Langda Ko Sathi



भोलिपल्ट बिहान लङ्गड़ाको निद्रा ढिलो टुट्यो। उसले आँखा उघार्दा दिन चढिसकेको रहेछ। रेलिंगको छाया सरेर पर पुगिसकेको रहेछ। उसले शून्य भावले यता र उता हेर्यो। उसका लुगाहरू छरिएका रहेछन्। केही बेरसम्म लंगड़ा तन्द्रा अवस्थामा त्यतिकै बसिरह्यो। पाकेटबाट बिंडी झिकेर अन्यमनस्क भावले सल्कायो र झोक्रिरह्यो। तर कुकुरलाई नदेख्ता उ एक्कासी झसंग भयो। उसले यता र उता आँखा घुमाएर हेर्यो। अब त्यहाँ धेरै मानिसहरू हिंड्नलागेका रहेछन्। उसले त्यहाँबाट उठेर कतै जाने विचार गर्यो तर आफ्नो पोल्टाका लुगाहरू छरिएर यता र उता भएको देख्ता उ जिल्ल पर्यो। उसलाई अब राम्रै होश आयो। हिजो आफूले बाँधेर राखेको पैसाको उसलाई सम्झना भयो। उसले हत्तपत्त पोल्टो छाम्यो। तर पोल्टाको लुगा र रूमाल पनि हराएछतु। राती सुत्ने बेलामा त्यो रूमाल पोल्टामा घुसारेर राखेको उसलाई राम्ररी सम्झना छँदै थियो ৷৷. ।
उसले यत्र तत्र छरिएका लुगा बटुलेर, आफ्नो सबै जीउ छामेर राम्ररी हेर्यो, खोज्यो, बोरा टक्टकायो तर पैसा बाँधेको रूमाल भने राम्रै हराएछ
लङ्गड़ा छक्क परेर त्यहाँ बसिरह्यो। दुष्स्वप्नबाट एक्कासी ब्यूँझेको जस्तै उसको अनुहारको भाव शून्य तर विकृत थियो। कुकुरलाई पनि नदेख्ता तथा आफ्नो पैसा समेत नपाउँदा उसको हृदय आश्चर्य, दुःख र क्षोभले परिपूर्ण भएको थियो। बाटा हिंड्ने मानिसका अनुहारमा जिज्ञासाको दृष्टिले उ पुलुक्क पुलुक्क हेर्दथ्यो तर आफ्नो कुकुर र पैसाको विषयमा उसलाई सोध्ने न साहस हुन्थ्यो न सोध्ने उसको अधिकार नै थियो। आफ्नो आश्चर्य, दुःख र ग्लानि आफूसितै दबाएर राख्न पर्दा लङ्गड़ालाई अझ असह्य भइरहेथ्यो। शहरका दुष्ट लड़काहरू लंगड़ाको शत्रु थिए -- उनीहरूकै काम होला भन्ने उसलाई शङ्का भयो। संसारले आफूमाथि यस्तो अत्याचार गरेको सम्झँदा, संसारले आफूमाथि यस्तो दुर्व्यवहार गरेको देख्ता तथा आफूलाई उपहासको पात्र बनाएर कुव्यवहार गरेको बुझ्दा मानिसप्रति उसको हृदयमा एउटा तीब्र घृणा उत्पन्न भयो। एउटा भयानक हिंसाको तथा प्रतिशोधको लप्का उसको अन्तरदेखि निस्केर स्वर्गसम्म पुग्यो। तर के लाग्थ्यो र -- उ बपुरा निःसहाय थियो। उ अंगहीन थियो, एउटा निर्बल मानव थियो। उसको अन्तरमा जत्तिकै प्रतिशोधको ज्वाला दन्किरहे पनि, उसको व्यथित आत्मामा जतिकै प्रतिहिंसाको हुरी आए पनि त्यो निःसहाय लंगड़ाले आज मनुष्य समाजको त्यो अवहेलना, त्यो अत्याचार र त्यो अमानुषिकता मूक भएर सहन गर्नुपर्दथ्यो।
