

ऐल्हे जल्दि न हानि बक्सनु भया होम् सिद्ध गन्र्या छ यो।।

होम्को सिद्ध गर्यो भन्या हुँदि कसै जीती न सक्नू छ यो।।200।।


तेस् फौज्लाइ गिराइ बक्सनु भया त्यो इन्द्रजित् विर् पनी।

होम् छोडी कन लड्न आउँछ यहाँ त्यो फौज् गिरायो भनी।।

येही युक्ति तहाँ विभीषणजिले बिन्ती गर्याथ्या जसै।

लक्ष्मण्ले पनि सैन्य माथि शरको वृष्टी गराया तसै।।201।।


वानर्ले पनि वृक्ष पर्वत शिला फौज् माथि फेंक्या जसै।

राक्षस्को पनि फौज् अघी सरि सरी खुप् लड्न लाग्यो तसै।।

लक्ष्मण्ले शरले अनेक् तरहले मार्या र नास्यो भनी।

साह्रै क्रोध गरेर इन्द्रजित विर् होम् छोडि आयो पनी।।202।।


पक्का बेस् रथमा चढी धनु लिइ साम्ने अगाडी सरी।

लाग्यो लक्ष्मणलाइ भन्न अब हेर् मेरा अगाडी परी।।

आँटिस् मर्न भन्यो र ताहिं नजिकै थीया विभीषण् पनी।

तिन्लाई पनि खुप् भन्यो तँ कुलको शत्रू अधम् होस् भनी।।203।।


येती भन्यो र रिसले रथमा बस्याको।

सब्लाइ जित्न भनि कम्मर खुप् कस्याको।।

केही न टेरि अरु वानरलाइ हेला।

साह्रै गराइ कन भन्छ परे इ फेला।।204।।


प्राण् बाण हानि सबको म हरेर लिन्छू।

तिम्रो शरिर् पृथिविमा म गिराइ दिन्छू।।

यस्ता वचन् सुनि ति लक्ष्मणजी रिसाया।

हान्या र बाण् तहिं तुरुन्त थला बसाया।।205।।


मूर्छा पर्यो दुइ घरी र जुरुक्क ऊठ्यो।

लाल् लाल् नजर् गरि रिसाइ अगाडि छूट्यो।।

मेरो पराक्रम रती न बुझेर पैल्हे।

हानिस् पराक्रम तँ लौ बुझिले न ऐल्हे।।206।।


येती भन्यो र मनले अति वीर मानी।

लक्ष्मण्जिलाइ तहिं सात् शर जल्दि हानी।।

दस् बाणले त हनुमान् विरलाइ हान्यो।

झन् मुख्य शत्रु त विभीषणलाइ मान्यो।।207।।


हान्यो फेर् सय शर् विभीषण उपर् येती गरेथ्यो जसै।

हान्या लक्ष्मणले कवच् शरिरको काटी दिया पो तसै।।

हज्जार् शर् कन हानि लक्ष्मणजिका गाथ्का कवच्को पनी।

टुक् पारेर गिराउँदो तहिं भयो मेरो गिरायो भनी।।208।।


लक्ष्मण्ले पनि फेरि पाँच शरले घोडा र रथ् सुत् धनू।

काटी बक्सनु भो उसै बखतमा आर्को उठायो धनू।।

फेर् तेसै धनुलाइ काटि दिनु भो तिन् बाणले फेर् धनू।

लीयो लक्ष्मणलाइ धेर शरले हान्यो छिटो क्या भनू।।209।।


बाणैले गरि सब् भर्यो दस दिशा वानर् सकस्मा पर्या।

लक्ष्मण्ले पनि इन्द्रजीत विरको प्राण् लीन मन्सुब् धर्या।।

जुन् इन्द्रास्त्र थियो उही धनु महाँ लाई अगाडी सर्या।

चिन्तन् श्रीरघुनाथको गरि तहाँ जल्दी प्रतिज्ञा गर्या।।210।।


धर्मात्मा यदि सत्य दाशरथि छन् हुन् नाथ् जगत्का धनी।

साँचै ता अब इन्द्रजित् यहिं मरोस् येसै शरैले भनी।।

छोड्या बाण र इन्द्रजीत विरको सीरै खसाया जसै।

इन्द्रादीहरु पुष्पवृष्टि खुसि भै खुप् गर्न लाग्या तसै।।211।।


हर्षैले नगरा बज्या पृथिविको जुन् भारि हो त्यो गयो।

हर्षैले जयशब्दको ध्वनि पनी ताहाँ बहूतै भयो।।

लक्ष्मण्ले पनि शङ्खको ध्वनि र खुप् टङ्कार् धनूको गर्या।

वानर्ले बहुतै गर्या स्तुति तहाँ आनन्दमा सब् पर्या।।212।।


लक्ष्मण्जी सब फौज् लियेर रघुनाथ्ज्यूका हजुर्मा गया।

पाऊमा परि दण्डवत् गरि तहाँ सब् बिन्ती गर्दा भया।।

खूसी खुप् हुनु भो सुनेर रघुनाथ् हूकुम् भयो बेस् गर्यौ।

मार्यौ इन्द्रजितै त आज तिमिले सब् शत्रुको मुल् हर्यौ।।213।।


मेरो शत्रु अवश्य छैन अब विर् जुन् वीर हो सो गयो।

यस् रावण् कन मार्नलाइ सजिलो यै वीर जाँदा भयो।।

ऐल्हे युद्ध हुँदा म मार्छु सहजै भन्न्या हुकुम् यो भयो।

रावण् विर् पनि सब् सुन्यो र समचार् मूर्छा परी गैगयो।।214।।


मूर्छा देखि उठी विलाप् अति गरी फौज् लड्न पेल्यो पनी।

हात्मा एक् तरवार् लियेर रिसले सीता म काट्छू भनी।।

दौड्यो त्यो र सुपाश्र्व मन्त्रि नजिकै थीयो अगाडी सर्यो।

स्त्रीघात् गर्नु अवश्य छैन महराज् यो जल्दि बिन्ती गर्यो।।215।।


सूपाश्र्वको बिन्ति सुन्यो र ताहाँ।

फर्क्यो फरक्कै दरबार माहाँ।।

शोक्ले बहुत् मूर्ख समान भै गो।

फेरी सभा गर्छु भनेर गै गो।।216।।


सब् मन्त्रिले सँग बसेर विचार गर्दा।

हीतै हुन्या ठहरियो र अगाडि सर्दा।

जो बाँकि राक्षस थिया सब साथ लीयो।

खुप् लड्नलाइ रघुनाथ् तिर चित्त दीयो।।217।।


त्यो अग्निमा सहल झैं जब पर्न आयो।

सक्थ्यो कहाँ अधिक ठक्कर फेरि पायो।।

धेर् विर् मर्या हृदयमा पनि बाण लाग्यो।

टिक्नै तहाँ न सकि जल्दि फिरेर भाग्यो।।218।।


सम्झ्यो गुरू कन विपत्ति पर्यो र ताहाँ।

चाँडै गुरू सित गई सिर पाउ माहाँ।।

राखी गर्यो विनति दुःख बहूत पायाँ।

यै दुःखको विनति गर्न त आज आयाँ।।219।।


हे नाथ् हजुर् गुरु भई पनि दुःख पन्र्या।

क्या भो मलाइ कसरी अब चित्त धन्र्या।।

यस् रामले सकल बन्धु र पुत्र मार्यो।

सूरा अनेक् विरहरू पनि छुट्टि पार्यो।।220।।


रावण्को विनती सुन्या र गुरुले पायेछ आपत् भनी।

गर्ना सम्म गरोस् भनेर उपदेश् दीया गुरूले पनी।।

हे रावण् सुन मन्त्र दिन्छु अब गै होम् गर्नु खुप् ध्यान् धरी।

होम् सम्पूर्ण गर्यौ भन्या त हतियार् मिल्नन् तिनैले गरी।।221।।


जित्न्या छौ सब वीरलाइ भनि यो आज्ञा गुरूको जसै।

पायेथ्यो खुसि भै उठी घर गई होम् गर्न आँट्यो तसै।।

पाताल् तुल्य गुफा खनी तहीं बस्यो होम् गर्नलाई पनी।

ढोका बन्द गर्यो सबै सहरको कोही न आउन् भनी।।222।।


लूक्यो रावण येहि रित् सित र खुप् होम् गर्न लाग्यो तहाँ।

लूक्यो रावण ता पनी तर धुवाँ लूकी रहन्थ्यो कहाँ।।

देख्या तेहि धुवाँ विभीषणजिले होम् गर्न लाग्यो भनी।

पायाँ भेद् भनि रामका हजुरमा गै बिन्ति पार्या पनी।।223।।


लाग्यो रावण होम गर्न महराज् होम् सिद्ध पार्यो भन्या।

साँचो बिन्ति म गर्दछू हजुरमा ई सब् अजेयै बन्या।।

हूकुम् वानरलाइ बक्सनु हवस् विर् विर् अगाडी सरी।

