त्यस दिन बिहानै उठेर लंगड़ा घस्रँदै गड्डीखानको गल्ली उकालो गईरहेथ्यो। कुकुर पनि उसको पछि सुस्तसुस्त हिंड़िरहेथ्यो। चौकको मैदानमा आइपुगेपछि लंगड़ाले लामो निःश्वास लियो र फेरि उकालै हिंड्न थाल्यो। चौरस्ता आएपछि उसले त्यहाँ केही बेरसम्म बसेर थकाई मार्यो। उसको शरीर पसिनाले भिजेको थियो। त्यसपछि फेरि उ महाकाल बाबाको थानतिर बिस्तार बिस्तार घस्रँदै उकालो जान लाग्यो। महाकालको थानतिर जाने सड़कमा धेरै माग्नेहरू पहिले नै आएर सड़कको छेउछेउमा जाड़ाले काम्दै बसिरहेका रहेछन्। सबै माग्नेहरूभन्दा माथि गएर लंगड़ाले सड़कको छेउमा बोरा ओछ्यायो र त्यहीं बस्यो। आफ्नो कुम्लो र लौरो पनि उसले देब्रेपट्टि राख्यो अनि अघिल्तिर उसले सानो रूमाल फिंजायो। महाकाल बाबाको दर्शन गर्न जाने मानिसहरू आइरहेका थिए। बिहानको चिसो हावा बगिरहेको थियो। रूख, पात, झार, जंगलमा तुषारो परेको थियो। किन्चिङ्गा हिमाल परिष्कार चाँदी जस्तो आज टल्किरहेको थियो। लंगड़ाको जीउको पसिना सुकेपछि उसलाई जाडो लाग्न थाल्यो। हिंड्ने मानिसहरू लंगड़ालै ओछ्याएको रूमालमा एक दुइ पैसा हालेर जान्थे। लंगड़ा केही नभनी उनीहरूका मुखमा टिठ लाग्दो आँखाले टुलुटुलु मात्र हेरिरहन्थ्यो। लंगड़ाले यसरी हेर्दा पैसा नदिई जाने मानिसहरूका मनमा पनि एक प्रकारको दया आउँथ्यो र फर्केर एक दुइ पैसा दिएर जान्थे। आधा दिनसम्म लंगड़ा यहीं बसिरह्यो। अब महाकाल बाबाको दर्शन गर्न आउने मानिसहरू पनि थोरै हुँदै गए। लंगड़ा एक दुइ सातादेखि दुइ चार पैसा गर्दै जम्मा गर्न लागेको थियो -- आज उसले रूमालको पोको झिक्यो र उ पैसा गन्न थाल्यो। आफूलाई एक पेट मोजले खाने पैसा जम्मा भएको देखेर उ खुशी भयो। त्यो पैसा उसले त्यही फाटेको रूमालमा राम्री बाँध्यो -- सन्तोषको लामो सास तान्यो र प्रसन्न चित्तले चारैतिर हेर्यो। उसको जीउमा एक प्रकारको स्फूर्ति र आनन्द सञ्चार भइरहेथ्यो। उसले आफ्नो छेउमा घाम ताप्दै सुतिरहेको कुकुरलाई लौरोले त्यसको थुतुना हल्लाएर उठायो। लंगड़ा उठेर जान तर्खर गरेको देखेर कुकुर पनि उठ्यो र अन्यमनस्क भावले हाई गर्दै लंगड़ाको अनुहारमा हेरिरह्यो। लंगड़ाको चित्त भने बड़ो प्रसन्न थियो। उसको जीउमा स्फूर्ति आइरहेको थियो। उसले मनमनै विचार गर्न थाल्यो -- आज त पुरी मिठाईको पसलमा गएर मोजले पुरी, तर्कारो खान्छु, रसगोला, पेंडा खान्छु, सन्देश, जलेबी पनि खान्छु। घिउको पुरी, मिठाई र सेल खाने कति दिनदेखि इच्छा थियो ओहो सधैं ता