Kunjani


आज कसार लडेर मर्लान् खालान् आज बिराला दन्यौरा

आज आई छुचुन्द्रा चाट्लान् दही भरी राखेका कचौरा

बल मिची गरेको बिहा आज सबै हत्याका हत्यारा

घर जाओ रोएर सबै झूटालाई गरिनन् पत्यार

उडी गइन् विरही चरी बेलफाँसी काराकी छुट्कारा

तर रुन्छिन् सानीमा सिन्धु --

सिन्धु जसलाई दिल खोली गइथिन्
कठै मेरी गयौ नि बाबा मेरी छोरी कुञ्जिनी अपारकी

प्यारी मेरी कलेजाभन्दा जुहार यौटी गयौ नि संसारकी,

कठै तिम्रो दुखेको दिल कठै तिम्रा जलका लोचन,

सम्झी सम्झी फुट्दछ छाती तिम्रो मीठो बोली र वचन

अप्सरा झैं संसारमा झरी सधैंभरि झरीकी झरी झैं,

दिलकी त छौ भोकाकी भोकै गयौ हरे न हाम्लाई सुनेझैं,

अब केले कलेजा थामूँ अब केले बुझाऊँ यो मन,

तिमी थियौ पहाडकी फूल झैं, तिम्रो थियो रङ्गीलो जीवन,

तिम्रो डाह म बुझथें कठै जलभरी लमकोसे आँखाकी।

तिमीलाई दिएनन् सुक्ख पाइनौ नि संसारमा रहन,

वनकी रानी बनाउँला भन्थें डाँफे गीत आकाशमा गएर

पीरतिको वनफूल माला लगाइदिउँला म भन्थें ल्याएर

तर हरे करमको गति, संसारको निठ्ठुर भुँवरीमा

कसले सक्यो बचाउन हरे परी जस्ती पहाडका शिखरमा,

फर्की आऊ न कुञ्जिनी छोरी तिम्लाई जल के चिसो लागेन?

फर्की आऊन कुञ्जिनी मेरी सेते फर्क्यो तिमीलाई मागेन।

तिमी आए गलामा गला छाती पोखी रोएर घनन,

कुरा यस्तो बिहाको फेरि गर्ने कल्दी थिएनौं भन न।

तर तिम्री अप्सरे छाया पृथिवीमा रोएर गयौ नि,

हामी आज टुहुरा जस्ता बत्ती निभी बसेझैं बन्यौं नि

सिन्धुलाई गलामा आई आँसुभलको घुँक्काले समायो,

ओठलाई फर्फर पारी आँखा सलसल बधाली रुलायो।
झूटा बाबु रोएर बस्थे खानपीन छाडेर पटक्क,

कलेजाकी टुक्रा झैं छोरी दैव आई चुँडेर चटक्क।

मूर्ख थिए छोरीका स्नेही बाहिरका धनलाई सुख चिन्ने,

अब बुझे बूढाले संसार कैला केश भएर सब सुन्ने।
तर गर्छन् कुञ्जिनी पारि साँझ शिखर गुलाफ बारीमा,

जहाँ कुन्दन सुनका फूल अमर भावका झिलमिल बारीमा,

नेपालकी पहाडकी रानी हिमाल दरबार उज्यालो पारेर,

दिनको एक बार स्वर्गको ढोका उघारेर उज्यालो पारेर,

तिनी आउँछिन् सपने बाटो पतिव्रता नारीका आँखामा।
कोल्पूतीरमा अझै छ रूख, हाँगा जसका फूलझुप्पे बन्दछन्,

त्यहाँ राति देखिन्छन् छाया एक जोडी सबैले भन्दछन्।

झिल्टुङ्तिर अझै यो कथा पीप्पलमनि बसेर भन्दछन्।।2।।