जल्दी गै कन यज्ञ नाश् गरि दिउन् हूकुम् सिरोपर् धरी।।224।।


बिन्ती येति गर्या विभीषणजिले हूकुम् प्रभूको भयो।

अङ्गद् विर् हनुमान् दुवै इ खटिया दस् कोटिको फौज् गयो।।

पर्खाल् नाघि गया र तेस् सहरमा दर्बार् पुग्याथ्या जसै।

चौकी रावणका थिया जति तहाँ तिन्लाइ मार्या तसै।।225।।


रानी हुन् सरमा विभीषणजिकी लङ्कै सहर्मा थिइन्।

रावण् लूकि रहेछ ताहिं छ भनी तिन्ले इसारा दिइन्।।

गूफाका मुखमा त पत्थर ठुलो लायेर पक्का गरी।

होम् गर्थ्यो तहिं भित्र रावण उहीं पौंच्या ठुलो वेग् गरी।।226।।


त्यो पत्थर् कन लात्ति अङ्गदजिले दीया धुलै भै खस्यो।

होम्को विघ्न गराउना कन तहाँ क्यै फौज भीत्रै पस्यो।।

रावण् येति हुँदा पनी दृढ भई ध्यान् गर्न लाग्यो जसै।

विर् विर् वानरले अनेक् तरहले त्यो यज्ञ नास्या तसै।।227।।


रावण्ले तहिं होम गर्न भनि एक् सूरो लियाको पनी।

खोस्या श्रीहनुमानले र रिसले हान्या उठोस् यो भनी।

ध्यानैमा दृढ मन् गरी अचल भै रावण् बसेथ्यो जसै।

ल्याया अङ्गदले त खैंचि नजिकै मन्दोदरी पो तसै।।228।।


ती मन्दोदरिलाइ रावण नजिक् पौंचाइ हुर्मत् लिया।

चोलो खोलि अफालि फेरि कटिको सारी खसाली दिया।।

लायाका गहना समेत् शरिरका वस्त्रै अफाल्या जसै।

रूँदै रावणका नजीक रहँदी बिन्ती गरिन् यो तसै।।229।।


हे नाथ् आज कता गयो हजुरको लज्जा अनाथ् क्या गरूँ।

पत्नीका इ विलाप् सुनी जिउनु धिक् मर्नू निको हो बरू।।

येती बिन्ति गरिन् र पुत्र कन खुप् संझेर लागिन् रुनै।

आर्को कोहि थियेन ताहिं तिनका साहाय हून्या कुनै।।230।।


भर्ताले पनि बाँचुला भनि यहाँ लज्जै समेत् त्याग् गर्या।

तेरो ज्यान् अघि गै गयो गरुँ कसो ऐल्हे विपत्ती पर्या।।

ती मन्दोदरि रानिको अति विलाप् साम्ने सुनेथ्यो जसै।

ऊठ्यो खड्ग लियेर अङ्गदजिका हान्यो कटीमा तसै।।231।।


होम्को नाश गराइ अङ्गदहरू दौडेर राम् थ्यैं गया।

ती मन्दोदरि रानि रावण इनैका बात् तहाँ खुप् भया।।

लाग्यो रावण भन्न रानि अहिले बाँच्नू असल् हो भनी।

बाँच्नै खातिर ता म चुप् भइ रह्याँ येती हुँदामा पनी।।232।।


बाँचे देखि त देखिइन्छ सब थोक् यस्तो बुझी ज्ञानले।

यो शोक् दुर् गरि हाल हुन्छ अब क्या यस्ता असत् ध्यान्ले।।

अज्ञानै छ भुलाउन्या शरिरमा यो देह मै हूँ भनी।

त्यै अज्ञान् बलवान् भयो भनि भन्या फैलिन्छ संसार् पनी।।233।।


आत्मज्ञान स्वरुप् बुझेर मनले अज्ञानको नाश् गरी।

स्वस्थै भै रहु शोक् न मान तिमिले क्या हुन्छ यो शोक् गरी।।

हे मन्दोदरि मार्छु राम् कन सहज् सङ्ग्राम ठूलो गरी।

रामैले यदि मार्दछन् त पनि बेस् जान्या छु संसार् तरी।।234।।


सङ्ग्राम्मा मरि गै गयाँ पनि भन्या मार्नू र सीता यहाँ।

अग्नीमा तिमिले प्रवेश् तब गरी आया म जान्छू जहाँ।।

रावण्का इ वचन् सुनेर अति ताप् मान्दी ति मन्दोदरी।

साँचो बिन्ति म गर्छु आज महराज् भन्दै अगाडी सरी।।235।।


बिन्ती रावण थ्यैं गरिन् पनि तहाँ राम् हुन् जगन्नाथ् हरी।

जीती सक्नु कदापि छैन अरुले कस्तै लडाई गरी।।

वैवस्वत् मनुलाइ मत्स्यरुपले जस्ले त रक्षा गर्यो।

फेरी कूर्म भयेर मन्दर पनी जस्ले पिठैमा धर्यो।।236।।


प्राण् खैंचेर लिया वराहरुपले जस्ले हिरण्याक्षको।

बाँची कोहि फिरेन लड्दछु भनी साम्ने गयाको छ जो।।

ठूलो दैत्य थियो हिरण्यकशिपू मार्या नृसिंहै भई।

राज्यै खैंचि लिया छलेर बलिको वामन् स्वरुप्ले गई।।237।।


थीया क्षत्रिय पृथ्विमा परशुराम् भै नाश् सबैको गर्या।

तिम्रो प्राण् लिनलाइ आज पनि नाथ् राम भै अगाडी सर्या।।

सीता हर्नु थियेन हेलन गरी सीताजि हर्नू भयो।

यै काम्ले इ विपत् पर्या हजुरमा ज्यान् इन्द्रजित्को गयो।।238।।


सीता सुम्पनु पर्छ आज अधिराज् राम्चन्द्रजी थ्यैं गई।

लङ्कामा पनि राज् विभीषण गरुन् राम्कै पियारा भई।।

सब् छोडी कन आज जाउँ वनमा येती भनीथिन् जसै।

रावण्ले पनि ई वचन् सुनी जवाफ् खुप् दीन लाग्यो तसै।।239।।


हे मन्दोदरि इन्द्रजित् पनि मर्यो ठूला ठुला विर् मर्या।

कुम्भैकर्ण मर्यो अनेक् अरु पनी सङ्ग्राममा विर् पर्या।।

येती सम्म भया पछी कसरि फेर् लत्रेर पाऊ परू।

शत्रू थ्यैं गइ लत्रि बाँच्नु न निको प्राण आज जावस् बरू।।240।।


विष्णू हुन् रघुनाथ् सिता पनि इनै लक्ष्मी भनी जान्दछू।

जानी जानि सिता हर्याँ त म उसै क्या आज डर् मान्दछू।।

राम्का हात परी मरूँ भनि त हेर् सीताजिलाई हर्याँ।

राम्का हात परी मर्याँ पनी भन्या संसार् सहज्मा तर्याँ।।241।।


फेरी तुरुन्त रघुनाथ् सित लड्न जान्छू।

मार्नन् मलाइ रघुनाथ् तब खूसि मान्छू।।

संसारका सकल ताप्हरुलाइ तोडी।

जान्याछु पारि तिमिलाइ त वारि छोडी।।242।।


राग्द्वेष्का भेल चल्छन् भँवरि सरि इ युग् घुम्दछन् बीच माहाँ।

पुत्रादी मत्स्य झैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ।।

कामैको जाल् छ ठूलो छ त पनि चलियो तेहि जाल्लाइ फारी।

संसार्सागर् सहज्मा तरि कन हरि थ्यैं बस्न जान्याछु पारी।।243।।


मन्दोदरी सित यती भनी लड्नलाई।

कम्मर् कसेर बलियो रथ यक् मगाई।।

रथ्मा चढेर रघुनाथ् सित जान आयो।

राम्चन्द्रको सकल वानरफौज् डरायो।।244।।


त्यो रावण् रणभूमिमा जब पुग्यो साम्ने हनूमान् गया।

मूर्छा पारि गिराउँ यस् कन भनी एक् मुड्कि हान्दा भया।।

छातीमा जब मुड्कि बज्रन गयो खुप् वज्र तुल्यै गरी।

घूँडा टेकि गिर्यो पनी दुइ घडी मूर्छा तुरुन्तै परी।।245।।


मूर्छा देखि उठ्यो र रावण तहाँ स्याबास् तँ होस् विर् भनी।

ठूला विर् हनुमानलाइ बुझि खुप् साह्रै सह्रायो पनी।।

रावण्ले हनुमानको सह्रनि खुप् ताहाँ गरेथ्यो जसै।

रावण्का सब सेखि तोड्न हनुमान् विर् बोल्न लाग्या तसै।।246।।


