Basai


धनेले भैंसीबाट चारैतिर लाभ देखेको थियो। सोचेथ्यो, एकदुई वर्षपछि नै उसको कुदिन अन्त हुनेछ औ
सुदिनको उदय। तर मनले ताकेझैं नै कार्य व्यवहारमा पनि बन्दै गए विश्वमा कसैले भाग्यलाई दोष दिने
थिएन। धनेले भैंसी लिएको पुगनपुग दुई साताजति भएको थियो। एक दिन बिहान दुधेरो र त्यसको छेउमा अलिकति
नौनी टाँसेर धने भैंसी दुहुन निस्केथ्यो। पाडी छोड्न भनेर जाँदा त पाडी लम्पसार परेर खुट्टा
फटफटाइरहेको। बेलुकी सर्सराउँदो बाँधेको पाडीको यो दशा देखेर धनेको होस ठेगानामा रहेन। ऊ मैनालाई खबर
दिएर ठूला घरका काहिंला धामीलाई डाक्न भनी उकालो लाग्यो। एकछिनपछि धामी आएर थालमा धेरैबेर अक्षता
खेलाउनको पश्चात् भन्यो, वनकाले भेट्टाएजस्तो छ, अलि घरका देउतालाई पनि धूपधुवाँर गर्नू। म ऐले
झारझुर गरिदिन्छु।
गाउँघरमा दियो बाल्ने समय भर्खर भएको थियो। गोठालाहरू गाईबस्तुहरूलाई घाँस हाल्न, सोतर बिछ्याउनमा
व्यस्त थिए। पर खोल्सातिर झ्याउँकीरीहरू सहरका सङ्गीतज्ञहरूले तानपुराको झङ्कारमा राग अलापेझैं आफ्नो
वाद्यले त्यहाँको वातावरण नै गुञ्जायमान पारिरहेका थिए। तल तेलु मगरको कुकुर एक स्वरमा भुकिरहेको
थियो। धने टिलपिल आँखा लिएर पाडीको छेवैमा उभिएको थियो। पाडीले धनेतिर आँखा पल्टाउँदै हृदय भेदन
गर्ने अत्यन्त कष्टप्रद स्वरले एकपल्ट चीत्कार गर्यो, मानौं आफ्नो मूक बालभाषाद्वारा आफ्नो जीवनको
आखिरी घडी उसलाई सूचित गर्न चाहन्थ्यो। धनेका आँखा आँसुले टालिए। दौराको फेरले पुछ्तै पाडीछेवैमा
बसेर भन्यो, जाऊ आमा, सुखसित जाऊ। तिम्रो आत्माले परत्रमा सुख पाओस्। पाडीले

आज्ञा मानेझैं गरी एकलप्ट जोरले खुट्टा फट्कार्यो औ दम तोड्यो। दुहुने बेलामा भैंसी सिङ,
खुट्टा चलाउने गर्थ्यो। धनेलाई दुहुन निकै गाह्रो पर्थ्यो। झन् हलसारो भएपछि त चारै खुट्टा चलाएर
बुरुक्क उफ्री धनेलाई नजिक पर्न दिन छाड्यो। धनेले हातै लाउन नसक्ने भयो।
फागुनकै दिन थियो। खेतबारीमा केही थिएन, बाँझै थियो। कसैकसैले भर्खर पहिलो बाँझो जोत्न थालेका थिए।
धनेले भैंसी आफ्नै बारीमा छाडिदिएको थियो। मध्याह्न भएको थियो।
धने खोल्माको खुला टाँडमाथि परालमा पल्टेर घाम तापिरहेको थियो, लेउते दमाईं उताबाट राँक्किएर आयो।
लेउते निकै धनी थियो। गाउँभरिको लुगा सिएको बाली उठाउँथ्यो, आफ्नै पनि खेतबारी यथेष्ट थियो। त्यसैले
कसैलाई टेर्दैनथ्यो। धने टाँडबाट तल ओर्ल्यो। जदउ साब लेउतेले हात निधारमा पुर्याएर भन्यो,
हैन, भैंसी त्यसरी मनपरी छोड्दिन किन्या हो कि, बारीको फापर स्वात्तै केही राखेको छैन।
विष्टहरूले त्यसरी साँढे छोडेझैं बस्तु छाडा छाडेर यो दमाईँको के रहला? लौ हिंड्नोस् हेर्न,
कर्त्रो विनाश पार्यो तपाईँको भैंसीले।
कति बेला अन्भरिएछ साँढे, अहिले आफ्नै बारीमा थियो धनेले भन्यो।
अरू कुरा म जान्दिनँ, मुखियालाई ल्याएर अरमल गर्न लाउँछु। तोकेको भर्न पर्छ।
हैन किन चट्किन्छस् तँ दमाईं। खाएछ भने भरौंला।
तिम्रो भैंसीले मेरो विनाश गर्छ, अझ मसित ध्वाँसो देखाउँछौ, म हिंडें मुखियाकाँ। लेउते सरासर
हिंड्यो। एकछिनपछि मुखिया र दुईचार जना मानिस लेउतेसितै आएर धनेलाई पनि लिएर लेउतेको फापरबारीतिर
लागे। धने र लेउतेको बारीको माझमा एउटा सानो खोल्सो थियो। खोल्सोको पल्लो छेउ लेउतेको बारी भएतिर
निकै अग्लो भित्तो हुनाले सितिमिति गाईभैंसी लेउतेको बारीमा उक्लन नसक्ने थियो। धनेको भैंसी
खोल्सैखोल्सा तल मूलबाटोमा झरेछ र मूलबाटोबाट घुमेर लेउतेको बारीमा पसेछ। ठूला गराको आधाजस्तो

फापर धनेको भैंसीले विनाश पारेछ। अर्मल गरी धनेलाई 3 मोहर जरिवाना तोकियो। दस दिनको भाका गरी
कागजपत्र गरेर धनेको सही लिनको पश्चात् मुखिया र अरू मानिसहरू आफ्नोआफ्नो घरतिर लागे।
हाय विधिको विधान नै विचित्रको छ। चैतको टन्टलापुर घाममा एक दिन भैंसी रन्थनिएर दिउँसै कटेरामा
आयो। धने आँगनबाट कटेरामा झर्यो र भैंसीलाई सुमसुम्याउन थाल्यो। नीलानीला लौराका डाम भैंसीका आँगनमा
देखेर ऊ अवाक् भयो। तर गरिब धने के गर्न सक्तछ र? ऊ बिस्तारै बरबरायो, कस्ले यसरी पिट्यो
तँलाई, अर्काको बालीमा पसिस् होला, त्यस्तै हुन्छ। भैंसीको गर्भस्थलमा चोट परेछ। त्यसका चौथो
दिनमा भैंसी तुह्यो।