मिठाईको पसलमा घिउ र पुरीको गन्ध मात्र सुँघ्दै डुलिहिंड्थें आज त मनले खोजेका कुरा पेट भरी खान पाउँछु। विधातालाई सम्झेर लंगड़ाले एकचोटी पुलुक्क शून्य आकाशतिर हेर्यो। लंगड़ाले कुकुरलाई पनि सम्झ्यो। त्यस कुकुरतिर पनि फर्केर अलि दबेको स्वरमा निहुरिएर भन्यो -- हेर काले (उसले कुकुरको नाउँ काले राखेको थियो) तँ पनि सँधै त गल्लीको नालीतिर गएर जुठो कुराहरू खाई हिंड्थिस्। हेर, आज म पनि पेट भरी खानेछु -- तँलाई पनि मनग्गे खुवाउने छु। तँलाई पुरी मिठाई
मन पर्दैन भने दही, मासु र भातै किनेर पेट भरी दिउँला। काले कुकुरको जुनि लिए पनि तँ त बडो भाग्यमानी रहेछस् -- म जस्त लंगड़ा साथालाई पाएर एक बारको जुनिमा मोज लुटिस् लौ हिंड् काले अब ৷৷.। कुकुरले पनि लंगड़ाको भाषा बुझे जस्तो गरी उसको मुखमा हेर्दै पुच्छर हल्लायो लंगड़ाले त्यसलाई एकछिन सुम्युम्यायो र हाँस्तैहाँस्तै आफ्नो कुम्लो पिठ्यूँमा बाँधेर ओह्रालो घस्रँदै हिंड्यो। बजारमा आइपुगेपछि एउटा होटेलको अघि गयो र मासुभात किनेर टपरीमा पोको पारी रूमालमा बाँध्यो। त्यसपछि लंगड़ा पुरी मिठाईको पसलतिर लाग्यो। मिठाईको पसल अघिल्तिर पुगेर लंगड़ाले आफ्नो कुम्लो राख्यो र भूइँमा कुकुरलाई एक टपरी मासुभात खान दियो। आफूले चाहीं पुरी, तरकारी, जलेबी, निम्की, पेंडा, सन्देश आफूलाई जेजे खान मन लागेको थियो किनेर खान थाल्यो। कहिले हलुवा मागेर खान्थ्यो, कहिले बुनिया। कहिले पुरी मागेर खान्थ्यो, कहिले सन्देश। खान मन लागेका सबै थोक आज लंगड़ाले किनीकिनी खान थाल्यो। आज जीवनमा उसले पहिलो पटक यसरी उपभोग गरिरहेथ्यो -- जीवनमा आजै आफूलै पैसा दिएर बड़ो गर्वका साथ खाइरहेथ्यो। सँधै ता निन्याउरो अनुहार लाएर घण्टौं कुरिरहँदा पनि कसैले उसलाई एउटा रोटीको टुक्रासम्म दिंदैनथ्यो। सँधै पसलको अघिल्तिर बसेर घण्टौं मागिरहँदा एउटा पुरीसम्म उ पाउँदैनथ्यो तर आज लंगड़ाले कससित भिक्षाको निम्ति मुख बाएन -- कसैलाई हात पसारेर, सलाम गरेर -- मालिक, प्रभु, हजुर भनेर दाँत ङिच्याउनु परेन। आज स्वतन्त्र भएर उ आनन्दले खाइरहेथ्यो। उसका आँखामा आज असीम आनन्दका रेखाहरू झल्किरहेका थिए। प्रसन्नताले उसको अनुहार आज धपक्क बलिरहेको थियो। पसलमा आउने जाने धेरै मानिस थिए। आज लंगड़ाले यसरी आफ्नै पैसा निकालेर खाइरहेको देखेर धेरै मानिसले कौतुकका दृष्टिले पनि लंगड़ातिर हेर्दथे। यो बुझेर लंगड़ाले अझ बाहिरबाट सबै मानिसले सुन्ने गरी दुइचारवटा रसगोला र पन्तुवा माग्थ्यो