हे रावण् किन गर्दछस् सह्रनि यो धिक्कार् म मान्छू बरू।

मेरो मुड्कि पर्या पछी पनि बचिस् बोल्छस् यहाँ क्या गरू।।

एक् चोट् हान् तँ पनी मलाइ म पनि फेर् हान्छु छाती महाँ।

एक् मुड्की अब हानुला तँ न मरी उम्केर जालास् कहाँ।।247।।


ई बात् श्रीहनुमानले जब गर्या बेसै भन्यो हो भनी।

एक् चोट् श्रीहनुमानका हृदयमा ताकेर हान्यो पनी।।

फेरी श्रीहनुमान् सर्या अघि तहाँ मुड्की उठाई जसै।

रावण् टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै।।248।।


रावण्का सँग चार् जना विर थिया मन्त्री लडाकी पनी।

ई चार् विर् कन चार् जना अघि सरी ऐल्हे निभाऊँ भनी।।

अङ्गद् श्रीहनुमान नील नल ई चार् वीर कूदी गया।

रावण्का सँगका ति चार् विर सहज् मारेर फिर्दा भया।।249।।


ती चार् जना जब मर्या तब झन् रिसायो।

राम्का उपर् अघि सरी कन बाण् खसायो।।

बाक्ला बुँदै सरि ति शर् जब खस्न आया।

खुप् वानरादि विरले पनि दुःख पाया।।250।।


यो चाल् वानरको बुझी रघुपती साम्ने अगाडी सरी।

लाग्या लड्न तहाँ अनेक् तरहले त्रैलोक्यका नाथ् हरी।।

त्यो रावण् रथमा थियो रघुपती खाली जमिन्मा थिया।

राम्का खातिर इन्द्रले अति असल् एक् रथ् पठाई दिया।।251।।


जल्दी मातलि सारथी रथ लिई राम्का हजुर्मा गया।

हात् जोरी कन रामका हजुरमा क्यै बिन्ति गर्दा भया।।

हे नाथ् रथ् लिइ इन्द्रका हुकुमले आयाँ खडा छू पनी।

यै रथ्मा चढि बक्सियोस् हजुरले बेस् बिन्ति पार्यो भनी।।252।।


यो बिन्ती गरि मातली अघि सर्या ख्वामित् सितानाथ् पनी।

तेस् रथ्लाइ परिक्रमा गरि चढ्या चढ्नै उचित् हो भनी।।

ताहाँ देखि त मच्चियो अधिक झन् सङ्ग्राम् निरन्तर गरी।

जुन् बाण् रावणले त छोड्छ उहि बाण् काट्छन् रमानाथ् हरी।।253।।


यस्ता रित् सित शस्त्र अस्त्र सब थोक् काट्या प्रभूले जसै।

रावण्ले पनि राक्षसास्त्र लिइ खुप् फेर् हान्न लाग्यो तसै।।

रावण् हान्दछ बाण् जती जति तहाँ सब् सर्प रुप् भै खस्या।

हान्या बाण् रघुनाथले पनि र ती बाण् ता गरुड् भै खस्या।।254।।


काट्या सर्प पनी सबै गरुडले पक्रेर टुक् टुक् गरी।

तेस् बिच्मा शरवृष्टि खुप् सित गर्यो राम्का अगाडी सरी।।

धक्का केही दियो प्रभू कन तहाँ फेरी गिराऊँ भनी।

हान्यो मातलिलाइ बाण् र पछि फेर् केतू खसाल्यो पनी।।255।।


घोडैलाइ पनी अनेक शरले खुप् हान्न लाग्यो जसै।

आश्चर्यै भइ देवपीतृऋषिगण् खेद् मान्न लाग्या तसै।।

लीलाले रघुनाथ् पनी जब तहाँ दुःखी सरीका भया।

वानर्को सब फौज् विभीषण समेत् साह्रै डराई गया।।256।।


बिस् बाहू दस सिर् भयङ्कर स्वरुप् मैनाक् सरीको भई।

लड्थ्यो रावण रामका हजुरमा साम्ने नजीकै गई।।

ऊठ्यो रिस् प्रभूको र तेहि बिचमा कालाग्नि जस्ता बनी।

रावण्का दस सिर् गिराउन लिया जल्दी धनुर्बाण् पनी।।257।।


कालाग्नी सरिका भयङ्कर स्वरुप् राम्को बनेथ्यो जसै।

कामिन् पृथ्वि पनी भयङ्कर स्वरुप् देखिन् र राम्को तसै।।

रावण्का पनि चित्तमा भय पर्यो उल्का बहूतै भया।

क्या गर्छन् प्रभुले यहाँ भनि तहाँ सब् लोक् डराई गया।।258।।


आकाश्मा बसि हेर्दथ्या जति थिया सब् देवतागण् पनी।

कस्ता रित् सित मर्छ रावण यहाँ हेरौं तमासा भनी।।

राम्को रावणको परस्पर तहाँ खुप् युद्ध ठूलो भयो।

रात्रीको दिनको प्रकाश् न भइ काल् धेर् युद्ध हूँदा गयो।।259।।


रावण्को सिर काट्नलाइ जब बाण् फेंक्या प्रभूले तहाँ।

तालैका फल झैं गिर्या त पनि सिर् गीरेन पृथ्वी महाँ।।

एकोत्तर सय सिर् गिर्या जति गिरुन् सब् बन्न लाग्या जसै।

क्या भो आज भनी प्रभू कन पनी आश्चर्य लाग्यो तसै।।260।।


ठूला दैत्य बडा बडा विर पनी जुन् बाणले मारिया।

सोही बाण् पनि आज रावण उपर् ताकेर खुप् मारिया।।

काट्छन् सिर् पनि बाणले र दस सिर् भैंमा खसाल्छन् पनी।

फेर् ज्यूँका तिउँ सिर् हुन्या गरु कसो क्या भो यहाँको जनी।।261।।


यो चिन्ता रघुनाथका जब पर्यो साम्ने विभीषण् गया।

यो हेतू छ भनेर हेतु जति हो सब् बिन्ति गर्दा भया।।

ब्रह्माको वरदान् छ सिर् खसि गया फेर् उम्रनन् सिर् भनी।।

फेर् अम्रित् पनि नाभिमा छ तब यो मर्दैन काट्या पनी।।262।।


त्यो अम्रित् सब सोसि बक्सनु हवस् सब् सुक्छ अम्रित् जसै।

चाँडै त्यो मरि जान्छ तेस् बखतमा उठ्तैन फेरी कसै।।

हात् जोरेर जसै विभीषणजिले यो गुह्य खोली दिया।

ठाकुर्ले पनि अग्निबाण झट्पट् हानेर सोसी लिया।।263।।


त्यो अम्रित् जब सोसि बक्सनु भयो यो दिन्छ अर्ती भनी।

रिस्ले शक्ति लिई विभीषण उपर् ताकेर हान्यो पनी।।

राम्ले शक्ति र सिर् दसै छिनि दिया फेर् एक सिर्को भई।

नाना शस्त्र लियेर खुप् सित लड्यो राम्का अगाडी गई।।264।।


तेस् बिच्मा पनि मातली अघि सरी हात् जोरि बिन्ती गर्या।

हे नाथ् रावण लड्छ यो अझ भन्या फेर् शस्त्र हान्नै पर्या।।

ब्रह्मास्त्रै अब छोडि बक्सनु हवस् खुप् मर्म तोड्न्या गरी।

मान्र्या युक्ति त एक् यही छ नहिं ता मर्दैन काट्या पनी।।265।।


बिन्ती मातलिको सुनी प्रभुजिले एक् बाण् तुरुन्तै लिया।

जस्मा अग्नि र वायु सूर्य्य इ समेत् लोक्पाल् बस्याका थिया।।

मन्त्री वेदविधानले र धनुमा त्यो बाण् लगाया जसै।

प्राणीलाइ पनी बहुत् भय भयो खुप् भूमि कामिन् पनी।।266।।


रावण्को तहिं छाति ताकि कन बाण् छोड्या मरोस् यो भनी।

तेस् बाण्ले त जहाँ सहज् मरि गयो घूमेर लोट्यो पनी।।

बाँकी राक्षस जो थिया ति पनि सब् दौडेर भागी गया।

जित् भो श्री रघुनाथको भनि तहाँ सम्पूर्ण खूसी भया।।267।।


तेस् बिच्मा नगरा बज्या प्रभु उपर् खुप् पुष्पवृष्टी भयो।

नाच्या अप्सरगण् ऋषी खुसि भया सम्पूर्णको ताप् गयो।।

रावण्को पनि देह देखि तहिं तेज् निस्क्यो र सूर्य्यै सरी।

श्रीराम्चन्द्रजिमा मिली पनि गयो संसारसागर् तरी।।268।।


