Basai


हरिरामको के भने, भैंसीको दाम छबीस रुपियाँ भो, ब्याज महिना मर्नेबित्तिकै हरिरामको घरैमा
पुर्याइदिनुपर्छ। अँ ৷৷. फेरि सुन्, हरिरामको छ महिनाको एक दिन पनि नाघेछ भने, के भने तेरा गोठका
गोरुभैँसी फुकाउने छु नि। ला, के भने तमसुकमा बूढी औंलाका छाप लाइदे। सेतो चन्दन लाएको निधार
सुर्काउँदै बैदारले भने।
बैदार बूढा थिए, कट्टर सनातनी, छूतछातको खूबै ख्याल राख्तथे। आफ्नो भान्छेबाहुनदेखि बाहेक कसैले
पकाएको नखाने। सधैं मुखमा रामको नाम रहोस् भन्ने उद्देश्यले उनको आफ्नो थेगो हरिरामको राखेका
थिए। बिहानको समय पूजापाठमै बित्थ्यो, ब्राह्मणहरूलाई बेलाबेलामा दक्षिणा दिन र भोजन गराउन उनी परम
धर्म सम्झन्थे। तर छिमेकमा गरिबदुःखीहरूले मानामुठी पैंचो लगेको उठाउनमा हमेसा सतर्क रहन्थे।
ठेक्कामा परेर कसैले 12 रुपियाँ ऋण लिएको ब्याज कस्न उनी बिर्सिंदैनथे। आसामीसित अति चर्को ब्याज
लिनु उसको मिहिनेतको कमाइ हुन्थ्यो।
धने बैदारलाई राम्ररी चिन्दथ्यो। उनीसित लिनुदिनु गर्नु आफैंले आफ्नो घर सल्काउनुजत्तिकै हो
भन्ने जान्दाजान्दै पनि धनेले चुप लागी कागजमा छाप लाइदियो। गाईबस्तु फुकाउने बेला भएको थियो।
खेतालाहरू घुम, डोको लिई मेलातिर झर्न लागेका थिए। धने सानो पाडीलाई घिसार्दै घरको आँगनमा आइपुग्यो।
पछिपछि वाइँ गर्दै भैंसी आयो। मैनाले हत्तपत्त परालको मुठा ल्याई आँगनको एक छेउमा छरिदिई।
भैंसी मन लाईनलाई पराल खान थाल्यो।