र आफ्नो रूमालबाट पैसा झिकेर फ्याँकिदिन्थ्यो। आफूले किनेर स्वतन्त्रतापूर्वक खानमा कति आनन्द रहेछ आजै जीवनमा प्रथमोप्रथम लंगड़ाले अनुभव गर्यो कुकुर टपरीको मासु र भात खाइसकेपछि मुख चाट्दै लंगड़ाको अनुहारमा हेर्न थाल्यो। लंगड़ाले एउटा सेल टिपेर कुकुरको अघिल्तिर फालिदिएर भर्यो, खा अरू के खान्छ्स काले? ৷৷. मेरो जीउ छउन्जेल मोज गर ৷৷. सँधै घण्टौं पसलको अघिल्तिर सलाम गर्दे मागी मागी खाने लंगड़ाको आज यस्तो रवाफ र पूर्ति देखेर मानिसहरूको मनमा आश्चर्य लागिरहेथ्यो। आज लंगड़ालाई आफ्ना बिग्रेका अंगहरूको वास्ता छैन मानिसहरूले आफ्नो अवस्थामाथि उपहास गर्लान् भन्ने उसलाई सम्झना पनि छैन किनभने कसैको अगाडि आज लङ्गड़ाले हजुर, एक पैसा भनेर टीठ लाग्दो आँखाले हर्दै दाताको अघि हात पसारेको थिएन। आफ्नै संसारमा लङ्गड़ा स्वतन्त्र थियो। लंगड़ाले यसरी पेटभरि खाइसकेपछि मुख पुछ्दै आफ्नो पोको काँधमा भिर्यो। उसित अझ एकदुइ रुपियाँ जति उब्रेको थियो त्यसलाई चाहीं रूमालमा बाँधी पोल्टाभित्र घुसार्यो। यति गरेपछि उ दुवै काठको भरमा बडो फूर्तिसाथ घस्रँदै त्यहाँबाट हिंड्यो। लंगड़ा खुशीले घस्रँदै चोकको फाँटमा यता र उता डुलि हिड्यो। आज उ कतै माग्न गएन। आज उसको मन बडो हलुंगो थियो। आज उसको चित्ताकाशमा कुनै प्रकारको चिन्ता, भय, शंका वा निराशा थिएन। आज असल अंग हुने संसारका अरू सर्वसाधारण मानिस जस्तै आफूलाई पनि उ ठानिरहेको थियो। दिनभरि रमाइलो घाम लागिरह्यो लङ्गड़ा बेलुकी जितेन झोड़ामाथि बस्ने हावा घरनिर वसिरह्यो। त्यहाँ सिमेन्टका खाँबाहरू थिए, त्यहाँ खयर र पानको चुना पुछेको दाग, पान खाएर थुकेको दाग, कोइलाले यत्रतत्र कोरिराखेका अश्लील चित्रहरूका रेखाङ्कन पनि थिएs: त्यहीं अढेस लागेर टाढातिर उ हेर्नलागेको थियो। कुकुर पनि उसैको छेउमा गुँड्डलिएर निर्विघ्न सुतिरह्यो। दिन ढल्किसकेको थियो। बिहानको रमाइलो सूर्य्यका किरण अहिले फेरि अस्त हुन लागेको हिमालका टाकुराहरूमा देखिए। ती सुनौला किरणले हिमालका दुष्पाहरू स्पर्श गर्दा त्यहाँ साह्रै राम्रो चित्रमय दृश्य देखिन्थ्यो। चारैतिर अन्धकार छाएर आइसकेको थियो -- बेलुकीको हावा बग्न लागेको थियो। चाँदमारीका घरहरू अस्पष्ट देखिन लागे। आज प्रकृतिको सुन्दर तर उदासमय दृश्य हेर्दै लंगड़ा भावुक भएर साँझसम्म त्यहीं बसिरह्यो। आज उसको मनमा अतीतका धेरै घटनाहरू स्मरण भए। आज आफ्नो बाल्यकालको सुमधुर स्मृतिले उसलाई बड़ो उदास र भावुक