विष्णूद्वेषि परस्त्रिमा रत हुन्या यो ब्रह्मघाती पनी।

श्रीराम्चन्द्रजिमा मिल्यो कसरि यो आश्चर्य लाग्यो भनी।।

गर्थ्या बात् सब देवतागणहरू नारद्जि ताहीं गया।

जेले रावण राममा मिलि गयो त्यो ताँहि भन्दा भया।।269।।


साँचो भन्छु म आज देवगण हो यस्ले बहुत् ध्यान् गर्यो।

सीतानाथ् प्रभुको र यो तब सहज् संसारसागर् तर्यो।।

भक्तीले भयले अवर् तरहले कौनै प्रकार्ले गरी।

ध्यान् सीतापतिको गर्यो पनि भन्या जाइन्छ संसार् तरी।।270।।


रावण् मारि धनू उतारि करको एक् शर् लिलाले गरी।

चारौं तर्फ घुमाउँदा शरिरमा धेर् बाणको खत् धरी।।

कोटी सूर्य्य सरी त तेज् छ जसका यस्ता जगन्नाथ् हरी।

हाम्रा दुःख पनी सबै हरि दिउन् सम्पूर्ण पाप् नाश् गरी।।271।।


रावण् मारि उतारि भारि भुमिको सुग्रिव् विभीषण्हरू।

लक्ष्मण् अङ्गद जाम्बवान् र हनुमान् जो जो थिया विर् अरू।।

ती सब्लाइ हुकुम् भयो प्रभुजिको तिम्रै कृपाले गरी।

मार्यां रावणलाइ कीर्ति रहला तिम्रो तिनै लोक् भरी।।272।।


रावण्का सब रानि आयर विलाप् खुप् गर्न लाग्या तहाँ।

पृथ्वीमा लडि खुप् विभीषण पनी रोया रहन्थ्या कहाँ।।

बीत्या दाज्यु भनी विभीषण पनी खुप् रून लाग्या जसै।

लक्ष्मण्लाइ हुकुम् भयो प्रभुजिको संझाउ भन्न्या तसै।।273।।


दाज्यूको किरिया गरुन् सब हरुन् ती रानिको शोक् पनी।

हूकुम् येति मिल्यो र लक्ष्मण गया जल्दी बुझाऊँ भनी।।

लाग्या भन्न अहो विभीषण तिमी क्या यो न जान्न्या सरी।

लाग्यौ गर्न विलाप् अनेक् तरहले खाली जमिन्मा परी।।274।।


तिम्रो यो अघि जन्ममा कउन हो ऐल्हे त दाज्यू भयो।

फेरी क्या हुनलाइ रावण यहाँ छोडेर काहाँ गयो।।

जम्मा भै कन बालुवा जसरि फेर् फिर्छन् र गङ्गा महाँ।

यस्तै रित् सित फिर्दछन् इ दुनियाँ क्वै छैन आफ्नू यहाँ।।275।।


अज्ञान्को मति यो न लेउ तिमिले झूटो जगत् हो भनी।

जानी श्रीरघुनाथका चरणमा खुप् ध्यान् लगाऊ पनी।।

प्रारब्धै बलवान् बुझेर सब यो राज्यादि गर्दै रहू।

जो पर्छन् परि आउन्या सब कुरा नीका न नीका सहू।।276।।


दाज्यूको गरि हाल आज तिमिले क्रीया विधान्ले गरी।

रुन्छन् रानिहरू बुझाउ अहिले चाँडै अगाडी सरी।।

यस्तै ठाकुरको हुकुम् छ भनि बेस् रित्ले बुझाया जसै।

विस्तार् लक्ष्मण्को सुन्या र झट्पट् ऊठ्या विभीषण् तसै।।277।।


बिन्ती गर्न भनी जहाँ प्रभु थिया ताहाँ तुरुन्तै गया।

हात् जोरी कन रामका हजुरमा क्यै बिन्ति गर्दा भया।।

हे नाथ् मर्जि भयो कबुल् गरि लियाँ आज्ञा सिरोपर् धरी।

बिन्ती गर्छु तथापि सत्य भगवन् एक् भारि शङ्का परी।।278।।


यो क्रूर हो प्रभु परस्त्रि पनी त हन्र्या।

यस्को क्रिया कसरि योग्य भनेर गन्र्या।।

बिन्ती गर्या यति विभीषणले र ताहाँ।

खूसी भई हुकुम भो उहि बीच माहाँ।।279।।


बाचुन्ज्याल् रिस हुन्छ शत्रु सितको ऐल्हे मरी यो गयो।

यस्को रिस् अब गर्नु छैन अब ता मेरो त रिस् दुर् भयो।।

रुन्छन् रानिहरू बुझाउ गर लौ क्रीया विधान्ले गरी।

पैल्हे यै न गरी हुँदैन तिमिले यै हो क्रियाको घरी।।280।।


हूकुम् येति सुन्या जसै प्रभुजिको योग्यै हुकुम् भो भनी।

रानीलाइ बुझाउना कन गया चाँडै विभीषण् पनी।।

रानीलाइ बुझाइ सब् गरि सक्या क्रीया विधान्ले गरी।

रानी सब् घरमा पठायर गया जाहाँ थिया राम् हरी।।281।।


खूसी खुप् रघुनाथ् पनी हुनु भयो सम्पूर्ण खूसी भया।

बीदा भै कन मातली पनि तहाँ फेर् इन्द्र थ्यैं गै गया।।

लक्ष्मण्लाइ हुकुम् दिया प्रभुजिले पैल्हे दियाँ ता पनी।

गादीमा लगि फेर् विभीषण उपर् ऐल्हे तिमीले पनी।।282।।


देऊ लौ अभिषेक् भनी प्रभुजिको हूकुम् भयेथ्यो जसै।

लक्ष्मण्ले पनि गादि माथि लगि फेर् दीया अभीषेक् तसै।।

गादि माथि बसाइ साथ लिइ फेर् राम्चन्द्रजी थ्यैं गया।

लक्ष्मण्ले रघुनाथका हजुरमा सब् बिन्ति गर्दा भया।।283।।


तेस् बिच्मा रघुनाथ् प्रसन्न हुनु भो पूग्यो प्रतिज्ञा भनी।

सुग्रिव्लाइ पनी सह्राउनु भयो तिम्रो कृपा हो भनी।।

ऐल्हे हे हनुमन् विभीषणजिका मत्ले सिता थ्यैं गई।

सब् सम्चार बताउ जाउ अहिले सूनुन् बहुत् खुस् भई।।284।।


जो भन्छिन् ति कुरा बताउन यहाँ फेर् जल्दि आऊ भनी।

हूकुम् हून गयो विभीषणजिका मत्ले हनूमान् पनी।।

सीता थ्यैं हनुमान् पुग्या रुख मनी सीता बस्याकी थिइन्।

पाऊमा हनुमान् पर्या जननिले चुप् भै नजर् खुप् दिइन्।।285।।


चीह्निन् ई हनुमान हुन् भनि र खुप् खूसी भईथिन् जसै।

विस्तार् बिन्ति गर्या सबै जननि थ्यैं श्रीरामजीको तसै।।

झन् खूसी जननी भइन् खुसि हुँदै क्यै बोल्न लागिन् तहाँ।

क्या दीन्या तिमिलाइ चीज हनुमन् खूसी गरायौ यहाँ।।286।।


तिम्रो यै प्रिय वाक्य तुल्य त अनेक् रत्नादिका हार् पनी।

लाग्दैनन् अरु चीज देखि ती ठुलो यो चिज् दिन्या हो भनी।।

झट् बिन्ती हनुमानले पनि गर्या श्रीराम् जगत्का पती।

खूसी खुप् हुनुहुन्छ ता खुसि म छू चाहिन्न दौलत् रती।।287।।


यो बिन्ती सुनि खूस भै कन तहाँ येती अह्राइन् पनी।

राम्को दर्शन गर्छु बिन्ति गर गै भेट् गर्न खोज्छिन् भनी।।

सीताका इ वचन् सुनेर हनुमान् राम्का हजुर्मा गया।

दर्शन्को मतलब् थियो जननिको सो बिन्ति गर्दा भया।।288।।


यो बिन्ती हनुमानले हजुरमा ताहाँ गर्याथ्या जसै।

मर्जी भो प्रभुको विभीषणजिको साथ् लागि आया तसै।।

जाऊ ल्याउ सिताजिलाइ तिमिले सब् देह निर्मल् गरी।

आउन् भेट्न सिता अनेक् तरहका भूषण् शरिर्मा धरी।।289।।


हूकुम्ले हनुमानलाइ सँगमा लीई विभीषण् गया।

जल्दी स्नान गराउना कन तहाँ खुप् यत्न गर्दा भया।।

पैल्हे स्नान गराइ शुद्ध कपडा पैह्राइ भूषण् पनी।

दीया सुन्दर जुन् थिया खुसि हुँदै पैह्रुन् सिताजी भनी।।290।।


