Basai


सूर्यको पहेंलो किरण पारि पहाडका टाकुराहरूमा परेकाले ती टाकुरा कुनै चित्रकारले बेसारे रङ्गमा
रङ्गाएझैं देखिन्थे। बेलुकाको चिसो वायु बग्न थालेको थियो। पर गल्लीमा गाईबस्तु लिई आउने गोठालाहरूको
ठमठम को आवाज सुनिन थालेको थियो। धूपसल्लाको रूखमा चराहरूले कोलाहल मच्चाइरहेका थिए, मानौं सबै
जना भेला भएको खुसीमा उच्च स्वरले गाइरहेका छन्। भदौको दिन, चारैतिर मकैको बोट मात्र देखिन्छ। गाउँका
ती पातला घरहरू मकैबोटमै छिपेका थिए। मूलबाटाको दुवैतिर मकैबोट हुनाले आउनेजाने मानिसहरू नजिकबाट
मात्र देखिन्थे।
माथि डाँडाबाट एउटा व्यक्ति तलतिर झर्दैछ। त्यस गाउँमा त्यो व्यक्तिको पैरन पनि गजबको देखिन्छ।
मिल्टरी खाकी पेन्टमाथि एउटा बेल्ट बाँधेको छ जसमा खुकुरी एकापट्टि लट्काएको छ। सेतो कमिजको कलर
कालो कोटको बाहिर निकालेको छ। खुट्टामा एक जोर राता जुत्ता छन्। टाउकोमा कालो चुच्चे टोपी लाएको छ,
हातमा एउटा छडी र काँधमा एउटा झोला भिरेको छ, जसमाथि गोडादुएक रगहरू बाहिरबाट एउटा पेटीले बाँधेको छ।
गोरो वर्णको तरुण चेहरामाथि पल्टनियाँ रबाफ स्पष्ट झल्कन्छ।
धनेको घरमाथि मूलबाटाकै छेउमा एउटा धारो थियो। पहिले त्यहाँ पानी थिएन। तर हठात् एक वर्ष
वर्षाकालमा त्यहाँ मूल फुटेर पानी बग्न थाल्यो। त्यो मूल हिउँद लागेर पनि सुकेन र त्यहाँका गाउँलेहरू
मिली मूल फुटेको त्यस ठाउँमा एउटा चुच्चो परेको ढुङ्गा तेर्स्याइदिए जसमाथिबाट पानी छरर ৷৷. र
शब्द गर्दै बग्न थाल्यो। त्यसैले गाउँलेहरू त्यसलाई छहरे धारो भन्दथे। त्यहाँवरिपरिकाहरू त्यही
पानी व्यवहार गर्थे।
युवक व्यक्ति त्यही धाराको छेउ आएर टक्क उभियो। त्यसका आँखा कुनै एउटा चीजको गौर गर्नमा व्यस्त
थिए। कोपिला त्यस युवकले सहरमा अत्तर र पाउडरमा रङमङिएका धेरै कोपिलाहरू देखेको थियो। रेसमी
ब्लाउज र नीलो सारीमा बेरिएका धेरै कामिनीहरूको दर्शन गरेको थियो। तिनलाई ऊ साँच्चै अप्सराको रूप पनि
मान्थ्यो। तर साधारण पहाडी गाउँमा साधारण छिटको गून्यू र नैनकिलाँटको मैलो पटुका औ तीन ठाउँ फाटेको
चोलोमा पनि कुनै फूलको कल्पना हुन सक्छ? त्यो आज प्रत्यक्ष नदेखेसम्म उसलाई थाहा थिएन। खालि फरक
यति मात्र थियो, ती सहरका कलीहरू आफ्ना बोटका जरामा आफैं पानीको फोहोरा छुटाउँथे, औ यी प्रकृतिमा
हुर्केका कलीमाथि प्रकृति स्वयं जल सिँच्तथिन्। उहाँ बनावटी गुलाफ र लाली जडेका हुन्थे, यहाँ
सोह्रश्रृङ्गार प्रकृतिदेवीले नै भरिदिएकी थिइन्। उहाँ सबै वातावरण बनावटी हुन्थे, यहाँ विधिको विधान
नै सबै वातावरण थिए।
युवक एकटक लाएर हेरिरहेकै थियो। सुडौल नाकमा सानो फुली र बुलाकी, कानमा मुन्द्री, गलामा छातीसम्म
झुन्डिएको प्वाँलोको मिलेको माला, छिनेको कम्मरमाथि सारीको गुल्थो उठाएर बाँधेको पटुका, कपाल ढाकेर