उसले दुःखको निस्वास लिएर आफ्नो चारैतिर हेर्यो। माथिको अग्लो टाउनहालको घडीमा उसको आँखा पुग्यो -- नौ बजिसकेको रहेछ। उसले हत्तपत्त लुगाहरू पोको पारेर बाँध्यो र आफ्नो लौरो काखीमा च्यापी सिंढी ओह्रालो झर्न थाल्यो।
त्यसै बखत स्कूल जान लागेका ठिटाहरूको एउटा दल मोडमा आइपुगेको थियो। लंगड़ालाई देख्नासाथ उनीहरू एक स्वरले भूईँ भालु भनेर कराए। लंगड़ा नसुन्यै जस्तो गरेर हतार हतार सिमेन्टको सिंढीबाट ओर्ली देब्रे गल्लीमा चाँड चाँड़ै हात खुट्टाले घस्रँदै भाग्न थाल्यो। निकै पर पुगेपछि उसले फर्केर हेर्यो -- ती शत्रुहरू उसका दृष्टिबाट ओझेल भइसकेका रहेछन्। लंगड़ाले लामो निस्कृतिको निस्वास लियो। वहाँपछि लंगड़ालाई एक छिनसम्म कता जाउँ, के गरूँ भन्ने विचार भयो। उसलाई आफ्नो कुकुरको सम्झना भयो। उसलाई साह्रै शून्य र एकलो लागिरह्यो। उ चारैतिर हेरेर कुकुर खोज्न हिंड्यो। यता उता कुकुरलाई उसले खोज्यो। तर कतै कुकुरलाई देखेन।
लंगड़ा गाडी हिंड्ने मूल सड़कमा पुगिसकेको थियो। पानको पसलनिरको छिंडीतिर उसले हेर्यो त्यहाँ पनि उसले आफ्नो चिर साथी कुकुरलाई देखेन। एक छिनपछि उ तल मासुको पसलनिर आयो। साग, सब्जी

बेच्ने बारिकभित्र पनि घस्रँदै पस्यो तर उसले कतै कुकुरलाई देखेन। एउटा बिजुलीको खाँबानिर उ माग्न बस्यो तर उसको मनमा भने बारम्बार कुकुरकै सम्झना आइरह्यो। उ त्यहाँबाट पनि उठेर फेरि चोकमनि गड्डीखानको गल्लीमा गयो। आफू सुत्ने झुप्रोमा पनि गएर हेर्यो -- तर कतै उसले कुकुरलाई देखेन। गल्लीमा अरू अनेक कुकुरहरूलाई उसले देख्यो -- तर त्यहाँ आफ्नो कुकुर नदेख्ता उसलाई झन् नराम्रो लाग्न थाल्यो। उसले ती कुकुरहरूलाई धेरै बेरसम्म एकटक लाएर हेरिरह्यो। तिनीहरूलाई देख्ता आफ्नो कुकुरको विषयमा सोध्ने मन भयो -- तर उसले कसरी सोध्न सक्थ्यो र? न कुकुरको भाषा उसले जानेको थियो, न त उसको भाषा नै ती मूक पशुहरू बुझ्न सक्थे
आज यसरी कुकुर हराउँदा लंगड़ालाई साह्रै नरमाइलो लागिरहेथ्यो। आफ्नो आजन्मको कुनै बन्धुलाई वा कुनै प्रेमिकालाई गुमाए जस्तो लागिरह्यो। संसारमा उसको अरू कुनै आत्मीय थिएन। कुनै बन्धुबान्धव थिएनन्। आफ्नो अन्तरमा रहेको सबै माया उसले त्यो कुकुरलाई नै दिइसकेको थियो -- आफ्नो अन्तरको एकान्त स्नेह र आत्मीयता उसले त्यही मूक पशुमाथि पोखिसकेको थियो। त्यसैले उसको एकान्त हृदयमा कुकुरको निम्ति त्यत्रो ठूलो माया थियो।