डोली माथि सिता चढाइ खुसि भै हींड्या विभीषण् जसै।

दर्शन् गर्न भनेर वानरहरू आयेर घेर्या तसै।।

चौकी गर्न भनेर डोलि नजिकै जो ता रह्याका थिया।

सब् वानर्हरुलाइ तेस् बखतमा तिन्ले हटाई दिया।।291।।


कोलाहल् अधिकै भयो प्रभुजिले सून्या नजर् भो पनी।

हूकुम् भो रघुनाथको किन तहाँ वानर् हटाया भनी।।

आमा जानि ति हेर्दछन् सब जना हेरुन् ति वानर्हरू।

डोलीमा किन चढ्दछिन् अब सिता पैदल् ति आउन् बरू।।292।।


सूनिन् ख्वामितको हुकुम् र जननी जल्दी जमिन्मा झरिन्।

पाऊ पर्छु भनेर खुप् खुसि हुँदै साम्ने अगाडी सरिन्।।

काम्को सिद्ध गराउना कन सिता माया लियाकी थिइन्।

काम् हो रावण मार्नको कुल समेत् त्यो सिद्ध पारी दिइन्।।293।।


अग्नीमा अघि राखियाकि कन फेर् लीन्या तहाँ सुर् गरी।

दोष् दीया रघुनाथले किन यहाँ आयौ नजीकै भनी।।

आर्काका घरमा बस्याकि भनी यो दोषै दिनू भो जसै।

लक्ष्मण्लाइ हुकुम् दिइन् जननिले विश्वास खातिर् तसै।।294।।


हे लक्ष्मण् तिमि अग्नि बाल अहिले ताहीं प्रवेश् गर्दछू।

साँचै छू त म बाँचुला झुठि भया ऐल्हे तहीं मर्दछू।।

हूकुम् लक्ष्मणले तहाँ जननिको सून्या र राम्को पनी।

मत् पाई कन अग्नि खुप् गरि ठुलो बाली दिया बेस् भनी।।295।।


सीताजी पनि खुप् प्रदक्षिण गरिन् राम्को र भक्ती गरी।

अग्नीका नजिकै खडा पनि भइन् केही अगाडी सरी।।

द्यौता ब्राह्मण संझि राम्चरणको ध्यान् भीत्र मन्मा धरिन्।

सब्का साक्षि भनेर अग्नि सित हात् जोरी पुकारा गरिन्।।296।।


जस्ता रित् सित रामका चरणमा ध्यान्मा रह्याकी म छू।

तस्तै रित् सित अग्नि शीतल हउन् तापै न लागोस् कछू।।

बोलिन् येति र अग्निमा पसि गइन् ताहाँ सिताजी जसै।

सब्का ताप् मनमा भयो विरहका बात् गर्न लाग्या तसै।।297।।


सीता अग्नि विषे जहाँ त पसिथिन् इन्द्रादि लोक्पाल्हरू।

ब्रह्मा रुद्र समेत् सबै तहिं गया जो देवता छन् अरू।।

जम्मा भै रघुनाथको स्तुति गर्या सब् देवगण्ले पनी।

ब्रह्माले पनि खुप् गर्या स्तुति तहाँ मालिक् इनै हुन् भनी।।298।।


अग्नीले पनि बिन्ति खुप् सित गर्या राम्का चरण्मा परी।

भूषण् वस्त्र अनेक् धर्याकि जननी सीता अगाडी धरी।।

सीताजी कन आज सम्म त यहीं राखी दियाको थियाँ।

काम्को सिद्ध भयो लिनू अब हवस् सीता हजुर्मा दियाँ।।299।।


अग्नीले पनि बिन्ति बात् गरि तहाँ सीता जसै ता दिया।

खूसी मन् रघुनाथको हुन गयो सीताजिलाई लिया।।

सीताजी कन काखमा लिइ तहाँ ठाकुर् बस्याथ्या जसै।

भक्तीले स्तुति इन्द्रले पनि गर्या खूसी भया सब् तसै।।300।।


फेर् बिन्ती शिवले खुसी भइ गर्या राम्का हजुर्मा तहाँ।

सीतानाथ् म त आउन्याछु पछि फेर् वाहीं अयोध्या महाँ।।

ऐल्हे ई दशरथ् पिता हजुरका मिल्ला कि दर्शन् भनी।

आया दर्शन आज बक्सनु हवस् ख्वामित् प्रभूले पनी।।301।।


यो बिन्ती शिवको सुनेर दशरथ्जीका हजुर्मा गई।

पाऊमा सिर राखि बक्सनु भयो अत्यन्त खूसी भई।।

आलिङ्गन् दशरथ्जिले पनि गर्या तार्यौ मलाई भनी।

बीदा भै दशरथ् खुसी भइ गया फेर् स्वर्गलोक्मा पनी।।302।।


वानर्को जति फौज् मर्यो रण हुँदा ती सब् बचाऊँ भनी।

अम्रित् वृष्टि गराउना कन हुकुम् भो इन्द्रलाई पनी।।

हूकुम् पाइ ति इन्द्रले पनि तहाँ अम्रित् गिराया जसै।

वानर्को सब फौज् खडा पनि भयो राम्का कृपाले तसै।।303।।


बिन्ती ताहिं गर्या विभीषणजिले राम्का चरण्मा परी।

मङ्गल्स्नान् गरि बक्सियोस् हजुरले यो स्नानको हो घरी।।

मङ्गल्स्नान् गरि वस्त्र भूषण धरी राज् आज याहीं हवस्।

सेवक् हूँ करुणानिधान् हजुरको प्रीति म माथी रहोस्।।304।।


बिन्ती सूनि हुकुम् भयो हुन त हो जान्या त हो स्नान् गरी।

क्यारू आज घरै छ भाइ त भरत् मै झैं जटाजुट् धरी।।

त्यो भाई पर राखि आज म यहाँ कुन् रीतले स्नान् गरू।

सुग्रीव् वीर्हरु छन् इ देउ तिमिले इन्लाइ खिल्लत् बरू।।305।।


हूकुम् येति हुँदा विभीषणजिले रत्नादि वृष्टी गर्या।

जस्ले जुन् चिज खोज्छ सो चिज दिई सब् फौजको ताप् हर्या।।

सब् फौज्लाइ बिदा पनी दिनु भयो राम्ले कृपा खुप् गरी।

फौज् वानर्हरुको पनी तरि गयो आनन्दमा खुप् परी।।306।।


काम् सब् सिद्ध भयो यहाँ किन बसूँ जान्छू अयोध्या भनी।

सीता लक्ष्मण साथमा लिइ चढ्या श्रीराम् विमान्मा पनी।।

सुग्रिव् अङ्गदजी विभीषण समेत् राम्का हजुर्मा थिया।

तिन्लाई पनि जाउ राज् गर भनी बीदा प्रभूले दिया।।307।।


ती सब्ले तहिं बिन्ति खुप् सित गर्या जान्छौं अयोध्यै भनी।

सब्को आग्रह देखि खूसि हुनु भो ताहाँ रमानाथ् पनी।।

पुष्पक्मा चढ आज आउ तब लौ भन्न्या हुकुम् भो जसै।

सुग्रिव् श्रीहनुमान अङ्गद चढ्या पुष्पक् विमान्मा तसै।।308।।


आफ्ना मन्त्रि लिई विभीषण पनी तेसै विमान्मा बस्या।

सेना सुग्रिवका पनी हुकुमले सम्पूर्ण ताहीं बस्या।।

सीतानाथहरू सबै बसि रही शोभा अधिक् गर्दथ्या।

सो शोभाकन वानरादि विरले झन् भारि मज्जा गर्या।।309।।


सेना समेत् सब विमान उपर् चढाई।

हूकुम् दिया प्रभुजिले जब जानलाई।।

आकाशमार्ग गरि जान विमान धायो।

शोभा अपूर्व रघुनाथ चढ्या र पायो।।310।।


दौड्यो पुष्प विमान् जसै हुकुमले आकाश बिच्मा पसी।

पृथ्वीको पनि याद् सबै हुन गयो तेसै विमान्मा बसी।।

जुन् जुन् काम जहाँ जहाँ अघि भया याहाँ गर्याँ यो भनी।

सीतालाइ नजर् गराउनु भयो खुस् भै प्रभूले पनी।।311।।


यो लङ्कापुरि हो अगम् छ बलले को जान सक्छन् अरू।

त्यो भूमि रणभूमि हो तहिं मर्या ठूला ठुला विर्हरू।।

ताहीं रावण कुम्भकर्ण त मर्या भारी लडाई गरी।

लक्ष्मण्ले तहिं इन्द्रजित् कन जित्या साम्ने अगाडी सरी।।312।।


सागर्मा पनि हेर सेतु बलियो बाँध्याँ र सागर् तर्याँ।

रामेश्वर् भनि नाम राखि शिवको स्थापन् किनार्मा गर्याँ।।

