MAAITGHAR


दशैं गयो। सात दिन पनि बितिसक्यो। सानीले पोइको घर फर्कने मन गरिन। आज जान्छु, भोलि जान्छु भन्दाभन्दै दिन बित्न लागे। एक दिन सासू ससुराले लिन मानिस पठाएछन्। सानीले नन्दलाई मात्रै पठाएर आफूचाहिं तिहारपछि आउँछु भनेर समाचार पठाई।
तिहारको आगमनले राजवाड़ीको चारैतिर फेरि उल्लास देखियो। डाँडाकाँढा, रूख, पात, झार, जङ्गल अनि वरिपरि धूपीका रूखरूखमा पहेंलै फुलिरहेको सयपत्री फूलमा सूर्यको किरणले पनि कोमल स्पर्श गर्यो।
तर यो पालिको तिहार अर्कै तिहार भयो।
पोहोरको साल लक्ष्मीपूजाको दिन घर सिंगारेर कताकताझिलिमिली पारेको -- बेलुका बत्ती हेर्न गएको, आज सानीको मनमा त्यही कुराको संझना भइरह्यो। अतीतको मधुर स्मृतिमा यो पालिको लक्ष्मीपूजा बित्यो। दुवैका हृदयमा बितिसकेका सुखद सपना र जीवनका ती सानासाना स्मृतिहरू उड़िरहे। पवित्र आत्मकन्दराभित्र लुकाइराखेको यो अव्यक्त स्मृति कति मधुर ৷৷.
समयको घुमिरहने परिचक्रमा परेर आज यी दुवैको जीवनधारा बेग्लाबेग्लै स्रोतमा बगिरहेछन्। सानीको आश्रयहीन जीवन आज कक्षबाट खसेको तारा जस्तै भयो। अनि नारीको एकान्त स्नेह, एकान्त आकांक्षा, एकान्त प्रेम सबै अर्थहीन भएर जीवनको धमिलो बादलभित्र जम्मै हराए। जीवनको प्रथम फूल अन्तरको देवतालाई चढ़ाई -- अनि अन्तरको देवताले त्यसको मधुरस पायो -- तर अर्को भोगको देवताले पायो केवल आभा मात्र।
संसारको देखावटी धर्म, आडम्बरी नीति अनि समाजको अर्थहीन श्रृङ्खलाले जीवनलाई कत्रो निरवछिन्न गराउँदो रहेछ। त्यसैले जीवनको छन्द भंग भयो, आशाको दियोमा तेल सुक्यो अनि आजन्म करुणा र व्यथाको चिरस्मरणीय छाप हृदयमा अङ्कित भयो। धर्मको पनि ता हद हुन्छ, समाजको श्रृङ्खलाको पनि ता सीमा हुन्छ, तर त्यो सीमा नाघेर त्यसले मानव जीवनको सुख, वैभव, र शान्ति छिन्नभिन्न पारिदियो भने, अनि जीवनको स्वतन्त्र आकाशमा विघ्न बाधा पुर्यायो भने त्यो धर्म के धर्म, नीति के नीति -- अनि समाजको श्रृङ्खला पनि के श्रृङ्खला?
देख्तादेख्तै तिहार गइहाल्यो।
यो चाड़को उल्लास मूक वेदनाले बित्यो। दुवैको अन्तर एउटै प्रश्नले, एउटै व्यथाले भरियो। अनि तिहार गएपछि एक दिन सानीलाई पोइको घर फर्कने दिन आयो। सधैं मेघाच्छन्न भइरहने आकाशमा केही दिन बादल फाट्यो, अनि केही दिन सूर्यको कोलम किरणले जीवन स्पर्श गर्यो अनि फेरि हरायो।
सानी भोलि पोइको घर फर्कनु छ भन्दा आज जस्तो भान्साकोठामा तीन जना बसेर धेरै कुरा गरिरहे। सासूको कुरा निस्क्यो -- ससुराको कुरा निस्क्यो अनि पोइको कुरा पनि निस्क्यो। अनि नन्दको कुरा, देवरको कुरा, वरपरको कुरा -- फेरि लाएको कुरा, खाएको कुरा, गरगहनाको कुरा ৷৷. ।
अबेरसम्म भान्साघरमा कुरा भइरह्यो।
हरि आफ्नै कोठामा थियो। पलङ्गमा बसेर ऊ एउटा पुस्तक पढ्ने कोशिश गरिरहेथ्यो -- तर उसको ध्यान

एकाग्र चित्तको खोरबाट निस्केर डुलिरहेथ्यो -- कहिले सानीको मुहारमा, कहिले त्यो हाँसेको सेतो दाँतमा, कहिले त्यसको केशमा, कहिले त्यसका हातमा बाईंमा, कहिले त्यसको रातो सिन्दूरको टीकामा।
सुबेदारनी एकपल्ट के लिन भनी छोराको कोठामा पसेकी थिइन् -- छोरालाई निहुरिएर नै पढ़िरहेको देखिन्। तर हरिको आँखा पुस्तकको पत्रमा थियो कि थिएन त्यो भने लक्ष्य गरिनन्। छोराको गम्भीर अनुहारको भाव देखेर मनमनै आज सुबेदारनी झस्किन्। आशंकाले अलिकति कुतकुत्यायो। सुबेदारनी त्यत्तिकै फर्किन्। हरिले आमापट्टि पनि नहेरी पुस्तक नै पढिरहने भान गर्यो।
रात धेरै बितिसक्दा पनि यी तीन जना भान्साकोठामा बसेर कुरा गरिरहेको हरिले कोठाबाट सुनिरह्यो।