बनायो। उसलाई आफ्नो बाल्यकालको जीवन झल्यास्स स्मरण भयो। त्यो बेलाको जीवन सम्झँदा र अहिलेको जीवन सम्झँदा उसलाई सपना जस्तै लाग्यो। उसले सुन्दर ठानेको संसारमा रहेर पनि आज उ समाजदेखि धेरै पर माग्ने भिखारीको एकान्त संसारमा आफूलाई एकलै बसिरहेको पायो। रात परेपछि लंगड़ा त्यहाँबाट उठ्यो। माथि चोकमा आइपुग्दा चारैतिर बिजुली बलिसकेको थियो। लंगड़ा निकै बेरसम्म एउटा बिजुली बत्तिको छायामनि बसिरह्यो। आज उसलाई आफ्नो झुप्रोमा जाने इच्छा पनि भएन। रात निकै बित्न लागेपछि म्युनिसिपल बिल्डिङ्गको सिंढी उकालो घस्रँदै चढ्न लाग्यो। माथि आएर एउटा कुनामा बोरा ओछ्यायो। कुम्लो सिर्हानी बनायो। फेरि डल्लो परेर त्यहीं सुत्यो। फाटिसकेको मैला पाखी थियो त्यसैले मुख पनि ढाक्यो। उसैको गोडानेर कुकुर पनि गुँडिलिएर सुत्यो। लंगड़ा चाँड़ै निदायो। उसले सपनामा आफ्नो कुकुरलाई देख्योकुकुर त एउटा मैला ढ्वाङ्गनिर सुतिरहेको रहेछ। लंगड़ा चाहीं वर सड़कको एक कुनामा मन्दिरको भित्तापट्टि सियाँलमा बसिरहेको थियो। देख्ता देख्तै एउटा गिद्ध आकाशबाट ओर्लेर आयो र गिद्धले कुकुरको मासु लुछ्न लाग्यो, कुकुर करायो। गिद्ध उडेर गयो। कुकुर मरेनबाँच्यो। फेरि अर्को गिद्ध झम्टेर आई लंगड़ाको जीउमा बस्यो र उसको निधारमा ठुंग्न लाग्यो। लंगड़ा करायो। अरू धेरै गिद्धहरू पनि आए अनि लंगड़ाको मासु लुछालुछ गर्न लागे। लंगड़ाले हेर्दा हेर्दै उसको जीउको मासु गिद्धले खाइसकेको देख्यो -- तैपनि लंगड़ा उठ्ने कोशिश गरिरहेथ्यो। एक छिनमा कुकुर आयो। गिद्धहरू भागे। गिद्धले लुछिसकेको आफ्नो हाड़ मात्र भएको शरीरलाई मन्दिरको नालीमा लडिरहेको लंगड़ाले देख्योकुकुरचाहीं त्यसैको छेउमा अझ बसिरहेको थियो लंगड़ा सपनाबाट झस्केर ब्यूँझ्यो। उसले कस्तो सपना देख्यो उसलाई आश्चर्य लाग्यो -- उसले विचार गर्यो। तन्द्राबाट बिस्तारै उठेर उ टुकरूक्क बस्यो। आफ्नो जीउ छाम्यो। कुकुरलाई पनि उसले छाम्यो। शीतले उसको जीउको लुगा भिजिसकेको रहेछ। चारैतिर शून्य थियो। टाढामा गिर्जाको घण्टाले दुई हानेको सुनियो। रातको निस्तब्ध प्रहारमा घण्टाको यो सानो ध्वनी समेत लम्मिएर कति टाढा पुग्दछ अनि सुन्नेको मनमा पनि अहिले त्यो गिर्जाको त्यो ट्वाङ्ग ৷৷. ट्वाङ्ग ৷৷. ध्वनि रातको शून्य वातावरणमा झन् झन् स्पष्ट भएर बजिरहेको सुनिन्छ तर छिट्टै रातको पातलो हावामा मिसिएर त्यो ध्वनि लहरिंदै उतै फेरि गए जस्तो पनि लाग्दछ ৷৷. । लङ्गड़ालाई पनि अहिले त्यस्तै लाग्यो।