चार् मन्त्री सँग ली विभीषण तहीं आई शरण्मा पर्या।

किष्किन्धा यहि हो यसै नगरिमा सुग्रीव राजा भया।।313।।


वार्ता येति गर्या सिता सित र फेर् तारा झिकाऊ भनी।

सुग्रीव्लाइ हुकुम् भयो प्रभुजिको तारा झिकाया पनी।।

तारा रानिहरू समेत् चढि सक्या ताहाँ विमान्मा जसै।

सीतालाइ नजर् गराउनु भयो बाली गिर्याको तसै।।314।।


सीते हेर अगाडि पञ्चवटि बेस् राक्षस् तहाँ धेर् मर्या।

त्यो आश्रम् पनि हो अगस्ति ऋषिको जस्ले कृपा खुप् गर्या।।

तेसै पल्तिरको सुतीक्ष्ण ऋषिको धेरै ऋषी छन् जहाँ।

त्यो हो पर्वत चित्रकूट् भरतले भेट् नै गयाथ्या जहाँ।।315।।


जो आश्रम् जमुनाजिका छ तिरमा ताहाँ भरद्वाज छन्।

गङ्गा हुन् इ अगाडिकी नजरले देख्तै खुसी हुन्छ मन्।।

जो देख्छ्यौ अझ छन् परै सरयु हुन् ती हुन् अयोध्यापुरी।

पूरीलाइ गर प्रणाम तिमिले भक्ती गरी नीहुरी।।316।।


सीताजी कन येही रित् सित सबै खोलेर विस्तार् गरी।

भारद्वाज् कन गै प्रणाम् पनि गर्या जल्दी जमिन्मा झरी।।

हात् जोरी कन सोध्नु भो जब यहाँ सब् जन् कुशल् छन् भनी।

वृद्धै हुन् महतारिको छ गति क्या ज्यूँदै ति छन् की भनी।।317।।


क्याबात् भाइ भनी भरत् पनि भया सब्का उपर् काम् गरी।

चौधै वर्ष रह्या व्रती भइ ति ता चिन्तन् ममाथी गरी।।

भारद्वाज् ऋषिले पनी सब कुशल् थीया बताई दिया।

हे नाथ् छन् कुशलै सबै भरतका मात्रै विपत्ती थिया।।318।।


हजुर पर हुनाले रोज् फलै मात्र खान्छन्।

हजुर सरि खराऊ गादिमा राखि मान्छन्।।

सिर भरि छ जटाजुट् वल्कलै छन् धर्याका।

फगत हजुरमा छन् प्राण अर्पण् गर्याका।।319।।


सब् जान्दछू हजुरले पनि ता गर्याको।

राक्षस् विनाश गरि भार् भुमिको हर्याको।।

त्यो सब् प्रसाद् हजुरको सब तत्त्व जान्याँ।

जो ब्रह्म हो उ त हजुर् कन आज मान्याँ।।320।।


लीला गरी हजुरले अवतार् गर्याको।

ब्रह्मादि देवगणका पनि ताप् हर्याको।।

जो ई चरित्र कन खुस् भइ गान गर्छन्।

संसार्समुद्र सहजै पनि आज तर्छन्।।321।।


ब्रह्माजिका वचनले यहि रूप धारी।

भार् हर्नु भो सकल रावणलाइ मारी।।

सब् लोकको हित हुन्या अरु काम् गरीनन्।

चौधै भुवन् हजुरका यशले भरीनन्।।322।।


मेरो आज पवित्र घर् पनि हवस् एक् रात् यहाँ राज् गरी।

भोली जानु असल् हुन्या छ पुरिमा बिन्ती छ पाऊ परी।।

भारद्वाज् ऋषिले यती हजुरमा बिन्ती गर्या राज् भयो।

सम्मान् सैन्य समेत् गर्या र ऋषिले सम्पूर्णको ताप् गयो।।323।।


हूकुम् भो हनुमानलाइ हनुमान् लौ श्रृङ्गवेर्मा गई।

मेरा खुप् प्रिय छन् सखा गुह तहाँ तिन् थ्यैं समाचार् कही।।

नन्दीग्राम् गइ भाइलाइ गरि भेट् श्रीराम आया भनी।

मेरो लक्ष्मणको सिताजि हरुको सम्चार् बताऊ पनी।।324।।


मैले काम जती गर्याँ भरत थ्यैं सम्पूर्ण विस्तार् गरी।

वाहाँको समचार् लिई कन फिर्या सन्ताप् सबैको हरी।।

हूकुम् यो हनुमानले जब सुन्या मानिस् सरीका बनी।

जल्दी गै गुहलाइ सब् कहि दिया आया सिताराम् भनी।।325।।




फेर् जल्दी सरयू तरी कन गया देख्या अयोध्या पनी।

नन्दीग्राम् जब देखियो तहिं गया जान्या उहीं हो भनी।।

वैलाई रहँदा जउन् तरहले फुल् सुक्छ फुस्रो भई।

तस्तै रैयतिको दशा नजर भो साह्रै करूणा गई।।326।।


देख्या तहाँ भरतलाइ जटा धर्याका।

श्रीरामका चरण चिन्तन खुप् गर्याका।।

राम्का खराउ कन मालिक जानि मानी।

हूकुम् दिंदा पनि त सेवक आफु जानी।।327।।


सब् गेरुवा पहिरि मन्त्रि पनी बस्याका।

राम्को भजन् तिर त कम्मर खुप् कस्याका।।

देख्या भरत् कन र खुस् भइ हात जो़डी।

बिन्ती गर्या भरतका सब ताप तोडी।।328।।


जस्को चिन्तन गर्नु हुन्छ महराज् सो नाथ् सिताराम् पनी।

आई पुग्नु भयो मलाइ अघि जा भेट् भाइलाई भनी।।

हूकुम् भो रघुनाथको र म यहाँ आयाँ हुकुम्ले गरी।

सीता लक्ष्मणले सहित् कुशल छन् त्रैलोक्यका नाथ् हरी।।329।।


येती विर्हरु साथ छन् भनि कुशल् विस्तार् सुनाया जसै।

खूसी भै कन अङ्कमाल् पनि गर्या ताहीं भरत्ले तसै।।

राम्को सुग्रिवको कहाँ हुन गयो भेट् सब् बताऊ भनी।

सोध्या ताहिं भरत्जिले र हनुमान्ले सब् बताया पनी।।330।।


सुग्रिव् सीत मित्यारी गर्नु पनि भो साहाय सुग्रिव् भया।

लङ्कामा रहिछिन् सिता र रघुनाथ्ज्यूका सँगै ती गया।।

सीता रावणले हरेछ र बहुत् दुःखी सरीका भई।

सीताजी कन खोजि खोजि रघुनाथ् फेर् ऋष्यमुक्मा गई।।331।।


लङ्कामा गइ भारि युद्ध गरियो सब् रावणादी गिर्या।

लङ्काका अधिराज् विभीषण गरी श्रीराम् अयोध्या फिर्या।।

सब् विस्तार् हनुमान देखि रघुनाथ्ज्यूको सुन्याथ्या जसै।

भाईलाइ हुकुम् दिया नगरिको संस्कार खातिर् तसै।।332।।


हे शत्रुघ्न गराउ सब् नगरिको संस्कार् अगाडी सरी।

सब् देवालयमा पूजा अब गरुन् नाना विधान्ले गरी।।

सुत् वैतालिक बन्दिजन्हरु समेत् निस्कुन् ति कस्बीहरू।

सब् जाउन् रघुनाथका हजुरमा जो जो यहाँ छन् अरू।।333।।


भारी फौज लियेर मन्त्रिहरुले सब् राजपत्नी लिया।

ब्राह्मण्लाइ अगाडि लायर हिंडुन् सब्लाइ उर्दी दिया।।

हूकुम् येती दिया तहाँ भरतले हूकुम् बमोजिम् गरी।

हात्मा भेटि लियेर लस्कर चल्यो खुप् हर्ष भो तेस् घरी।।334।।


श्रीराम्चन्द्रजिका खराउ सिरमा राखी तयारी भया।

भाई साथ लिई भरत् प्रभुजि थ्यैं हींडेर पैदल् गया।।

आयो श्रीरघुनाथको पनि विमान् चन्द्रै सरीको बनी।

देखाया हनुमानले प्रभुजिको तेही विमान् हो भनी।।335।।


देख्या श्रीरघुनाथको जब विमान् कीर्तन् सबैले गर्या।

घोडामा रथमा जती विर थिया ती सब् जमिन्मा झर्या।।

पृथ्वीमा न झरी उनै प्रभुजिको दर्शन् मिलेथ्यो जसै।

टाढै बाट गर्या प्रणाम् भरतले खुप् हर्ष मान्या तसै।।336।।


भाईलाइ विमानमा लिनु भयो ताहीं जमिन्मा झरी।

फेरी जल्दि पर्या भरत् चरणमा साष्टाङ्ग सेवा गरी।।