लंगड़ा दिनभरि बजारको उँधो र उँभो डुलिरह्यो। सर्ब गल्लोहरू उसले चाहार्यो -- परन्तु आफ्नो साथीलाई कहीं पनि उसले पाएन -- कहीं पनि उसले देखेन।
यसो हुँदाहुँदै सूर्य्य डुब्न लागे। पश्चिम आकाश मेघका टुक्राहरूले ढाकेको भए पनि सूर्य्यको लामालामा किरणहरू छिरेर अग्लाअग्ला पहाड़हरूतिर स्पर्श गरिरहेका थिए। हिमालको आधा छाती बादलले छोपेको भए तापनि मास्तिर सिरमा धेरै बेरसम्म सुनौलो जलप लागी नै रह्यो। त्यो जलप साँझसम्म रहेर बिस्तारबिस्तार हराउँदै गएको देखिन्थ्यो। रातले पृथ्वीलाई पनि बिस्तारबिस्तार ढाक्दै लग्यो। जति रात पर्दै गयो -- लंगड़ाको मन उति उदास र गम्भीर हुँदै गयो। चारैतिर बिजुली बले। लंगड़ा यता र उता हेरिरह्यो। कतै कालो छाया देख्यो भने पनि उसले त्यहाँ आफ्नै कुकुरको आकार जस्तो देख्दथ्यो र त्यहाँ उ घस्रँदै जान्थ्यो तर शून्य छाया मात्र देख्ता उ निराश हुन्थ्यो। लंगड़ा धेरै बेर चोकको अघिल्तिर आएर बसिरह्यो। भरे आफू हिजो राती जहाँ सुतेको थियो उहीं गएर सुत्ने विचार गर्यो। तर जाँदा जाँदै उसको मनमा अर्कै विचार आयो। उ फर्क्यो। अन्त्यमा घस्रँदैघस्रँदै गड्डीखानमनि जुन झुप्रोमा उ सुत्ने गर्थ्यो त्यहीं गएर सुत्यो।
उसलाई धेरै बेरसम्म निद्रा परेन। उसका मनमा धेरै कुराहरू खेलिरहे। बाहिर हावा चलिरहेको थियो। आज झोपडीमा एकलै सुत्दा उसलाई साह्रै शून्य लाग्यो। उसलाई यो निर्जन झोपडीको वातावरणले उच्चाट लागेर आयो। यसो हुँदाहुँदै आधा रात पनि भयो। तर लंगड़ाको आँखामा निद्रा छैन। उसले हाई गर्न खोज्यो। बिडी सल्काएर आफूलाई टोलाउन पनि खोज्यो तर टाढादेखि शून्य रातमा कुकुरहरू एकोहोरो भुकेको धीमा आवाज हावासित बगेर आउँदथ्यो -- त्यसैले उसको तन्द्रा झन् भंग हुन्थ्यो।
रात धेरै बितेपछि लंगड़ालाई एक छिन निद्रा पर्यो। सपनामा उसले देख्योआफू सुकिलो लुगा लाएर धीरधामको पूजामा जान लागेको रहेछधीरधामको फाटकनिर पुग्दा उसले देख्यो -- आफ्नो कुकुरलाई त कसैले फलामको सांगलोले एउटा बिजुलीको खाँबामा बाँधेर राखेको रहेछ। लंगड़ालाई देख्नासाथ त्यो कुकुर ज्यादै रमायो, उफ्र्यो। लंगड़ा पनि खुशी भएर मानिसको आँखा छली आफ्नो कुकुरलाई बन्धनबाट मुक्त गरायो र धीरधाम मन्दिरतिर जान लागेका मानिसको भीडबाट जोगाएर आफ्नो कुकुर साथमा लिएर उ फेरि बजारतिर आयो ৷৷. ।