पछिल्तिर बेरेको मजेत्रो, गोरो वर्णको चेहरा, यौवन फक्रेको त्यो सारा शरीर औ त्यसमा रहेका प्रत्येक
वस्तुले युवकको हृदय आकर्षित गरिरहेको थियो।
त्यो ग्रामीण अबलाको हातगोडा धुने काम समाप्त भइसकेको थियो। ऊ सीधा भएर उभिँदा उसका आँखा अरू कुनै
जोर आँखासित मिल्न पुगे। युवकले आँखा झिमिक्कसम्म पारेको थिएन। दुवैका आँखाले एकअर्कालाई निशाना
साधिरहेका थिए। तर कस्तो विचित्र। तिनमा भावेको समावेश थिएन। युवकको आँखामा तृष्णा र रोमाञ्च थियो,
जहाँ बालिकाका आँखामा सरलता र हृदयदेखि नै निस्कने एक प्रकारको आकर्षण मात्र झल्कन्थ्यो। केहीबेरपछि
बालिकाका गालामा स्वाभाविक स्त्रीसुलभ लाजका रेखा दौडन थाले। निधारमा चिटचिट पसिना आयो। उसका आँखा नत
भए। ऊ धाराको एक छेउमा बसी बेला, पञ्चपात्रो आदि चोखो बत्ती गर्ने सर्दामहरू माझ्न थाली। त्यहीं
उभिएको रिकुटे बोल्न खोजिरहेको थियो, के साइनोले

बोलाउनु? उमेर पुगेकी जवान केटीलाई नानी भन्न पनि नसुहाउने। के बहिनी भनौं त? भो बिसाइनो नै
बोलाउँछु।
खै, पानी खान पाइन्छ कि?
पाइन्छ, पानीको के खाँचो छ र, यत्रो धारा छ।
बालिका बेला माझ्न व्यस्त थी। युवकले मुख कुल्ला गरी पानी पियो। डिलमाथि धाराकै छेउमा टुक्रुक्क
बसी ऊ केही सुस्ताउन थाल्यो।
पासिङ्ग शो को पाकेटबाट एउटा सिगरेट झिकी उसले सल्काएर तानेको धूवाँ बालिकाको टाउकोमाथिबाट
उडेर बेपत्ता भयो। यो बाटो कहाँसम्म जान्छ? युवकको प्रश्न थियो।
म लिम्बूगाउँउसो गएकी छैनँ, कोनि बाटो त कहाँ पुग्छ?
लिम्बूगाउँ अब कति टाढा होला?
छ, अझै दुई कोसजति।
ए निकै पो र छ, थकाइ चौपट्टै लागेको छ, आज दुई कोस बाटो हिँड्न सक्ितनँ होला, खै।
युवतीको मनमा जिज्ञासा पैदा भयो। त्यसले एकपल्ट नजर उठाएर युवकलाई हेरी, फेरि झट्टै नै त्यसको
आँखा झुके।
तपाईं उहीं जाने? त्यसले सोधी।
अँ, घर त्यहीं हो, धेरै वर्ष भो नआको। बाटो पनि बिर्सिसकेछु। एकछिनपछि युवकले फेरि भन्यो,
तपाईँको घर त यै गाउँमा होला?
आफूलाई त्यस युवकले तपाईँ को पद दिएकोले बालिका लाजले राती भई। केही अकमकाउँदै मधुरो स्वरले
भनी, अँ ৷৷. त्यै तलको त हो नि।
युवकले हठात् भन्यो, तपाईँलाई बोलाउनुपरे मैले के भनी बोलाउनु? बालिकाले केही आश्चर्य मानी।
कुरा त्यति पर पुर्याएको देखी युवकको उत्ताउलोपनामाथि उसलाई हल्का रिस पनि उठ्यो, र एकछिनमै ठन्डा
भयो। उसले केही गम्भीर शब्दमा भनी, कोनि के भन्नुहुन्छ, अरूले झुमा भन्छन्।
रिकुटेले झुमाको भाव बुझ्यो। उसलाई अरू केही सोध्ने साहस भएन। झुमा माझ्ने काम सकी धारामा खकाल्न
लागेकी थिई। युवक केही नभनी उठेर बिस्तारै बाटो लाग्यो, झुमाले एकपल्ट पछिल्तिर फर्केर हेरी। किन
किन, उसलाई युवकसितै आफ्नो मुटु हिँडेको अनुभव भइरहेको थियो।