काखैमा पनि राखि बक्सनु भयो राम्ले भरत् खुस् भया।

सीताजी कन दण्डवत् गरुँ भनी साम्ने अगाडी गया।।337।।


ख्वामित् हूँ म भरत् पर्याँ चरणमा यस्तो पुकारा गरी।

सीताका पनि पाउमा परि गया आनन्दसागर् परी।।

लक्ष्मण्लाइ पनी प्रणाम् तहिं गर्या काम्ले बडा छन् भनी।

आलिङ्गन् गरि सुग्रिवादि विरको दिल् खुस् गराया पनी।।338।।


सुग्रीवादि जती त वानर थिया ती मानिसै झैं भई।

सोध्या प्रश्न कुशल् सबै भरतको आफ्नू कुशल् सब् कही।।

मर्जी सुग्रिवलाइ तेस् बखतमा यस्तो भरत्को भयो।

याहीं बाट दया भयो प्रभुजिका सब् शत्रुको ज्यान् गयो।।339।।


चारै भाइ थियौं अगाडि अहिले पाचौं हुनू भो यहाँ।

भाईका झइँ यो सहाय न भया राक्षस् जितिन्थ्या कहाँ।।

यस्ता प्रेम् सित बात् गर्या भरतले सुग्रीवजी थ्यैं गई।

श्रीराम्चन्द्रजिका पर्या चरणमा शत्रुघ्न खूसी भई।।340।।


लक्ष्मण्जी कन दण्डवत् गरि सिताज्यूका चरण्मा पर्या।

सेवक् हूँ करुणानिधान् हजुरको यो ताहिं बिन्ती गर्या।।

श्रीराम्चन्द्रजिका खराउ राखी गयाका थिया।

वेला भो भनि पाउमा भरतले ताहीं लगाई दिया।।341।।


हात् जोरी विनती गर्या पनि तहाँ नासो लियाको थियाँ।

यो गादी लिइ बक्सियोस् हजुरले मैले हजुर्मा दियाँ।।

सब् कोष्मा पनि अन्नको र धनको दस् खण्ड बढ्ता गरी।

राख्याको छु दयानिधान् हजुरका सेवा विषे मन् धरी।।342।।


यो बिन्ती खुसिले तहाँ भरतले साम्ने गर्याथ्या जसै।

देख्या भक्ति भरत्जिको खुसि भई सम्पूर्ण रोया तसै।।

नन्दीग्राम् पुगि उत्रि बक्सनु भयो ठाकुर् जमिन्मा पनी।

पुष्पक्लाइ बिदा पनी दिनु भयो कूवेर थ्यैं जा भनी।।343।।


ताहाँ श्रीरघुनाथ् वशिष्ठ गुरुका पाऊ नमस्कार् गरी।

याहाँ राज् गरि बक्सियोस् भनि असल् आसन् अगाडी धरी।।

आसन्मा गुरुलाइ राखि नजिकै आसन् विषे राज् भयो।

पाया दर्शन रामको र सबका सम्पूर्ण सन्ताप् गयो।।344।।


कैकेयी र भरत् मिलेर रघुनाथ्ज्यूका चरण्मा परी।

हात् जोरी कन राज्य अर्पण गर्या बिन्ती बहूतै गरी।।

जस्ले एक कटाक्षले सहज यो ब्रह्माण्ड सब् हर्दछन्।

जो ऐश्वर्य छ इन्द्रको उ पनि एक् क्षण्मा तयार् गर्दछन्।।345।।


यस्ता शुद्ध अनन्त पूर्ण सुख रुप् ब्रह्मस्वरुप्ले पनी।

क्या राज् गर्नु थियो तथापि लिनु भो खूसी हउन् ई भनी।।

पैल्हे स्नान् भरतादिले जब गर्या क्षौर्ले जटा साफ् गरी।

स्नान् सीतापतिको पछी तहिं भयो तेस्तै प्रकार्ले गरी।।346।।


माला चन्दन वस्त्र येहि पहिरी आसन् विषे राज् भयो।

राम्को स्नान् र सिताजिको तहिं सँगै हूँदा सबै ताप् गयो।।

सीताराम् रथमा सवार् हुनु भयो सुग्रिव् विभीषण्हरू।

हात्तीमा रथमा सवार् हुन गया घोडै महाँ क्वै अरू।।347।।


राम्का सारथि ता भरत् हुन गया सेवा म गर्छू भनी।

सेतो छत्र लिया बहुत् खुसि हुँदै शत्रुघ्नजीले पनी।।

पङ्खा लक्ष्मणले लिया प्रभुजिको सुग्रीवले ता चवँर्।

आर्को चामर एक् विभीषणजिले खूसी भया सब् अवर्।।348।।


मानिस्ले त बखान् कहाँ तक गरौं सब् देवताले पनी।

राम्को कीर्तन खुप् गर्या र सुनियो मीठो मधूरध्वनी।।

भेरी शङ्ख मृदङ्ग आदि नगडा खुप् बज्न लाग्या पनी।

श्रीराम्को पनि कुच् भयो रथ चढी जाऊँ अयोध्या भनी।।349।।


श्रीराम्को पुरिमा प्रवेश् जब भयो सब् पौरवासी पनी।

निस्क्या बालक वृद्ध दर्शन गरौं हेरौं तमासा भनी।।

देख्या श्रीरघुनाथलाइ रथमा थीया पिताम्बर् धरी।

श्याम्सुन्दर् छ शरिर् किरीट सिरमा भूषण् शरिर्मा धरी।।350।।


लाल् छन् नेत्र विशाल खुप् हृदय बेस् बेस् मोतिका हार छन्।

शोभा चन्दन पुष्पको छ पनि बेस् देख्तै भयो खूसि मन्।।

सून्या स्त्रीहरुले पनी सहरमा आया सिताराम् भनी।

सब्को चञ्चल चित्त भो र बहुतै हेरौं सिताराम् भनी।।351।।


छोड्या काम् घरको चढ्या गृह उपर् सब् स्त्री अटाली गई।

लावा पुष्प गिराउँदै प्रभुजिको दर्शन् गर्या खूसि भै।।

राम्को मोहनमूर्तिमा जब नजर् सब् स्त्रीहरूका पर्या।

खूसी भै कन अङ्कमाल मनले सब् स्त्रीहरूले गर्या।।352।।


ईषत् हास्य गरी प्रजा कन नजर् दींदै रमानाथ् पनी।

दर्बार् पौंचनु भो जहाँ त दशरथ् बस्थ्या उहीं जाँ भनी।।

कौशल्याहरुलाइ योग्य रितले ताहाँ नमस्कार् गरी।

सुग्रिव्को पनि वास् खटाउनु भयो साह्रै पियारो गरी।।353।।


सुग्रिव्जी कन राख भाइ तिमिले पैल्हे म बस्थ्याँ जहाँ।

सब्लाई तिमिले खटाउ बढिया घर् बस्नलाई यहाँ।।

हूकुम् येति हुँदा तहाँ भरतले सोही बमोजिम् गर्या।

सब्को वास खटन् भयो सब तहाँ आनन्दसागर् पर्या।।354।।


आफैं श्रीरघुनाथ् हुकुम् अब गरुन् यो मन् भरत्ले गरी।

सुग्रिव्लाइ अह्राउनु पनि भयो खुस् भै अगाडी सरी।।

हे सुग्रीव खटाउनू अब पर्यो विर् विर् विचार् खुप् गरी।

चारौं तर्फ गई समुद्र पुगि जल् ल्याउन् कलश्मा भरी।।355।।


श्रीराम्चन्द्रजिलाइ राज्य अभिषेक् गन्र्या बखत् भो भनी।

मर्जी भो र भरत्जिको उहि बखत् ल्याई दिया जल् पनी।।

जल् लीना कन जाम्बवान् र हनुमान् अङ्गद् सुषेण् चार् गया।

पौंच्या जल्दि समुद्रमा सहज जल् लीयेर दाखिल् भया।।356।।


त्यो जल् साथ लिई वशिष्ठ गुरुका साम्ने भरत्जी गया।

यो हो चार समुद्रको जल भनी यो बिन्ति गर्दा भया।।

फेर् बिन्ती कर जोरि खुप् सित गर्या यै जल् हजुर्ले छरी।

श्रीराम्चन्द्रजिलाइ राज्यअभिषेक् दीनू हवस् यस् घरी।।357।।


यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले बेस् बिन्ति गर्छौ भनी।

श्रीराम्चन्द्रजिलाइ राखनु भयो सिंहासनैमा पनी।।

गौतम् वाल्मिकि वामदेव इ समेत् जावालि ताहीं थिया।

ती सब्ले सँग भै वशिष्ठ गुरुले जल्दी अभीषेक् दिया।।358।।


कन्या ब्राह्मणले पनी तुलसिदल् हालेर कुश्ले असल्।

मन्त्रैपूर्वक खूसि भै कन छर्या राम्का उपर् शुद्ध जल्।।

सेतो छत्र लिया तहाँ प्रभुजिको शत्रुघ्नजीले गई।

सुग्रिव्ले र तहाँ विभीषणजिले हाँक्या चमर् खुस् भई।।359।।


माला काञ्चन वायुले पनि दिया हार् इन्द्रजीले पनी।

नाना रत्न खचित् गरायर दिया पैह्रुन् सिताराम् भनी।।

गाऊँछन् तहिं देवका गणहरू सब् अप्सरा नाच्तछन्।

बर्ष्यो खुप् सित पुष्पवृष्टि नगरा बज्दा भयो खूसि मन्।।360।।


गम्भीर् श्याम शरिर् किरीट् छ सिरमा माला पिताम्बर् धरी।

कोटी काम समान सुन्दर स्वरुप् वाम् तर्फ सीता धरी।।

सिंहासन् बसि सब् प्रजा तिर नजर् दीनू भयेथ्यो जसै।

दर्शन् गर्न भनेर पार्वति समेत् आया सदाशिव् तसै।।361।।


डिम् डिम् शब्द भयो तहाँ डमरुको नन्दी र भृङ्गी पनी।

ताल् वेताल्हरु नाच्न लागि त गया आया सदाशिव् भनी।।

शम्भूका पछि देवगण् सब तहाँ आयेर हाजिर् भया।

श्रीराम्को स्तुति खुप् गरेर खुसि भै सब् जल्दि फर्की गया।।362।।


बाजा खुप् शब्द गर्छन् स्तुति गरि ऋषिगण् देवगण् पाउ पर्छन्।

बर्षन्छन् पुष्पवृष्टी प्रभु उपर अनेक् प्राणिले सौख्य गर्छन्।।

सिंहासन्मा विराज्मान् सकल गुणनिधान् राम् हुनू भो जसै ता।

सीता लक्ष्मण् सँगै छन् प्रभुकन हुन गो पूर्ण शोभा तसै ता।।363।।


राजा श्रीरघुनाथ् हुँदा पृथिविमा शस्यादि खूपै बढ्यो।

थीयानन् अति गन्ध जौन फुलमा तिन्मा सुगन्धी बढ्यो।।

धेनूदान् वृषदान् गर्या प्रभुजिले तिस्कोटि सुन्दान् गरी।

वस्त्राभूषण रत्नदान् पनि गर्या दारिद्र्य सब्को हरी।।364।।


दान्ले ब्राह्मण खुस् गराइ रघुनाथ् सुग्रीवलाई पनी।

माला सूर्य समानको दिनु भयो दीनू उचित् हो भनी।।

मर्याद् खुप् गरि बाजुबन्ध दिनु भो अङ्गद्जिलाई पनी।

ताहीं एक अमूल्य हार् दिनु भयो सीताजिलाई पनी।।365।।


सीताले हनुमानलाइ दिन सुर् बाँधेर हात्मा लिइन्।

कस्तो हुन्छ हुकुम् भनी कन नजर् ख्वामित् तरफ् खुप् दिइन्।।

जस्लाई दिन मन् छ देउ भनि यो हूकुम् भयेथ्यो जसै।

प्यारा श्रीहनुमान् थिया तहिं दिइन् त्यो हार् सिताले तसै।।366।।


झन् दर्जा हनुमानको तहिं चढ्यो फेरी प्रभूले पनी।

क्या माग्छौ वरदान माग तिमिले दिन्छू म त्यो वर् भनी।।

हूकुम् बक्सनु भो तहाँ र हनुमान् खुस् भै अगाडी सर्या।

जो माग्नू मनमा थियो हजुरमा हात् जोरि बिन्ती गर्या।।367।।


ख्वामित् नाम हजूरको जब तलक् लीनन् जगत्मा बडा।

ताहीं सम्म शरीर् रहोस् हजुरका नाम् सुन्नलाई खडा।।

ख्वामित् नाम हजूरका स्मरणमा आनन्द जो पाउँछू।

त्यो आनन्द कतै मिलेन महराज् तेही न छूटोस् कछू।।368।।


यो बिन्ती सुनि लौ भनी हुकुम भै फेरी कृपा भो पनी।

बित्ला कल्प र यो बित्या पछि भन्या मुक्तै हुन्याछौ भनी।।

हूकुम् यो रघुनाथको हुन गयो फेर् जानकीले पनी।

जो जो हुन् सुख भोग् सबै वश रहुन् तिम्रा हनूमान् भनी।।369।।


आशीर्वाद् यति बक्सनू जब भयो बीदा हनूमान् भया।

आनन्दाश्रु गिराइ तप् गरुँ भनी हीमालयैमा गया।।

फेर् ठाकुर् गुहका अगाडि गइ यो हूकुम् कृपाले गर्या।

जाऊ लौ घर मै बसी रहु फगत् मन् मात्र मैमा धर्या।।370।।


यो प्रारब्ध ठुलो छ भोग न गरी टर्दैन कस्तै गरी।

हून्यैछो तिमि मुक्तदेह पछि ता संसार् सहज्मा तरी।।

हूकुम् यो गरि मुख्य भक्त गुहका साम्ने अगाडी सरी।

आलिङ्गन् दिइ भूषणादि दिनु भो राज्यै समेत् थप् गरी।।371।।


तत्त्व ज्ञान् पनि बक्सनू तहिं भयो आनन्दसागर् परी।

बीदा भै गुहजी गया घर महाँ मन् राम्चरण्मा धरी।।

यस्तै रित् सित सब् बिदा तहिं हुँदै सुग्रिव् विभीषण् गया।

लक्ष्मण् सेवक छन् सदा हजुरमा राम् राज्य गर्दा भया।।372।।


आत्मारुप् सब कर्मका अधिपती निर्मल् अकर्ता पनी।

कर्ता भै कन लोकलाइ उपदेश् गन्र्या उचित् हो भनी।।

गर्ना लायक अश्वमेधहरु जो ठूला ठुला यज्ञ हुन्।

ती सब् यज्ञ पनी गर्या प्रभुजिले बाँकी रहन्थ्यो कउन्।।373।।


राजा राम् भइ बक्सनू जब भयो प्राणी प्रजा खुस् भया।

जो पर्थ्या अघि ताप् अनेक् तरहका ती सब् प्रजाका गया।।

गर्दैनन् विधवा विलाप् मुलुकमा लाग्दैन रोग् व्याध् पनी।

सब् डाकू दबिया परेन कहिं ताप् यो चिज् हरायो भनी।।374।।


बूढो बाँचि मरेन बालक कहीं यस्तो मुलुक्मा भयो।

छोरो झैं गरि पालि बक्सनु हुँदा सब् ताप् प्रजाको गयो।।

गर्छन् राघवको भजन् जनहरू बर्षन्छ मेघ् कालमा।

वर्णाश्रम् सब धर्म छन् दिन बित्या सब्का सुखै चालमा।।375।।


अयुत वर्ष त राज् प्रभुको भयो।

सकल ताप् दुनियाँहरुको गयो।।

शिवजिले यति पार्वति थ्यैं कह्या।

सकल पाप् छुटि जान्छ सुनी रह्या।।376।।


श्रीरामका यति कथा कन जो कहन्छन्।

सब् थोकले ति परिपूर्ण भई रहन्छन्।।

धन् पुत्र राज्यहरु कम्ति हुँदैन केही।

पाप् हर्नलाइ पनि मुख्य छ धर्म येही।।377।।


जन्मन्छन् तर मर्दछन् पनि सबै जस्का त छोराहरू।

तेस्ता स्त्रीहरुले भने यति सुन्या बाँच्छन् पछीका अरू।।

वन्ध्या स्त्री पनि पाउँछे सुत असल् गर्छन् कृपा राम् धनी।

आधिव्याधि अनेक दुःख भय ताप् पर्दैन कैल्हे पनी।।378।।


श्रीरामको यति कथा जतिले त सुन्छन्।

सब् देवता ति सँग खुप् सित खूसि हुन्छन्।

जो विघ्न हुन् ति पनि नष्ट भयेर जान्छन्।

सम्पूर्ण जन् पनि तिनै कन आइ मान्छन्।।379।।


आधिव्याध् दुख छुट्तछन् अरु उपर् धन् धान्य सन्तान् पनी।

बढ्छन् इष्ट कुटुम्ब मित्रहरुका मान्न्या ति हुन्छन् भनी।।

यस्ताको त बखान् कहाँ तक गरौं यो मन् प्रभूमा धरी।

गर्छन् रामभजन् त मुक्ति पनि भै जान्छन् ति संसार् तरी।।380।।


शम्भूले सब वेदमन्थन गर्या श्रीरामका नाम् सरी।

अर्को तत्त्व मिलेन केहि र लिया साह्रै पियारो गरी।।

सोही तत्त्व त पार्वती कन दिया अध्यात्म रुप्ले गरी।

जस्ले प्रेम् गरि सुन्छ यो सहज त्यो उत्रन्छ संसार् तरी।।381।।